काठमाडौं । प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै सरकारले भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न निर्देशन दिएको छ ।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयसम्बन्धी ऐनबाट प्राप्त अधिकार प्रयोग गर्दै सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूलाई यस्तो निर्देशन दिएका हुन् ।
मन्त्रीको निर्देशनअनुसार भदौ १३ गतेदेखि सञ्चालन हुने सबै परीक्षा स्थगित गर्नुपर्ने छ । स्थगित परीक्षाको संशोधित तालिका उपयुक्त समयमा सार्वजनिक गर्न पनि विश्वविद्यालयहरूलाई भनिएको छ ।
त्यस्तै, भदौ १२ गते निर्धारित परीक्षामा विभिन्न कारणले सहभागी हुन नसकेका परीक्षार्थीका लागि उपयुक्त समयमा पुन: परीक्षा सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।
मन्त्री पोखरेलले अत्यावश्यक बाहेकका भेला, गोष्ठी, सेमिनार, सभा तथा अन्य सामूहिक कार्यक्रमसमेत स्थगित गर्न विश्वविद्यालयहरूलाई अनुरोध गरेका छन् ।
विपद्बाट प्रभावित विद्यार्थी तथा अभिभावकसँग विश्वविद्यालय र सम्बन्धित शैक्षिक संस्थामार्फत निरन्तर सम्पर्क तथा समन्वय गरी आवश्यक सहयोग र सहजीकरण गर्न पनि निर्देशन दिइएको छ ।
त्यसैगरी, प्रभावित विद्यार्थी तथा आवश्यकताअनुसार अभिभावकका लागि मनोसामाजिक परामर्शको व्यवस्था गर्न र विपद्का कारण अध्ययनमा परेको असरलाई ध्यानमा राख्दै विद्यार्थीको शैक्षिक निरन्तरता तथा सहजीकरणका लागि आवश्यक व्यवस्था मिलाउन भनिएको छ ।
वर्तमान संवेदनशील परिस्थितिलाई ध्यानमा राखी यी व्यवस्थाहरू तत्काल कार्यान्वयन गर्न आवश्यक निर्णय लिन मन्त्री पोखरेलले विश्वविद्यालयका पदाधिकारीलाई आग्रह गरेका छन् ।
उनले विपद्को कठिन समयमा विश्वविद्यालय परिवारका विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीको सुरक्षा र हितलाई सर्वोच्च प्राथमिकता दिई आवश्यक निर्णय लिनसमेत आग्रह गरेका छन् ।


