काठमाडौं । नेपालमै डिजाइन र उत्पादन गरिएको बहुप्रतीक्षित विद्युतीय स्कुटर ‘यात्री पी२’ औपचारिक रूपमा नेपाली बजारमा सार्वजनिक भएको छ । सिप्रदी र यात्री मोटरसाइकलको संयुक्त सहकार्यमा बजारमा ल्याइएको यस स्कुटरको सुरुवाती मूल्य ३ लाख २९ हजार ९ सय रुपैयाँ कायम गरिएको छ ।
कम्पनीका अनुसार यो सुरुवाती मूल्य ३.० केडब्लुएच (किलोवाट आवर) ब्याट्री क्षमता भएको बेस भेरियन्टको हो । ग्राहकले आफ्नो आवश्यकता, बजेट र यात्राको दूरी अनुसार फिचर तथा ब्याट्री क्षमता अनुकूलन गरी खरिद गर्न सक्ने निर्माता कम्पनी यात्री मोटरसाइकलले जनाएको छ ।
तीन ब्याट्री विकल्प र २०७ किमीसम्मको रेन्ज
यात्री पी२ लाई मुख्य गरी तीनवटा ब्याट्री प्याकमा उपलब्ध गराइएको छ । यसको ३.० केडब्लुएच (किलोवाट आवर) बेस भेरियन्टले एक पटकको फुल चार्जमा ९० किमी, ३.७ केडब्लुएच मिड भेरियन्टले ११२ किमी र ५.२ केडब्लुएच टप भेरियन्टले १५७ किमीसम्मको रेन्ज दिन्छ। लामो दूरीको यात्राका लागि थप १.८केडब्लुएच को ‘रेन्ज एक्सेन्डर’ सहायक ब्याट्री जोडेर कुल रेन्ज अधिकतम २०७ किमी सम्म पुर्याउन सकिने प्रविधि यसमा छ।
स्कुटरमा १० किलोवाट पिक पावर र ३१५ एनएम टर्क उत्पन्न गर्ने मिड-ड्राइभ पीएमएसएम मोटर जडान गरिएको छ, जसको अधिकतम गति ९० किमी प्रतिघण्टा रहेको छ । यसमा ‘सुस्ते’, ‘थिक्क’ र ‘बब्बाल’ गरी तीन राइडिङ मोड उपलब्ध छन् । डिसी फास्ट चार्जिङ प्रविधिबाट यो स्कुटर ४१ मिनेटमै १० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ ।
स्मार्ट कनेक्टिभिटी र आधुनिक सुरक्षा फिचर
नयाँ पुस्ताका चालकलाई लक्षित गरी बनाइएको यस स्कुटरमा ७-इन्चको टिएफटी स्मार्ट स्क्रिन दिइएको छ, जसले वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट गर्छ। इन-बिल्ट फोर जी सिम, मोबाइल कम्पेनियन एप, १७५ एमएमको ग्राउन्ड क्लियरेन्स र हेलमेट सजिलै अट्ने ३० लिटरको ठूलो बूट स्पेस यसका मुख्य विशेषता हुन् ।
सुरक्षाका लागि स्कुटर दुर्घटनामा पर्दा वा लड्दा स्वतः पावर कट भई एसओएस लोकेसन पठाउने ‘फल डिटेक्सन’, जीपीएस ट्र्याकिङ, एन्टी-थेफ्ट अलार्म र हिल होल्ड असिस्ट जस्ता सुरक्षा प्रणाली राखिएका छन् । कम्पनीले ब्याट्रीमा ८ वर्ष वा ८० हजार किमीको वारेन्टी दिएको छ ।
बुकिङ र डेलिभरी तालिका
५ हजार रुपैयाँ अग्रिम भुक्तानी गरी अनलाइन तथा सोरुमबाट बुकिङ गर्न सकिने यस स्कुटरको माथिल्लो भेरियन्ट (३.७ केडब्लुएच र ५.२ केडब्लुएच) को डेलिभरी अक्टोबर-नोभेम्बर २०२६ देखि र बेस भेरियन्टको डेलिभरी डिसेम्बर २०२६ देखि सुरु हुने निर्माता कम्पनी यात्री मोटरसाइकलले जनाएको छ ।


