-लोकनारायण सुबेदी
समकालीन विश्व परिस्थितिमा माक्र्सवादको सान्दर्भिकता अत्यन्तै गम्भीर महत्वको तथा गहिरो छलफलको विषय हो। बर्तमान विश्वले धेरै ठूला चुनौतीहरूको सामना गरिरहेको छ, जस्तै आर्थिक असमानता, सामाजिक अन्याय, बाह्य हस्तक्षेप,जलवायु परिवर्तन, राजनीतिक अस्थिरता आदि । यी समस्याहरूको समाधानको लागि विभिन्न राजनीतिक विचारधाराहरू प्रस्तुत गरिएको भए पनि माक्र्सवादको सन्दर्भ अझै महत्वपूर्ण र ज्वलन्त रहेको छ ।यहाँ यसै परिप्रेक्षमा समकालीन विश्व परिस्थिति, नेपालको सन्दर्भ माक्र्सवादको सान्दर्भिकतालाई बुझ्नका लागि केही महत्त्वपूर्ण बुँदाहरू प्रस्तुत गरिएको छ ।
१. आर्थिक असमानता र पूँजीवादको चुसाहा र निर्मम दोहनको चरित्र
माक्र्सवादको मुख्य सिद्धान्त मध्ये एक हो— पूँजीवादको मानब र प्रकृति द्रोही चरित्रको आलोचना। आजको समयमा विश्वव्यापी रुपमा धनी र गरिबको बीचमा आर्थिक असमानता झन झन बढ्दै गइरहेको छ। थोरै अर्थात केही मुठ्ठीभर मानिस या व्यक्तिहरूले सम्पत्तिको ठूलो हिस्सा आफ्नो हातमा राखेका छन् भने अत्याधिक धेरै मानिसहरूले आर्थिक निरन्तर ठूलो कठिनाईको सामना गरिरहेका छन्। निरन्तर बढ्दो असमानताको यो अवस्था माक्सवादले गरेको पूँजीवादको चरित्रको शोषणकारी आलोचनालाई अझ सान्दर्भिक बनाउँछ, जहाँ उत्पादनका साधनहरूको निजी स्वामित्व र नाफाको लागि भइरहेको आर्थिक उत्पादनलाई निसन्देह दोष जान्छ।
२. सामाजिक अन्याय र संघर्ष
उत्पादनका साधनको स्वामित्व र उत्पादन सम्वन्धका कारण बर्ग बिभाजित समाजमा माक्र्सवादको आधारभूत सिद्धान्त सामाजिक असमानता र अन्यायका बिरूध्द वर्ग संघर्षमा आधारित छ। अहिलेको समयमा पनि बिश्वका आम श्रमिक वर्ग र पूँजीपति वर्गबीचको असमानता निरन्तर बढ्दै गएको छ। श्रमिक वर्गका मानिसहरू न्यूनतम ज्यालामा काम गर्न बाध्य छन्, जबकि ठूला कम्पनीका मालिकहरू झनझन मुनाफा बढाउँदै छन्। सामाजिक न्याय र समानताको लागि आन्दोलनहरू, जस्तै श्रमिक अधिकारको पक्षमा हुने हड्तालहरू, अहिले पनि जारी छन्, जसले पूँजीबादी शोषणका बिरूध्द माक्र्सवादी विचारधारालाई प्रष्टसँग झल्काउँदछ।
३.भूमण्डलिरण र नवउदारवादको प्रभाव
भूमण्डलिरणले आर्थिक सम्बन्धलाई जटिल बनाएको छ र नवउदारवादको नीतिले श्रमिक वर्गलाई अझ कमजोर बनाएको छ। धेरै राष्ट्रहरूले नवउदारवादी नीतिहरू अवलम्बन गरिरहेका छन् जसले निजीकरण, नाफा वृद्धि र सामाजिक कल्याणको कटौतीलाई निरन्तर बढावा दिन्छ। यसले श्रमिक वर्गमा असुरक्षा, बेरोजगारी, र सामाजिक असन्तोष तथा अतिश्चित भबिष्यको स्थितिलाई अझ बढाएको छ। माक्र्सवादले यसको प्रतिकारका लागि वर्ग संघर्ष र निकासका लागि समाजवादी बिकल्पको प्रष्ट कुरा गर्दछ, जुन आजको बिश्वका सन्दर्भमा अझ महत्वपूर्ण बन्न जान्छ। र बनिरहेको छ।
