काठमाडाैं । नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय सेवाको प्रयोग बढेसँगै त्यसबाट उत्पन्न हुनसक्ने जोखिमप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ। बैंकिङ, मोबाइल वालेट, क्यूआर भुक्तानीलगायतका डिजिटल वित्तीय सेवाको सुरक्षित प्रयोगका लागि आवश्यक ज्ञान, सीप र सही निर्णय क्षमता विकास गर्न केन्द्रीय बैंकले जोड दिएको हो ।
राष्ट्र बैंकले बुधबार (भदौ २४) वित्तीय चेतनासम्बन्धी सन्देश जारी गर्दै डिजिटल वित्तीय साक्षरतालाई सुरक्षित डिजिटल कारोबारको महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गरेको छ। बैंकले डिजिटल वित्तीय सेवाको सुविधा मात्र नभई त्यससँग जोडिएका जोखिम, शुल्क, सेवा सर्त तथा ग्राहकका अधिकारबारे समेत जानकारी राख्न आग्रह गरेको छ ।
केन्द्रीय बैंकले फिसिङ, भिसिङ र स्मिसिङ लगायतका माध्यमबाट हुने डिजिटल ठगीप्रति विशेष सावधानी अपनाउन सुझाव दिएको छ। बैंक तथा वित्तीय संस्थाले फोन, इमेल वा सन्देशमार्फत ग्राहकसँग PIN, OTP, पासवर्ड वा CVV जस्ता गोप्य विवरण नमाग्ने भएकाले त्यस्ता विवरण कसैलाई पनि उपलब्ध नगराउन राष्ट्र बैंकले सचेत गराएको छ । त्यस्तै, डिजिटल खाता तथा उपकरण सुरक्षित राख्न बलियो र फरक पासवर्ड प्रयोग गर्न तथा सम्भव भएसम्म बहुकारक प्रमाणीकरण (MFA) सक्रिय गर्न आग्रह गरिएको छ। मोबाइल बैंकिङ र डिजिटल वालेट प्रयोग गर्दा आधिकारिक एप मात्र डाउनलोड तथा प्रयोग गर्न र सार्वजनिक Wi-Fi बाट वित्तीय कारोबार नगर्न पनि राष्ट्र बैंकले सुझाव दिएको छ ।
पछिल्लो समय विभिन्न अनलाइन सेवा तथा AI उपकरणको प्रयोग बढिरहेको सन्दर्भमा बैंक खाता, कार्ड नम्बर, पासवर्ड, OTP लगायतका संवेदनशील वित्तीय विवरण त्यस्ता प्लेटफर्ममा साझा नगर्न समेत राष्ट्र बैंकले आग्रह गरेको छ ।
डिजिटल वित्तीय सेवा प्रयोग गर्नुअघि सम्बन्धित सेवा प्रदायकको विश्वसनीयता जाँच गर्न र शंकास्पद लिंक, सन्देश तथा आकर्षक प्रस्तावमा हतारमा विश्वास नगर्न पनि केन्द्रीय बैंकले अनुरोध गरेको छ । अनधिकृत कारोबार वा शंकास्पद गतिविधि देखिएमा तत्काल सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई जानकारी गराउन राष्ट्र बैंकले सुझाव दिएको छ। केन्द्रीय बैंकले डिजिटल वित्तीय ज्ञान बढाउँदै सुरक्षित र जिम्मेवार डिजिटल कारोबारको संस्कार विकास गर्नुपर्नेमा जोड दिएको छ।


