बुध, कार्तिक १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विपद्को शोकबीच अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
विपद्को शोकबीच अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । भोटेकोशी हुँदै आएको महाविनाशकारी बाढीबाट भएको अकल्पनीय मानवीय क्षतिले देश शोकमा डुबिरहेका बेला अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरले मृतकहरूप्रति श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै नवनिर्वाचित कार्यसमितिलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरेको छ। भदौ ७ गते सम्पन्न निर्वाचनबाट निर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गर्न आयोजित कार्यक्रमको सुरुवात नै बाढीमा परी ज्यान गुमाएका सयौँ नेपाली नागरिकको स्मरणमा मौनधारणबाट गरिएको थियो। विपद्को पीडाबीच आयोजना गरिएको उक्त कार्यक्रमले संस्थागत जिम्मेवारी हस्तान्तरणसँगै मानवीय संवेदनालाई समेत केन्द्रमा राखेको थियो। कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको थियो। पहिलो चरणको कार्यक्रम प्रमुख निर्वाचन अधिकृत अधिवक्ता कुमारराज कार्कीले सञ्चालन गरेका थिए। सो अवसरमा निर्वाचनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने निवर्तमान अध्यक्ष राजेन्द्र के.सी.ले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई रुद्राक्षको माला लगाएर बधाई तथा शुभकामना व्यक्त गरेका थिए। त्यसपछि प्रमुख निर्वाचन अधिकृत कार्कीले नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई पद तथा जिम्मेवारीप्रति प्रतिबद्ध रहने शपथ गराएका थिए। शपथग्रहणपछि निवर्तमान अध्यक्ष राजेन्द्र के.सी.ले अध्यक्ष मन्जिला अनिल शर्मा, वरिष्ठ उपाध्यक्ष कमला ओली, उपाध्यक्ष रञ्जना निरौला, महासचिव रमेश दाहाल, सचिव खेमराज न्यौपाने र कोषाध्यक्ष कमला रिसाल पदाधिकारीलगायत सदस्यहरूमा- डीआर राई, शान्ति रिसाल, इन्दिरा ढकाल, उषा केसी, केवरा भट्टराई, देवेन्द्र पराजुली, रत्नलक्ष्मी श्रेष्ठ, राधिका गुरागाईं, सुषमा आचार्य रहेको नवनिर्वाचित कार्यसमितिलाई औपचारिक रूपमा पद हस्तान्तरण गरेका थिए । यीमध्ये दुईजना सदस्य अनुपस्थित थिए । निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै निवर्तमान अध्यक्ष के.सी.ले प्रमुख निर्वाचन अधिकृत कुमारराज कार्की तथा निर्वाचन अधिकृत रञ्जु रुषा सिग्देललाई आभारपत्र प्रदान गरेका थिए। पूर्वअध्यक्ष राधेश्याम लेकालीले समेत दुवै निर्वाचन अधिकृतलाई माला लगाएर निर्वाचन प्रक्रियालाई सफल बनाउन पुर्‍याएको योगदानप्रति आभार व्यक्त गरेका थिए। प्रतिबद्धता पूरा गर्ने अध्यक्ष शर्माको घोषणा पहिलो चरणको कार्यक्रमको अन्त्यमा नवनिर्वाचित अध्यक्ष मन्जिला अनिल शर्माले नयाँ कार्यसमितिका तर्फबाट मन्तव्य दिँदै आफूले निर्वाचनका क्रममा व्यक्त गरेका प्रतिबद्धता तथा संस्थाले गर्नुपर्ने आवश्यक कामहरूलाई प्राथमिकताका साथ अघि बढाउने घोषणा गरिन्। यसै क्रममा शर्माले अनेसास नेपाल च्याप्टरलाई जग्गा दान (भूमी दान) गर्ने घोषणा गरेकी छन् । उनले अनेसासको निर्वाचनलाई सफल बनाउन अग्रजहरूको मार्गदर्शन र सहयोगको स्मरण गर्दै आजीवन सदस्यहरू, निर्वाचन समिति तथा निर्वाचन प्रक्रियामा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण महानुभावप्रति आभार तथा धन्यवाद व्यक्त गरिन्। शर्माले नयाँ कार्यसमितिले संस्थाको उद्देश्य, गरिमा र विगतका सकारात्मक कार्यलाई निरन्तरता दिँदै थप रचनात्मक तथा प्रभावकारी गतिविधि अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन्। अग्रज साहित्यकारको उपस्थितिमा दोस्रो चरण पहिलो चरणको औपचारिक पद हस्तान्तरणपछि कार्यक्रमको दोस्रो चरण सुरु भएको थियो। अनेसास नेपाल च्याप्टरका महासचिव रमेश दाहालले सञ्चालन गरेको दोस्रो चरणको कार्यक्रमको सभापतित्व निवर्तमान अध्यक्ष राजेन्द्र के.