काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङबीच भेटवार्ता भएको छ।
बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई नेताहरूबीच भेटवार्ता भएको हो। प्रधानमन्त्री सचिवालयले उनीहरूबीच बाढीलगायतका विषयमा कुराकानी भएको जनाएको छ।
भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै घिसिङले विशेष गरेर रसुवा बाढीपछि जलविद्युत आयोजनाका सुरुङभित्र फसेकाहरूको उद्धारका विषयमा छलफल भएको जनाए । प्रधानमन्त्री शाहले कसरी सुरुङमा फसेकाहरूको उद्धार गर्न सकिन्छ भन्दै घिसिङसँग सल्लाह मागेका थिए।
त्यस विषयमा आफूले बुझेका कुराहरू प्रधानमन्त्रीलाई बताएको र शाहले पनि आफूहरूले उद्धारमा कुनै काम बाँकी नराख्ने बताएको घिसिङले जानकारी दिए। साथै बिहीबार नै प्रधानमन्त्री शाहले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनसँग पनि भेटवार्ता गरेका थिए।