४. जलवायु परिवर्तन र पर्यावरणीय न्याय
जलवायु परिवर्तनको समस्या पूँजीवादी आर्थिक प्रणालीको नतिजा हो भनेर धेरै आलोचकहरूले बताइसकेका छन् र बताइरहेका छन्। असीमित उत्पादन र उपभोगले पृथ्वीका स्रोतहरूलाई निरन्तर दुरुपयोग गर्दै आएको र गरिरहेको छ। माक्र्सवादी सिद्धान्तले यसलाई वातावरणीय न्यायसँग जोड्न सक्छ र जोड्छ । जहाँ प्राकृतिक स्रोतहरूको सामूहिक स्वामित्व र सतत् दीगो विकासको विचारलाई प्राथमिकता दिनु पर्छ र दिइएको हुन्छ ।
५. राजनीतिक अस्थिरता र जनताको असन्तुष्टि
धेरै राष्ट्रहरूमा हालसालै भएका राजनीतिक आन्दोलनहरू, जस्तै अलि अगाडिको “अरब स्प्रिंग“ आन्दोलदेखि लिएर लैटिन अमेरिकामा देखिएका बामपन्थी आन्दोलनहरू तथा नेपाल, श्रीलंका र बंगलादेका आन्दोलहरूले, जनताको असन्तुष्टिलाई उजागर गरेका छन्। यद्यपि ती असन्तुष्टीहरुको समन भएको छैन र यथास्थितिमा हुन पनि सक्दैन । माक्र्सवादी सिद्धान्तले पनि आमूल अग्रगामी परिबर्तनको कुरै छोडौं, सानातिना सुधारसम्मका कुरालाई पनि अघि बढ्न दिदैन र शासक वर्गले जनतालाई दबाउने र यसलाई उल्ट्याउनुपर्ने कुरा गर्ने गरेको र गर्छ, जुन कुरा बिश्वब्यापीरुपमा आएका प्रतिगामी परिबर्तनको बर्तमान राजनीतिक सन्दर्भमा पनि देख्न सकिन्छ।
६. आधारभूत बैकल्पिक प्रणालीको खोजी
आजको संसारले पूँजीवादको विकल्पको खोजी गरिरहेको बेला, मार्क्सवादले प्रष्टरूपमा अघि सारेको समाजवादलाई एउटा स्वभाबिक बिकल्पको रूपमा प्रस्तुत गर्दछ। उत्पादनका साधनहरूको सामूहिक स्वामित्व र समानताको आधारमा समाजको पुनर्संरचना गर्ने माक्र्सवादी दृष्टिकोण, विशेष गरी विश्वव्यापी आर्थिक मन्दीका बेला आज पनि अझ महत्वपूर्ण बन्न जान्छ।
यसरी हालको विश्वव्यापी संकट र चुनौतीहरूले मार्क्सवादी सिद्धान्तको सान्दर्भिकतालाई अझ बढाएको छ। आर्थिक असमानता, सामाजिक अन्याय, र पर्यावरणीय विनाशको सामना गर्न मार्क्सवादले प्रस्तुत गरेको वर्ग संघर्ष, सामूहिक स्वामित्व, र सामाजिक न्यायको अवधारणा आजको युगमा पनि सान्दभिक र अभफ महत्त्वपूर्ण बनाएको छ। यद्यपि, मार्क्सवादलाई पूर्ण रूपमा अवलम्बन गर्न धेरै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक सबै क्षेत्रका सापेक्षिक सन्दर्भहरूलाई ध्यानमा राख्न आवश्यक हुन्छ।
नेपालमा मक्र्सबादको सान्दर्भिकता किन छ ?
