काठमाडौं । विनाशकारी बाढी र पहिरोबाट प्रभावित नेपाललाई श्रीलंकाले १० लाख अमेरिकी डलर मानवीय सहायता प्रदान गर्ने घोषणा गरेको छ।
श्रीलंकाको वैदेशिक रोजगार तथा पर्यटन मन्त्रालयले २७ अगस्ट २०२६ मा एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।
राष्ट्रपति दिसानायकेले विपद्का कारण भएको ज्यानको क्षति र पीडाप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउनेका परिवार, नेपाल सरकार र नेपाली जनताप्रति श्रीलंकाको तर्फबाट हार्दिक समवेदना प्रकट गरेका छन्।
नेपाल र श्रीलंकाबीचको लामो र घनिष्ठ मित्रता तथा ऐक्यबद्धताको स्मरण गर्दै राष्ट्रपतिले यस सङ्कटको घडीमा श्रीलंका नेपाली जनताको साथमा दृढतापूर्वक उभिएको बताएका छन्।
यो आर्थिक सहयोग बाढी र पहिरोबाट प्रभावित समुदायको तत्काल राहत र मानवीय सहायताका लागि उपयोग गरिने विज्ञप्तिमा उल्लेख छ।
यसैगरी, श्रीलंकाका विदेशमन्त्री विजिथा हेराथले नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग टेलिफोन कुराकानी गरेका छन्। वार्ताका क्रममा मन्त्री हेराथले नेपालप्रतिको समवेदना, निरन्तर समर्थन र ऐक्यबद्धता प्रकट गरेको मन्त्रालयले जनाएको छ।


