काठमाडौं । नेवाः देय् दबूको आह्वानमा देशभरी श्रद्धाञ्जली कार्यक्रम भएकाे छ ।
देय् दबुकाे प्रदेश समिति, जिल्ला समिति, पालिका समिति तथा वडा समितिहरूले भदौ २२ गते एकै दिन साँझ ६ बजे देशभरका विभिन्न स्थानमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेका छन् ।
भोटेकोशीमा आएको बाढी तथा त्यसबाट रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै दिवंगतहरूप्रति चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनासहित श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको हो। साथै घाइतेहरूको यथाशीघ्र उपचार तथा उद्धार कार्यलाई तीव्रता दिनुपर्ने मागसहित नेवाः देय् दबूले जारी गरेको शोक वक्तव्यको सन्देशसमेत प्रवाह गर्दै देशभर एकैसाथ श्रद्धाञ्जली कार्यक्रम गरिएको नेवाः देय् दबूका मूछ्याञ्जे श्रीकृष्ण महर्जनले जानकारी दिनुभयो ।
काठमाडौंको बसन्तपुरमा आयोजित केन्द्रीयस्तरीय श्रद्धाञ्जली कार्यक्रममा नेवाः देय् दबूका केन्द्रीय नायः रश्मिला प्रजापतिले शोक वक्तव्य वाचन गर्नुभएको थियो ।
उक्त कार्यक्रममा नेवाः देय् दबूको केन्द्रीय समिति, स्वनिगः विशेष प्रदेश समिति, काठमाडौं जिल्ला समिति, ललितपुर जिल्ला समिति, विभिन्न जातीय संगठन, नेवाः पत्रकार राष्ट्रिय दबू, आदिवासी जनजाति पत्रकार महासंघ उपत्यका समन्वय समिति, नेवाः देय् दबूका विषयगत संगठन तथा विभिन्न खलः पुचःका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
ललितपुरमा नेवाः देय् दबू ललितपुर जिल्ला समिति तथा ज्यापु समाज ललितपुरको संयुक्त आह्वानमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको थियो। त्यस्तै भक्तपुरमा नेवाः देय् दबू भक्तपुर लागा तथा नेवाः मिसा दबू भक्तपुर लागाको संयुक्त आह्वानमा श्रद्धाञ्जली कार्यक्रम गरिएको थियो ।
त्यसैगरी स्वनिगः क्षेत्रमा कीर्तिपुर, जामाचो नगर, भुइँजःसि, महालक्ष्मी नगर तथा विभिन्न स्थानमा नेवाः देय् दबूका स्थानीय समितिहरूको आह्वानमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको थियो ।
भोटेकोशीमा बाढी आएको १३ औं दिनको पुण्यतिथिको दिनमा देशभरका विभिन्न स्थानमा नेवाः देय् दबूका स्थानीय समितिहरूको आह्वानमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको थियो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न स्थानमा रहेका समितिहरूले नुवाकोट, चितवन, पर्सा, धरान, सिन्धुली, जिरी, गैँडाकोट, खोटाङ, उदयपुर, खैरहनीलगायत स्थानमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेका छन् ।
उक्त अवसरमा श्रद्धाञ्जली अर्पण गर्नुका साथै नेवाः देय् दबूले जारी गरेको शोक वक्तव्यसमेत सार्वजनिक तथा वाचन गरिएको थियो ।
नेवाः देय् दबू
१३ औँ दिनको पुण्यतिथिमा श्रद्धाञ्जली तथा शोक वक्तव्य
२०८३ साल भदौ १० गते रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लामा आएको विनाशकारी बाढी, पहिरो तथा प्राकृतिक विपदमा परी ज्यान गुमाउनुहुने नेवाः देय् दबू नुवाकोट जिल्ला समितिका कोषाध्यक्ष सरिता जोशी, सहसचिव गीता श्रेष्ठ लवत लगायत सम्पूर्ण मृतकहरूप्रति १३ औँ दिनको पुण्यतिथिमा नेवाः देय् दबू भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।
यस दुःखद घटनाबाट आफन्त गुमाउनुभएका सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । बेपत्ता नागरिकहरूको तत्काल खोज तथा उद्धार, प्रभावित परिवारलाई आवश्यक राहत तथा आधारभूत सेवाको व्यवस्था र घरबार तथा जीविकोपार्जन गुमाएका परिवारको शीघ्र पुनःस्थापनाका लागि सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछौँ ।
जलवायु परिवर्तनले चरम मौसमी घटना तथा प्राकृतिक विपद्को जोखिम र तीव्रता बढाउँदै गएको सन्दर्भमा नेपालजस्ता जलवायु जोखिममा रहेका मुलुकले ठूलो मानवीय तथा आर्थिक क्षति व्यहोर्नुपरेको छ । जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य हुँदाहुँदै पनि यसको असरबाट नेपालले ठूलो क्षति बेहोर्नुपरेको यथार्थलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रभावकारी रूपमा उठाउँदै जलवायु न्याय, हानि तथा क्षतिका लागि उपलब्ध अन्तर्राष्ट्रिय संयन्त्रमार्फत नेपालले पाउनुपर्ने वित्तीय तथा प्राविधिक सहयोग सुनिश्चित गर्न सरकारले अन्तर्राष्ट्रियस्तरमा दृढतापूर्वक आवाज उठाउनु पर्दछ ।
साथै, भविष्यमा यस्ता विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न प्रभावकारी पूर्वसूचना प्रणाली, जोखिमयुक्त बस्तीको व्यवस्थापन, नदी–खोलाको प्राकृतिक बहाव क्षेत्रको संरक्षण तथा विपद् पूर्वतयारी र उद्धार संयन्त्रलाई सुदृढ बनाउन राज्यले दीर्घकालीन नीति तथा योजना अवलम्बन गर्न नेवाः देय् दबू जोडदार आग्रह गर्दछ ।
दिवंगत सम्पूर्णप्रति पुनः भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा यो असह्य पीडा सहन सक्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछौँ ।
हार्दिक श्रद्धाञ्जली ! भावपूर्ण समवेदना !!
नेपाल संवत ११४६ गुंलागा एकादशी २०८३ भदौ २२ गते सोमवाः


