काठमाडौं । छैटौँ संस्करणको ‘नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०२६’ सभ्य रूपमा सम्पन्न भएको छ ।
स्टार वान इन्टरटेनमेन्ट प्रालि र एसबी क्रिएसन प्रालिको संयुक्त आयोजनामा भएको समारोहमा गीत–संगीत, म्युजिक भिडियो तथा फेसन–मोडलिङतर्फ विभिन्न २६ विधामा अवार्ड प्रदान गरिएको हो ।
साे समारोहमा आधुनिक गीत गायकतर्फ ‘किन रुन हुन्न’बाट प्रमोद खरेल, आधुनिक गीत गायिकातर्फ ‘तिम्रो आँखाको’बाट सोनी राजभण्डारी र आधुनिक गीत रचनाकारतर्फ ‘किन रुनु हुन्न मर्दले’बाट राम शर्माले अवार्ड प्राप्त गरेका थिए ।
यस्तैगरी पप गीत गायनतर्फ ‘गाजलु आँखैले’बाट आशिष पौडेल, चलचित्र गीत गायनतर्फ चलचित्र ‘उनको स्वीटर’को ‘फकाउँछ काफ्ले’बाट झुमा लिम्बू र लोकगीत गायनतर्फ ‘बुझे मैले’बाट राधा हमाल बानियाँले अवार्ड हात पारे ।
मोडलिङतर्फ नवोदित मोडलको अवार्ड ‘काली तरेर आउँछु’बाट राजन बुढाथोकी, आधुनिक गीत मोडलको अवार्ड ‘सधैँ तिमी’को भिडियोबाट प्रवण भुसाल र महिला मोडलको अवार्ड ‘पालाम (पुरानो माया)’बाट बुद्धरानी लिम्बूले प्राप्त गरे । पपगीत मोडलतर्फ उमेश भट्ट र म्युजिक भिडियो छायाकारतर्फ ‘बुझे मैले’बाट ओमप्रसाद प्रसाईँलाई अवार्ड प्रदान गरियो ।
आदिवासी गीततर्फ ‘माङ्गेना लाजाम’ले वर्षको सर्वाधिक लोकप्रिय आदिवासी गीतको अवार्ड प्राप्त गरेको छ । आदिवासी गीत गायकतर्फ शम्भु फोम्बो लिम्बू, गायिकातर्फ सञ्जु कांलिभा लिम्बू, पालाम गीत गायनतर्फ मञ्जु कांलिभा लिम्बू र आदिवासी गीत गायन जुरीतर्फ मीरा फियाक लिम्बूलाई अवार्ड प्रदान गरियो ।
आदिवासी म्युजिक भिडियो मोडलतर्फ ‘मिम्फुला, भाग–२’बाट दिलु पन्धाक मादेन तथा आदिवासी गीत रचनाकारतर्फ ‘यसपालिको साकेला’बाट अञ्जना राईले अवार्ड प्राप्त गरे । नेपाल भाषा संगीतकारतर्फ ‘खुसिया किनार’बाट राजु कर्माचार्य र गीतकारतर्फ ‘चिकुलया तः खाः’बाट छत्रराज शाक्य सम्मानित भए ।
फेसनतर्फ सर्वोत्कृष्ट फेसन डिजाइनरको अवार्ड भावना कुमारी धनुकले, सर्वोत्कृष्ट बुटिकको अवार्ड परी बुटिकका लागि मितु अधिकारीले र सर्वोत्कृष्ट सौन्दर्य प्रतियोगिता मोडलको अवार्ड मिसेस युनिभर्स २०२६ की रनरअप रोजी थापाले प्राप्त गरिन् । यस्तै ‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२६’की विजेता चाँदनी श्रेष्ठले सर्वोत्कृष्ट राष्ट्रिय सौन्दर्य प्रतियोगिता विजेताको अवार्ड प्राप्त गरिन् ।
सर्वोत्कृष्ट फेसन तथा इभेन्ट फोटोग्राफी अवार्ड ब्युटी न्युज नेपालका फोटो पत्रकार बद्री थापाले तथा सर्वोत्कृष्ट इन्टेरियर डिजाइन फर्निचर अवार्ड हिमालयन फर्निचर एन्ड सोफा फ्याक्ट्री, भक्तपुरका खड्ग थापाले प्राप्त गरे ।
समारोहमा छैटौँ नेपाल ब्युटी मेकअप एन्ड कस्मेटिक अवार्डअन्तर्गत चलचित्र मेकअप आर्टिस्ट, ब्राइडल मेकअप आर्टिस्ट, पार्टी मेकअप आर्टिस्ट, मोडल मेकअप आर्टिस्ट, नेल टेक्निसियन, नेल आर्टिस्ट, हेयर डिजाइनर तथा हेयर स्टाइलिस्टसहित विभिन्न विधामा पनि अवार्ड प्रदान गरिएको थियो ।
यसैगरी उत्कृष्ट महिला ब्युटी पार्लर, उत्कृष्ट ब्युटिसियन, उत्कृष्ट ब्युटी पार्लर, उत्कृष्ट युनिसेक्स सैलुन र उत्कृष्ट ब्युटिसियन ट्रेनिङ सेन्टरतर्फ पनि अवार्ड प्रदान गरियो । कस्मेटिकतर्फ बेष्ट सेलिङ हेयर प्रोडक्ट र बेष्ट सेलिङ मेकअप प्रोडक्टको अवार्डसमेत वितरण गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा ओएसआर डिजिटललाई चलचित्र एवम् संगीत रजत सम्मान, पत्रकार कुमार आचार्यलाई चलचित्र पत्रकारिता रजत सम्मान तथा सामाजिक अभियन्ता अंश वर्मालाई युवा उद्यमी तथा सामाजिक अभियन्ता सम्मान प्रदान गरियो । वीर अस्पतालका वरिष्ठ चिकित्सक रणजीत झालाई गीत–संगीत तथा चिकित्सा सम्मान प्रदान गरिएको थियो ।
यस्तै चलचित्र निर्माता तथा व्यवसायी जस्मिन श्रेष्ठ र पूजा गुरुङ तथा समाजसेवी उर्मिला शेरचन (अनु)लाई नारी सम्मान प्रदान गरियो । कलाकार तथा व्यवसायी देवेन्द्र नेमवाङ, डान्स कोरियोग्राफर सरु ढुङ्गेल र ब्युटिसियन रेश्मा खत्री क्षेत्री पनि सम्मानित भए ।
साे समारोहमा ३६० स्टुडियोका कलाकार तथा प्रियँसु न्यौपानेले नृत्य प्रस्तुत गरेका थिए भने गायक ओम सुनारले गीत प्रस्तुत गरेका थिए । अवार्डको निर्णायकमा अभिनेता तथा मोडल यसराज गराच, गीतकार तथा संगीतकार सुमन पण्डित र फेसनतर्फ गोमा अधिकारी धिताल रहेका थिए ।


