काठमाडौं उपत्यकामा अवैध विद्युतीय चुरोट (भेप) को कारोबार बढ्दै गएको विषयले फेरि एकपटक युवा कुलतको गम्भीरता उजागर गरेको छ । प्रहरीले चाबहिल, सतुङ्गल, चुच्चेपाटीलगायतका क्षेत्रबाट चार जनालाई पक्राउ गर्दै २ हजार ७ सय ७० थान भेप बरामद गरेको छ । पक्राउ पर्नेमध्ये दुई जना १९ वर्षीय युवक छन् । यो घटना केवल एउटा प्रहरी कारबाही होइन, बरु युवापुस्तामा फैलिएको कुलतको प्रतिबिम्ब हो । भेप, चुरोट, मदिरा, गाँजा र अन्य लागुऔषधले युवाहरूलाई गाँज्दै गएको अवस्थामा यसले आगामी दिनमा झनै समस्या ल्याउन सक्छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ग्लोबल युथ टोबाको सर्भे २०२५ अनुसार स्कूले किशोरकिशोरीमध्ये १८.७ प्रतिशतले सुर्तीजन्य पदार्थ सेवन गर्छन् । तीमध्ये इ–सिगरेट वा भेप प्रयोग गर्ने ७.३ प्रतिशत र शीशा÷हुक्का प्रयोग गर्ने ७.१ प्रतिशत छन् । परम्परागत चुरोटको प्रयोग घट्दै गए पनि नयाँ रूपका उत्पादन बढेका छन् । १३ देखि १५ वर्ष उमेर समूहमा १७.५ प्रतिशतले यस्ता पदार्थ सेवन गर्छन् । झन्डै ४१.५ प्रतिशत विद्यार्थीले १० वर्ष नपुग्दै पहिलो सर्को तानेको बताएका छन् । यो तथ्यांकले किशोरकिशोरीमा कुलतको जरो गाडिसकेको देखाउँछ ।
भेप प्रयोगकर्ताको संख्या पनि बढ्दो छ । सन् २०१९ मा करिब ३ लाख १२ हजार रहेका भेप प्रयोगकर्ता २०२४ सम्ममा करिब ३ लाख ६० हजार पुगेका छन् । वार्षिक औसत १० हजार जना थपिने अनुमान छ । स्नातक तहका विद्यार्थीमा गरिएको एक अध्ययनमा २७ प्रतिशतले भेप प्रयोगको अनुभव बताएका थिए भने ६ प्रतिशत नियमित प्रयोगकर्ता थिए । धेरैले यसलाई कम हानिकारक ठान्छन्, जुन गलत धारणा हो । भेपमा पनि निकोटिन हुन्छ, जसले मस्तिष्क विकासमा असर पार्छ, श्वासप्रश्वाससम्बन्धी समस्या ल्याउँछ र दीर्घकालीन निर्भरता सिर्जना गर्छ ।
लागुऔषधको अवस्था अझ गम्भीर छ । गृह मन्त्रालयको सर्वेक्षणअनुसार नेपालमा करिब १ लाख ३० हजार ४ सय २४ जना कडा लागुऔषध प्रयोगकर्ता छन् । तीमध्ये ९३ प्रतिशत पुरुष छन् र अधिकांश १५ देखि २९ वर्ष उमेर समूहका छन् । पहिलो पटक लतमा फस्ने औसत उमेर १७ वर्ष हो । वार्षिक करिब ६ हजार ५ सय नयाँ प्रयोगकर्ता थपिने अनुमान छ, अर्थात् दैनिक १८–२० जना । गाँजा सबैभन्दा धेरै प्रयोग हुने पदार्थ हो । साथीभाइको दबाब, जिज्ञासा, मनोरञ्जन र बेरोजगारी मुख्य कारण बनेका छन् ।
सुर्ती सेवनका कारण हरेक वर्ष करिब ३९ हजार २ सय नेपालीको मृत्यु हुन्छ र आर्थिक भार ४५ अर्ब रुपैयाँ पुग्छ । युवा कुलतले व्यक्तिको स्वास्थ्य मात्र होइन, परिवार, समाज र राष्ट्रिय अर्थतन्त्रलाई समेत कमजोर बनाउँछ । उत्पादक उमेरका युवा कुलतमा फसे भने शिक्षा, सीप विकास, उद्यमशीलता र राष्ट्र निर्माणमा ठूलो क्षति हुन्छ । नेपालको जनसंख्याको ठूलो हिस्सा युवा छ । यिनै युवा देशको भविष्य हुन् । उनीहरू स्वस्थ, शिक्षित र सकारात्मक सोचका भए मात्र देशले समृद्धिको बाटो समात्न सक्छ । कुलतले यो सम्भावनालाई नष्ट गर्छ ।