नेपालमा कमरेड पुष्पलालले कम्युनिष्ट आन्दोलनको सुत्रपात गरेदेखि नै माक्र्सवादको सान्दर्भिकता विशेषतः ऐतिहासिक, राजनीतिक, सामाजिक, र आर्थिक परिस्थितिहरूसँग गहिरो किसिमले सम्बन्धित रहँदै आएको कुरा बुझ्न सकिन्छ। नेपाल जस्तो विकासोन्मुख देशमा श्रमिक वर्ग, भूमिहीन किसान, आर्थिक असमानता र सामाजिक अन्याय र उत्पीड जस्ता मुद्दाहरू अत्यन्तै गम्भीर छन्। तिनै आधारमा यहाँ माक्र्सवादको सान्दर्भिकतालाई बुझ्नका लागि केही महत्वपूर्ण कारणहरू दर्शाएइएका छन् ः
१. इतिहाससँगको यसको सम्बन्ध
नेपालको राजनीतिक इतिहासमा माक्र्सवादी विचारधाराको ठूलो प्रभाव रहेको छ। २००६ सालको राणा शासन अन्त्यदेखि लिएर २०४६ सालको जनआन्दोलन र २०६२–६३ सालको दोस्रो बृहत जनआन्दोलनसम्मका आन्दोलनहरूमा क्रान्तिकारी कम्युनिष्ट तथा बामपन्थी विचारधाराले प्रमुख भूमिका खेलेको थियो। विशेषगरी, नेपाल कम्युनिष्ट पार्टीको जन्म र यसको जनजीबिका, जनतन्त्र र बाह्य हस्तक्षेप बिरोधी राष्ट्रिय सवाधीनताका सन्दर्भमा खेलेको भूमिकाले नेपालमा माक्र्सवादलाई राजनीतिक तथा ऐतिहासरूपमा स्थापित गर्ने महत्वपूर्ण कार्य गरेको छ र गरिरहेको छ ।
अन्ततः त्यसको फलस्वरप २०६२÷६३ को जनआन्दोलनपछि गणतन्त्रको स्थापनासँगै, नेपालमा माक्र्सवादी विचारधारालाई अझै गहिरो किसिमले राजनीतिक परिदृश्यमा समावेश गरिदिएको छ। यद्यपि यसमा बिचलन र बिगठनका गलत प्रबृत्तिहरू पनि अपूर्बरूपमा आएका र गम्भीरतम प्रश्न उठाइरहेका छन् । यो आन्दोलन भित्र बिकृत पूँजीवादले नराम्रोसँग प्रबेश गरेको कुरा यसबाट एकदमै प्रष्ट छ ।
२. आर्थिक असमानता
नेपालमा ग्रामीण र शहरी क्षेत्रबीचको आर्थिक असमानता, गरिबी, र बेरोजगारी अहिले पनि गम्भीर मुद्दाहरू हुन्। देशका धेरै नागरिकहरू, विशेष गरी ग्रामीण क्षेत्रमा बस्ने नागरिकहरू, अझै पनि गरिबीको रेखामुनि छन्। थुप्रै नागरिकहरूको पहुँचमा आधारभूत सेवाहरू, जस्तै शिक्षा, स्वास्थ्य सेवा, र रोजगारीका अवसरहरू छैनन्। यी असमानताहरूको जरा मक्र्सवादले व्याख्या गर्ने वर्ग संघर्षमा छ। माक्र्सवादले आर्थिक असमानताको अन्त्यका लागि उत्पादनका साधनहरूको सामूहिक स्वामित्व, सामुदयिकीकरण र आम श्रमिक वर्गको सशक्तिकरणको कुरा गर्दछ, जसले नेपालजस्तो विकासोन्मुख देशमा अत्यन्त सान्दर्भिकता राख्छ।
३. सामाजिक संरचना र वर्ग संघर्ष
नेपालमा ऐतिहासिक रूपमा बर्गीय, जातीय, र लैङ्गिक असमानता रहँदै र बढ्दै आएका छन्। सीमान्तकृत समुदायहरू, दलित, जनजाति, र महिलाहरूले लामो समयदेखि सामाजिक उत्पीडन भोग्दै आएका छन्। माक्र्सवादले यस्ता सामाजिक असमानताहरूलाई आर्थिक र सामाजिक शोषणको परिणामको रूपमा हेर्छ, जसलाई वर्ग संघर्षमार्फत समाधान या अन्त्य गर्नुपर्ने कुरा अघि सार्दछ।
नेपालको समाजमा रहेका सामन्ती सोच र सामाजिक असमानताको अन्त्यको लागि माक्र्सवादले प्रस्तुत गर्ने यो वर्ग संघर्षको अवधारणा अझै सान्दर्भिक छ। नेपालमा बर्गीय तथा सामुदायिक आन्दोलनहरू, महिला अधिकारका आन्दोलनहरू तथा अन्य सामाजिक न्यायका आन्दोलनहरूमा माक्र्सवादी सिद्धान्तहरूलाई प्रभावकारी रूपमा प्रयोग गरिएको छ र गरिनुपर्ने आवश्यकता छ ।
