काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा भएको छ । वर्षाका क्षेत्र र मात्रा आजदेखि झन् बढ्ने मौसमविदहरुले बताएका छन् ।
नेपाल मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशका पाल्पा र कपिलवस्तुमा जिल्लामा भएको छ ।
गण्डकीको तनहुँ, कास्की, स्याङ्जा, पाल्पा र आसपासका क्षेत्रमा पनि वर्षा भएको छ ।
आजदेखि पानी पर्नेक्रम अझै बढ्ने
उनीहरुका अनुसार आजदेखि पानी पर्नेक्रम अझै बढ्ने र केही ठाउँमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान छ ।
आज कोशी, बागमती र गण्डकी प्रदेशका थोरै ठाउँमा तथा मधेश र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना छ । यस्तै कोशी र बागमती प्रदेशको पहाडी भेगका एक/दुई ठाउँमा पनि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मधेश र कोशी प्रदेशको तराईका थोरै ठाउँमा हावाहुरीको समेत सम्भावना छ ।
आइतबारसम्म धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले जोखिमयुक्त क्षेत्रमा पहिरो जाने, खोला तथा नदीमा बाढी आउने सम्भावना छ । त्यसैले हवाई, सडक यातायात प्रभावित हुनसक्ने पूर्वानुमान छट । सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।


