काठमाडौं । बागमती प्रदेश सरकारले विपद् प्रभावित रसुवा, नुवाकोट, धादिङ र चितवनका स्थानीय तहलाई राहत तथा उद्धारका लागि ३ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
आइतबार एमाले पार्टी कार्यलयमा आयोजित कार्यक्रममा वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले ३ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए।
मुख्यमन्त्री थापाका अनुसार रसुवाका चार पालिकालाई स्थानीय विपद् व्यवस्थापन समितिमार्फत १ करोड रुपैयाँ छुट्याइएको छ ।
यस्तै नुवाकोटलाई १ करोड, धादिङलाई ५० लाख र चितवनलाई ५० लाख रुपैयाँ प्रदेश विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराउने निर्णय गरिएको उनले जानकारी दिए।
विपद्का कारण मृत्यु भएका व्यक्तिको अन्त्येष्टिका लागि प्रदेश सरकारले प्रतिमृतक २५ हजार रुपैयाँ दिने निर्णय समेत गरेको मुख्यमन्त्री थापाले जानकारी दिए।
उक्त रकम सम्बन्धित पालिकामार्फत मृतकका परिवारलाई उपलब्ध गराइने उनले जनाए ।
मुख्यमन्त्री थापाले विपद्का कारण प्रभावित क्षेत्रमा खाद्यान्न तथा अस्थायी आवासको समस्या देखिएका स्थानमा प्रदेश सरकारले खर्च बेहोर्ने गरी काम शुरु गरिसकेको पनि जानकारी दिए।
उनले भने, ‘जहाँजहाँ रासनको समस्या छ, जहाँजहाँ सेल्टरहरू बसेका छन्, त्यो सेल्टरहरूमा खाने र अस्थायी बसोवासको लागि जति लाग्ने खर्च प्रदेश सरकारबाट बेहोर्ने भनेर हामीले शुरुवात गरेका छौँ । हामीले स्थानीय तहसँग समन्वय गरेर, स्थानीय तहका जनप्रतिनिधिहरूसँग समन्वय गरेर, सहकार्य गरेर कामलाई अगाडि बढाएका छौँ ।’
प्रदेश सरकारले राहत तथा पुनःस्थापनाका काम स्थानीय तहसँग समन्वय र सहकार्य गरेर अघि बढाइरहेको मुख्यमन्त्री थापाको भनाइ छ । प्रभावित क्षेत्रमा प्रदेश सरकारको उपस्थिति देखिने गरी तत्कालीन राहतका कामलाई प्राथमिकता दिइएको उनले जनाए।
उनले संघीय सरकारले रसुवा वाढी पीडितको लागि राहत सामग्री संकलन गरेपनि प्रभावित क्षेत्रमा पुर्याउन नसकेको आरोप पनि लगाए।
संघीय सरकारले राहत नेपाली सेनाको नुवाकोटको बट्टारस्थित ब्यारेक र रसुवाको धुन्चेस्थित ब्यारेकमा संकलन गरेर राखेको उनले बताए। उनले संघीय सरकारले स्थानीय र प्रदेश सरकारलाई बेवस्ता गर्दा प्रभावकारी ढंगले राहत वितरण तथा उद्धारको काम हुन नसकेको उल्लेख गरे।
उनले प्रधानमन्त्री कार्यालयमा आइतबार भएको छलफलपछि राहत सामग्री प्रभावित क्षेत्रमा वितरण गर्ने जिम्मेवारी वाग्मती सरकारलाई दिएको जानकारी दिए। अब प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरेर राहत सामग्री वितरण गर्ने उनले जनाए ।


