काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाह र आफूले कामको बाँडफाँड गरेको जनाएका छन् ।
बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपश्चात सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै उनले सरकार र पार्टीको जिम्मेवारी बाँडफाँड गरिएको उल्लेख गरेका हुन् । प्रधानमन्त्रीले सर्वदलीय बैठकको बेवास्ता गरेको हो भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा उनले त्यस्तो नभएको जनाए ।
‘हामी त काम बाँडफाँड गरेर गर्छौँ नी । हिजोको अभ्याससँग आजको अभ्यास तुलना गर्नुभयो भने त्यो अर्कै देखिएला । हिजो पार्टीको नेतृत्व प्रधानमन्त्री हुने परिपाटी हुँदा दुइटै काम एउटैले गरेको हो ।’ उनले भने, ‘अहिले त सरकारको जिम्मेवारी एउटाले हेर्ने, पार्टीको जिम्मेवारी एउटाले हेर्नेगरी स्पष्ट खाका हुँदा हुँदै डुप्लिकेसनको आवश्यकता पर्दैन । यद्यपी आएदिए हुन्थ्यो, गरिरिदए हुन्थ्यो भन्ने कुरा बेग्लै हो ।’
उनले यो कार्यकालभरी यो प्रश्न रहिरहने भन्दै यो प्रश्नलाई आजै डम्प गरिदिन पत्रकारलाई आग्रह गरे । त्यस्तै उनले प्रधानमन्त्री काम गर्नुपर्ने र आवश्यक परेको ठाउँमा संवेदनशील भएको लागेको पनि बताए । ‘प्रधानमन्त्री जी निरन्तर बैठकमा हुनुहुन्छ । हिजो मात्रै उहाँले स्थानीय तहका प्रतिनिधिलाई भेट्नुभयो । प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भेटिरहनुभएको छ । उहाँको संवेदनशीलताको ठूलो उदाहरण हो नि त ।’ उनले भने ।