युवालाई कुलतबाट जोगाउन बहुआयामिक प्रयास आवश्यक छ । परिवारले पहिलो भूमिका निर्वाह गर्नुपर्छ । अभिभावकले छोराछोरीसँग खुला संवाद राख्नुपर्छ, उनीहरूको साथीभाइ र दैनिक गतिविधिमा ध्यान दिनुपर्छ । पैसाको दुरुपयोग रोक्न र सकारात्मक गतिविधिमा संलग्न गराउन प्रोत्साहन गर्नुपर्छ । विद्यालय र कलेजहरूले नियमित रूपमा कुलत विरुद्धको जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ । पाठ्यक्रममा स्वास्थ्य शिक्षा र जीवन सीप समावेश गर्नु आवश्यक छ । शिक्षकले विद्यार्थीको व्यवहारमा परिवर्तन देख्ने बित्तिकै अभिभावकलाई जानकारी गराउनुपर्छ ।
सरकार र कानुन कार्यान्वयन गर्ने निकायको भूमिका महत्वपूर्ण छ । अवैध भेप, चुरोट र लागुऔषधको आपूर्ति शृंखला तोड्न कडा कारबाही हुनुपर्छ । भन्सार, प्रहरी र स्थानीय प्रशासनबीच समन्वय बढाउनुपर्छ । कारोबारीलाई कडा सजाय र जफत गरिएका सामानको सार्वजनिक विनाश गर्नुपर्छ । युवा लक्षित रोजगारी, सीप विकास र मनोरञ्जनका वैकल्पिक अवसर सिर्जना गर्नुपर्छ । खेलकुद, कला, संगीत, स्वयंसेवा र उद्यमशीलताका कार्यक्रम विस्तार गर्नुपर्छ । बेरोजगारी र निराशा कुलतको मुख्य कारक भएकाले आर्थिक अवसरहरू बढाउनु अपरिहार्य छ ।
मिडिया, सामाजिक सञ्जाल र नागरिक समाजले पनि जिम्मेवारी लिनुपर्छ । गलत जानकारी र आकर्षक विज्ञापनबाट युवाहरूलाई जोगाउन सकारात्मक अभियान चलाउनुपर्छ । कुलतबाट मुक्त भएका व्यक्तिहरूको सफलताका कथा प्रसारण गर्नु प्रभावकारी हुन्छ । स्वास्थ्य संस्थाहरूले निःशुल्क परामर्श र उपचार सेवा विस्तार गर्नुपर्छ । निकोटिन र लागुऔषध छुटाउन चाहने युवालाई सहज पहुँच हुनुपर्छ ।
युवाहरू आफैं पनि सचेत हुनुपर्छ । साथीभाइको दबाबमा नलाग्ने, आफ्नो स्वास्थ्य र भविष्यप्रति जिम्मेवार हुने बानी बसाल्नुपर्छ । सानो चाखबाट सुरु भएको कुलतले जीवन नै बर्बाद गर्न सक्छ भन्ने बुझ्नुपर्छ । स्वस्थ जीवनशैली, नियमित व्यायाम, राम्रो संगत र लक्ष्य निर्धारणले कुलतबाट जोगाउँछ । देशको भविष्य युवाको हातमा छ । कुलतमुक्त युवापुस्ताले मात्र शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन र उद्योग क्षेत्रमा योगदान दिन सक्छ । उनीहरूले लोकतन्त्रलाई सुदृढ बनाउन, जलवायु परिवर्तनजस्ता चुनौती सामना गर्न र समृद्ध नेपाल निर्माण गर्न सक्छन् । तर कुलतले गाँजेका युवाहरूले न त आफू जोगिन्छन्, न त देश । त्यसैले परिवार, विद्यालय, समाज, सरकार र युवा आफैंले मिलेर यो समस्या समाधान गर्नुपर्छ । युवाको सुरक्षा राष्ट्रको सुरक्षा हो । यसलाई प्राथमिकता दिएर मात्र हामी बलियो नेपाल निर्माण गर्न सक्छौं । जनधारणा साप्ताहिक

