काठमाडौं । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा बिहान ७ बजेसम्म करिब ९ हजार दर्शनार्थीले दर्शन गरेका छन्।
बिहान ३:१५ बजेदेखि पशुपतिका चारवटै ढोका खुला गरिएको छ भने करिब ३ हजार दर्शनार्थी दर्शनका लागि लाइनमा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
दर्शनार्थीको व्यवस्थापन तथा सहजीकरणका लागि प्रहरीले सूचना प्रवाह, खोज तथा उद्धार, परिवार पुनर्मिलन, स्वास्थ्य शिविर र ट्राफिक व्यवस्थापनलगायतका सेवा सञ्चालन गरिरहेको छ।
पशुपति क्षेत्रको सुरक्षा व्यवस्थापनका लागि सीसीटीभी, ड्रोन तथा सञ्चार प्रविधिको प्रयोग गरिएको छ। साथै सादा पोसाकका प्रहरी, महिला तथा पुरुष प्रहरी र विपद् उद्धार प्रहरी परिचालन गरिएको छ।
सुरक्षा व्यवस्थापनका लागि दुई सिफ्टमा २ हजार ५ सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ। एक सिफ्टमा मात्रै १ हजार २ सय ५० प्रहरी खटिएका छन्।