सी. ले गरेका थिए। कार्यक्रममा पूर्वसल्लाहकार प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल प्रमुख अतिथिका रूपमा उपस्थित थिए। त्यसैगरी पूर्वअध्यक्ष राधेश्याम लेकाली, पूर्वसल्लाहकार प्रतीक ढकाल, अनेसास केन्द्रीय सचिव ऋषभदेव घिमिरे, अनेसास बोर्ड अफ ट्रस्टीका कोषाध्यक्ष नेत्रबन्धु पोखरेल, पूर्वउपाध्यक्ष रेनुका सोलु, अनेसास पुरस्कार समितिका सदस्य तथा नेपाल च्याप्टरकी पूर्वअध्यक्ष सन्ध्या पहाडी, च्याप्टरका सल्लाहकार प्रा.डा. रामप्रसाद दाहाल र साहित्यकार महेश पौड्याल विशेष अतिथिका रूपमा मञ्चासीन थिए। कार्यक्रममा प्रमुख अतिथि तथा मञ्चासीन विशेष अतिथिहरूले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। वक्ताहरूले अनेसास नेपाल च्याप्टरको विगतको योगदानलाई निरन्तरता दिँदै नयाँ कार्यसमितिले नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनमा थप प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरेका थिए। अनुभव हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष के.सी. कार्यक्रमको समापन गर्दै निवर्तमान अध्यक्ष राजेन्द्र के.सी.ले आफ्नो कार्यकालमा अनेसास नेपाल च्याप्टरबाट भएका विभिन्न गतिविधि, उपलब्धि तथा प्रगतिका कामहरूबारे प्रकाश पारे। उनले संस्था सञ्चालनका क्रममा आइपरेका विभिन्न कठिनाइ, चुनौती तथा सहजताका विषयमा आफ्ना अनुभवहरू समेत साझा गरे। आफ्नो अनुभव नयाँ कार्यसमितिका लागि उपयोगी हुने विश्वास व्यक्त गर्दै के.सी.ले नयाँ कार्यकालका लागि निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू संस्था सञ्चालनका लागि सक्षम, योग्य र अनुभवी रहेको बताए। उनले विगतमा सुरु गरिएका सकारात्मक कार्यक्रमहरूलाई निरन्तरता दिँदै नयाँ कार्यसमितिले थप ऐतिहासिक तथा उदाहरणीय काम गर्ने विश्वाससमेत व्यक्त गरे। मन्तव्यकै क्रममा के.सी.ले आफूले सभापतित्व गरिरहेको स्थानबाट नवनिर्वाचित अध्यक्ष मन्जिला अनिल शर्मालाई अध्यक्षको आसनमा पदस्थापन गराउँदै आफ्नो कार्यकालको औपचारिक समापन गरेका थिए। यससँगै अनेसास नेपाल च्याप्टरको नेतृत्व औपचारिक रूपमा नयाँ कार्यसमितिले सम्हालेको हो। विपद्को घडीमा संस्थागत जिम्मेवारी काठमाडौंमा बसोबास गर्ने अनेसासका आजीवन सदस्य, साहित्यकार तथा विभिन्न क्षेत्रका उल्लेख्य व्यक्तित्वहरूको उल्लेख्य उपस्थितिमा सम्पन्न पद हस्तान्तरण कार्यक्रमपछि नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकसमेत बसेको थियो। भोटेकोशी बाढीबाट उत्पन्न विषम परिस्थितिका कारण राहत संकलनलगायत मानवीय सहयोगका कार्य तत्काल अघि बढाउनुपर्ने अवस्था रहेकाले संस्थाको नियमित कार्य सञ्चालन तथा आकस्मिक निर्णय गर्न बाटो खुला गर्ने उद्देश्यले पनि यस समयमा पद हस्तान्तरण कार्यक्रम आयोजना गरिएको अनेसास नेपाल च्याप्टरका महासचिव रमेश दाहालले जानकारी दिए। दाहालका अनुसार निवर्तमान कार्यसमितिले विधानतः नयाँ निर्णय गर्न नमिल्ने र नवनिर्वाचित कार्यसमितिले औपचारिक रूपमा जिम्मेवारी नसम्हालिसकेको अवस्थामा संस्थाका नियमित गतिविधि तथा विपद्का बेला गर्नुपर्ने आकस्मिक निर्णय प्रभावित हुन सक्ने भएकाले विषम परिस्थितिका बाबजुद पद हस्तान्तरणलाई अघि बढाइएको हो। मानवीय संवेदनाको यो कठिन घडीमा शोकलाई आत्मसात् गर्दै संस्थागत जिम्मेवारीको नयाँ अध्याय सुरु गरेको अनेसास नेपाल च्याप्टरले अब राहत तथा सहयोगका गतिविधिसँगै नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनका नियमित कार्यक्रमलाई समेत निरन्तरता दिने जनाएको छ। यसरी बाढीको पीडाले देश शोकमा रहेका बेला श्रद्धाञ्जलि र समवेदनाबाट सुरु भएको अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण कार्यक्रम नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिँदै संस्थाको आगामी यात्राका लागि नयाँ ऊर्जा र प्रतिबद्धतासहित सम्पन्न भएको छ।

यो पनि पढ्नुहोस्

पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

४ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

अति भारी वर्षा हुनसक्ने सतर्कता अपनाउन अनुरोध

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक