काठमाडौँ । बुधबार बिहान साढे ८ देखि पौने ९ बजेको बीचमा हुनुपर्छ । हामी टिमुरे भन्सार कार्यालयमा थियौं । म कार्यालय गइसकेको थिएँ । एकाएक भुइँचालो आएजस्तो महसुस भयो, सबैजना आत्तियौं । अनि बाहिर निस्किएको त गड्याङ र गुडुङ गर्दै ठूलो आवाज आयो। केही सोच्न पनि नपाउँदै ज्वालामुखी विस्फोटको शैलीमा माथिबाट बाढी आएको देख्यौं ।
त्यो बाढी अफिसको नजिक आइसकेका थियो, हामी चिच्याउदै भागाभाग ग¥यौं । हामी निकै चिच्याउदै सबैलाई निस्कन भन्यौं । त्यसक्रममा कोही साथी निस्कनुभयो, कोही साथीहरू निस्कन भ्याउनुभएन । बजारका प्रायः मानिसहरू निस्कन भ्याउनुभएन ।
हाम्रो अफिस भएको ठाँउ नै टिमुरे बजार हो। अहिले केही पनि बाँकी छैन । हाम्रो कार्यालयमा ३०÷४० जना साथीहरू थियौं । कोही सम्पर्कमा हुनुहुन्छ, कोही सम्पर्कमा आउनुभएको छैन । अहिले कसैको पनि फोन लागेको छैन ।
मैले सम्पर्क गर्दा अर्को साथीको फोन लागेको छैन, उहाँले गर्दा मेरो पनि नलागेको होला । हामी करिव १५÷२० जना मात्रै आपसमा सम्पर्कमा छौं, अरू कता हुनुहुन्छ, थाह छैन । सम्पर्कको प्रयास गर्दा बारम्बार अन्तबाट फोन आएर ‘डिस्टर्ब’ भएको छ ।
अहिले हामी बजारबाट माथि जंगलतिर बसेर सुरक्षित रूपमा बसेका छौं । कोही उद्धार टोलीलाई भेटेका छैनौं । अहिले खोलामा पानीको मात्रा घटेको छ । हामी फेरि तल बजारमा झर्न र अरुलाई खोज्न सम्भव नै छैन, किनभने सबै तहसनहस भएको छ ।
हामीहरू मध्येबाट कोही रेस्क्यू गर्न जाने र खोज्ने सम्भावना नै छैन । हामी भेटिएका कर्मचारीहरू, यहाँका केही गाँउलेहरू एकै ठाँउमा छौं । करिब ४०÷५० जनाको समूह छ । टिमुरे बजार केही पनि जोगिएको छैन । माथितिर के भयो, तर के हाल छ ? हामीलाई केही पनि थाह छैन ।
रसुवा बाढीका कारण रसुवा र नुवाकोट जिल्लामा सञ्चालित र निर्माणाधीन गरी १५ वटा जलविद्युत् आयोजनाहरूमा ठुलो क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानले दिएको प्रारम्भिक विवरण अनुसार बाढीबाट ७५३ मेगावाट क्षमताका आयोजनाहरू प्रभावित भएका छन्। क्षति पुगेका आयोजनाहरूमध्ये ३५९ मेगावाट क्षमताका १० वटा सञ्चालनमा रहेका आयोजना छन् भने ३९४ मेगावाट क्षमताका ५ वटा निर्माणाधीन आयोजनाहरू रहेका छन्। रसुवा जिल्लाका प्रमुख जलविद्युत् आयोजनाहरू बाढीको चपेटामा परेका छन्। विवरण अनुसार सञ्चालनमा रहेका ५ वटा आयोजना २३६ मेगावाट र निर्माणाधीन ३ वटा आयोजना कुल ३४२ मेगावाटमा क्षति पुगेको छ ।
ट्रमा सेन्टरको चिकित्सकको टोली रसुवा हिँड्यो भोटेकोसीमा आएको भीषण बाढीपछिको विपद् व्यवस्थापन, उद्धार तथा घाइतेहरूको द्रुत उपचारका लागि ट्रमा सेन्टरको एउटा टोली रसुवा गएको छ । घाइतेहरूको द्रुत उपचारका लागि ट्रमा सेन्टरको एउटा टोली हेलीमार्फत रसुवा गएको हो। घाइतेहरूको उपचार गर्न १०० ओटा बेड तयारी अवस्थामा राखिएको छ ।
काठमाडौँका ट्रमा सेन्टर पाटन, सिभिल, वीर, टिचिङ र पुलिस अस्पताललाई तयारी अवस्थामा राखिएको छ ।राष्ट्रिय ट्रमा सेन्टरबाट खटिएका टोली सदस्यहरूमा डा. विवेक भण्डारी, डा. राकेश मिश्र, डा. सुरेन्द्र महर्जन, डा. अविनाश कार्की, डा. विप्लव शर्मा, डा. सुदीप कोइराला, स्टाफ नर्स साधना भट्टराई र स्टाफ नर्स सरस्वती लामा रहेका छन्।
प्राधिकरणकी उपसचिव एवं प्रवक्ता शान्ति महतले यो जानकारी चीनबाट अनौपचारिक रूपमा आएको र यसबारे थप बुझ्ने प्रयास भइरहेको बताएकी छन्। उनले त्यो क्षेत्रमा रहेका प्राविधिकहरूको प्रारम्भिक अध्ययनले तिब्बतको हिमपहिरोलाई नै बाढीको मुख्य कारण देखाएको र यसमा थप अनुसन्धान जारी रहेको स्पष्ट पारेकी छन्।
विपद्को समयमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता
भोटेकोसी नदीमा आएको बाढीले निम्त्याएको विपद्को समयमा विपक्षी दलका नेताले सरकारलाई सघाउने प्रतिबद्धता व्यक्त गरे। प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा प्रतिनिधिसभाका विपक्षी दलका नेता भीष्मराज आङ्दाम्वेले यस्तो प्रतिबद्धता जनाए । बैठकमा बोल्दै नेता आङ्दाम्वेले सरकारले तत्कालै क्रियाशीलता देखाएकोमा धन्यवाद दिए । उनले पक्ष(विपक्षभन्दा पनि सङ्कटको घडीमा सबै एकजुट भएर लाग्नुपर्ने बताए ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकमा बाढीले अहिलेसम्म पु¥याएको क्षतिको विवरणबारे ब्रिफिङ गरिएको थियो। प्रधानमन्त्री शाहले उद्धार तथा राहत कार्यमा सक्रिय भएर जुट्न सरोकारवाला सबैलाई निर्देशन दिए ।
बाढीग्र स्त क्षेत्रका जनतालाई टेलिकमद्वारा राहत नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीका लागि दुई दिनको भ्वाइस कल निःशुल्क गर्ने भएको छ । टेलिकमका अनुसार प्रभावित क्षेत्रका सेवाग्राहीले दुई दिनसम्म निःशुल्क भ्वाइस कलसँगै प्रतिदिन २ जीबी डाटा र ५० वटा एसएमएससमेत निःशुल्क पाउनेछन्। बाढी प्रभावित क्षेत्रका नागरिकलाई सावधानी अपनाउन आग्रह गर्दै टेलिकमले एसएमएसमार्फत सचेत गराइरहेको छ । साथै, सेवाग्राहीलाई आवश्यक सूचना प्रवाह गर्न सचेतनामूलक रिङब्याक टोनसमेत बजाइरहेको जनाएको छ । धादिङ सदरमुकाम जोड्ने पुल बाढीले बगायो रसुवा हुँदै त्रिशुली नदीमा आएको बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगाएको छ । पृथ्वी राजमार्गबाट धादिङतर्फ जाने त्रिशूली नदीमाथिको उक्त पुल बाढीले बगाएपछि यातायात आवागमन प्रभावित भएको छ । गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बाढीले पुल बगाएको पुष्टि गरे।
गोसाईंकुण्ड हिँडेको ११ जनाको टोली बाढीमा फस्यो
गोसाईंकुण्ड हिँडेको ११ जनाको टोली नुवाकोटको विदुर नगरपालिका–१ सिम्मुटारमा बाढीका कारण फसेको छ । उनीहरूका आफन्त पूर्ण खड्काका अनुसार टोली चढेको गाडी बाढीले बगाएपछि उनीहरू भागेर सुरक्षित स्थानमा पुगेका थिए । यसअघि सम्पर्क भए पनि अहिले टोलीसँग राम्रोसँग सम्पर्क हुन नसकेको उनले बताएका छन्। टोलीमा अप्सरा खड्का, प्रमिला श्रेष्ठ, टुनेबहादुर राउत, गेयल विष्ट, असोका राउतलगायत ११ जना रहेको जनाइएको छ । टोलीको उद्धारका लागि सम्बन्धित निकायमा जानकारी गराइसकिएको छ ।
प्रभावित क्षाेत्रमा चिकित्सक टाेली परिचालन
