काठमाडौं । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा चितवनमा भएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार चितवनको माडी कल्यानपुरको केन्द्रमा २२२.४ मिलिमिटर वर्षा मापन भएको छ । मापन केन्द्र आसपास क्षेत्रमा पनि २०० मिलिमिटरभन्दा धेरै वर्षा भएको छ ।
यसैगरी परासीको बर्दघाट मापन केन्द्रमा २०७ मिलिमिटर वर्षा भएको छ । चितवनको मेघौली मापन केन्द्रमा २०२.८ मिलिमिटर वर्षा भएको छ भने तनहुँको अत्रौउलीटार मापन केन्द्रमा २०२.२ मिलिमिटर वर्षा भएको छ । २४ घण्टाको अवधिमा २०० मिलिमिटरभन्दा धेरै वर्षा मापन हुनुलाई अति भारी वर्षा भएको मानिन्छ । यस्तै, १०० देखि २०० मिलिमिटर वर्षा हुनुलाई धेरै भारी वर्षा र ५० देखि १०० मिलिमिटर वर्षा हुनुलाई भारी वर्षा भनिन्छ । साथै मधेश प्रदेश लगायत गण्डकी, लुम्बिनी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको विभागले जनाएको छ ।
कोशी र कर्णाली प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। आजदेखि भने मौसममा केही सुधार आउने पूर्वानुमान देखिएको छ ।
महाशाखाका अनुसार कोशी र मधेशमा आकाश खुल्दै जानेछ भने काठमाडौं उपत्यकामा उल्लेख्य सुधार हुनेछ ।

