काठमाडौं । बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणाली थप शक्तिशाली बन्दै जाने देखिएपछि कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बङ्गालको खाडीको पश्चिम-मध्य भू-भाग आसपास विकसित न्यून चापीय क्षेत्र आगामी दिनमा थप शक्तिशाली बन्दै ‘डीप डिप्रेसन’ (बलियो न्यून चापीय क्षेत्र) का रूपमा पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्ने देखिएको छ।
यस प्रणालीका कारण आगामी केही दिन देशभरको मौसममा परिवर्तन आउने र वर्षा तथा हिमपातको सम्भावना बढ्ने महाशाखाले जनाएको छ।
हाल देशमा मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। त्यसको प्रभावले देशका अधिकांश भू-भागमा सामान्यतया बदली रहने सम्भावना छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाले कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ।
मौसममा आउने परिवर्तनसँगै मेघगर्जन, चट्याङ तथा भारी वर्षाबाट हुन सक्ने जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारण तथा सरोकारवाला निकायलाई आग्रह गरेको छ। साथै, नियमित रूपमा आधिकारिक मौसम बुलेटिन हेर्नसमेत आग्रह गरिएको छ।