४. आजको राजनीतिक सन्दर्भ
नेपालको वर्तमान राजनीतिक प्रणाली बहुदलीय लोकतन्त्रमा आधारित भए पनि यसका सीमाहरू छन् । यसले समानता, स्वतन्त्रता र भातृत्वको अन्तर्यलाई गुमाइसकेको छ र केवल चुनाव मात्र यसको सारतत्व रहेको छ ।त्यस कुरालाई ध्यानमा राखेर यसको अघिल्लो माथिल्लो चरणको विकासमा निष्ठाबान कम्युनिष्ट तथा बामपन्थी शक्तिहरूको महत्वपूर्ण भूमिका रहने कुरा निश्चत छ। नेपालमा अग्रगामी उन्नत राजनितक रूपान्तरण र बिकासका लागि मूख्य राजनीतिक शक्ति भनेका देशका निष्ठबान र क्रान्तिकारी कम्युनिष्ट शक्तिरू नै हुन् ।उनिहरू आधारभूत मुद्दाहरूमा माक्र्सवादले प्रस्तुत गर्ने श्रमिक वर्गको हितमा आधारित विचारधारालाई दृढतापूर्बक अँगाल्दछन् र नेपालमा अझै पनि त्यसै ठोस राजनीतिक प्रभाव रहिरहेको छ । त्यसैले बहुसंख्यक किसानहरुको समस्यामा यो आन्दोलन केन्द्रित हुनुपर्ने कुरा बर्षौंदेखि उठ्दै आएको हो ।
५. भूमिसुधार र किसानहरूको अवस्था
नेपालमा भूमिसुधारको आवश्यकता २००७ सालको जन आन्दोलन यता लामो समयदेखि महसुस गरिँदै आएको छ। धेरै किसानहरू भूमिहीन छन् र ठूला जमिनदारहरूद्वारा शोषित भइरहेका छन्। माक्र्सवादले भूमिको सामूहिक स्वामित्व र पुनर्वितरणको कुरा गर्दछ, जसले किसानहरूलाई सशक्त बनाउन सक्छ। यसरी भूमिसुधारका लागि हुने आन्दोलनहरूले पनि मार्क्सवादी विचारधारालाई महत्वपूर्ण बनाएको छ। बास्तबमा किसानका आधारभूत समस्या हल नगरी राष्ट्रिय समस्या हल गर्ने ढोका पनि खुल्दैन भन्ने कुरा कमरेड पुष्पलालले नेपालमा कम्युनिष्ट आन्दोलनको सुत्रपात गर्दादेखि नै लगातार उठाउँदै आउनु भएको हो र नयाँ जनबादी क्रान्तिको मूख्य सम्बाहक शक्ति किसान हो भन्नु हुँदै समाजबादमा जाने पृष्ठभूमि निर्माण गर्नुपर्ने कुरामा बिशेष जोड दनुभएको हो ।
६. भूमण्डलिकरण र नवउदारवादको असर र त्यसको निराकरण
तर आज हाइपर साम्राज्यबादकोरुपमा बिकसित भएको र मल्टीनेशनल कम्पनी(एमएनसी) र ट्रान्सनेशनल कम्पनी(टीएनस) निर्देशित भूमण्डलिकरण र नवउदारवादका कारण नेपालमा पनि निजीकरण र पूँजीवादको प्रभाव बढ्दै गइरहेको छ। श्रमिक अधिकार, सामाजिक कल्याण, र समानताको मुद्दामा नवउदारवादले चुनौतीहरू खडा गरेको छ। यस्तो अवस्थामा मार्क्सवादले नवउदारवादी नीतिहरूको विरोध गर्दै समाजवादको पक्षमा वकालत गर्न सान्दर्भिक देखिन्छ।
त्यसैले नेपालको आर्थिक, सामाजिक, र राजनीतिक परिप्रेक्ष्यमा माक्र्सवादले महत्वपूर्ण भूमिका खेलेको छ र भविष्यमा पनि खेल्न सक्छ। ऐतिहासिक रुपमा माक्र्सवादी विचारधाराले नेपालमा राजनीतिक परिवर्तन ल्याउने योगदान दिन सफल भएको छ, र सामाजिक न्याय, आर्थिक समानता तथा श्रमिक वर्गको सशक्तिकरणका लागि यसको सान्दर्भिकता अझै कायम छ र पछिसम्म रहिरहने छ । वास्तबमा बर्गीय र सामाजिक उत्पीडनबाट मुक्तिको दिशानिर्देश गर्ने र बाटो देखाउने आधारभूत दर्शन नै माक्र्सबाद हो ।