भोटेकोसीमा आएको भीषण बाढीपछिको विपद् व्यवस्थापन, उद्धार तथा घाइतेहरूको द्रुत उपचारका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्ना संयन्त्रहरूलाई पूर्ण रूपमा सक्रिय बनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई एक्टिभेट गरी उच्चस्तरीय छलफल र अस्पतालहरूसँगको समन्वयलाई तीव्रता दिइएको छ । बाढी प्रभावित क्षेत्रमा हुनसक्ने स्वास्थ्य जटिलतालाई ध्यानमा राख्दै स्थानीय तथा केन्द्रीय स्तरका स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा राखिएको छ । बाढी प्रभावित क्षेत्रमा तत्काल आपत्कालीन स्वास्थ्य सेवा पुर्याउन राष्ट्रिय ट्रमा सेन्टरका ६ जना चिकित्सक सम्मिलित ुइमरजेन्सी मेडिकल टिमु गठन गरी त्रिभुवन विमानस्थल पठाइसकिएको छ । उक्त विशेषज्ञ टोलीलाई हवाई मार्गमार्फत प्रभावित क्षेत्र रसुवातर्फ पठाउने तयारी भइरहेको छ ।
मन्त्री महावीर पुनले दिए ८ बुँदामा
जानकारी विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले रसुवाको भोटेकोसी बाढीबारे जानकारी गराएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत रसुवामा आएको बाढीबारे आठ वटा बुँदामा जानकारी गराएका हुन्।
राहत, उद्धार र खोजीमा निजी हेलिकप्टर परिचालन गर्न अनुमति नचाहिने
बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा खोजी कार्यका लागि निजी हेलिकप्टर परिचालन गर्न छुट्टै अनुमति लिनु नपर्ने निर्णय गरिएको छ । बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिन निजी हेलिकप्टरलाई सहज रूपमा परिचालन गर्ने व्यवस्था गरिएको हो।
यसैबीच, राहत, उद्धार तथा खोजीमा परिचालन हुने हेलिकप्टरमा इन्धन भर्न नुवाकोटको त्रिशूलीमा हवाई इन्धनसहितको ट्यांकर पठाइएको छ । नेपाल आयल निगमले काठमाडौंस्थित डिपोबाट तत्काल इन्धन ट्यांकर त्रिशूलीतर्फ परिचालन गरेको हो।
मलेखु बजार पुग्यो विनाशकारी बाढी
रसुवा हुँदै त्रिशुली नदीमा आएको बाढी मलेखु बजार आसपास पुगेको छ । बाढी पूर्वानुमान महाशाखाले बाढी अबको करिब आधा घण्टामा मुग्लिन पार गर्ने क्रममा रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाले भदौ १० गते बिहान ११ः५० बजे एसएमएस अलर्ट जारी गर्दै पृथ्वी राजमार्ग, मुग्लिन, नारायणगढलगायत त्रिशूली नदी आसपासका बस्ती तथा बजार क्षेत्र खाली गर्न अनुरोध गरेको छ ।
बाढीको जोखिम रहेका नदी छेउछाउका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा जान तथा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
१६ जना प्रहरी कर्मचारी सम्पर्कविहीन
चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलाको बाढी भोटेकोसीमा मिसिँदा रसुवामा ठुलो भौतिक क्षति भएको छ । रसुवाको टिमुरे बजार र नुवाकोटको त्रिशूली बजारमा रहेको घरहरू बाढीले बगाएको छ ।
रसुवास्थित नेपाल–चीन सिमाना स्थित रसुवागढी प्रहरी चौकीमा कार्यरत प्रहरीहरू सम्पर्कविहीन भएका छन्। रसुवागढी हुँदै टिमुरे क्षेत्रका ३ वटा प्रहरी युनिटमा कार्यरत १६ जना प्रहरी सम्पर्कबिहिन् भएको बागमती प्रदेशका डीआईजी दीपक रेग्मीले रातोपाटीलाई बताए ।
प्रहरी चौकी रसुवागढीमा असईको कमान्डमा ९ जना प्रहरी कार्यरत थिए । प्रहरी चौकी स्याफ्रुवेशीमा पनि असईको कमान्डमा ९ जना प्रहरी कर्मचारी कार्यरत थिए । इलाका प्रहरी कार्यालय टिमुरेमा इन्स्पेक्टरको नेतृत्वमा प्रहरी कर्मचारी कार्यरत छन्।
रसुवा बाढीले बैंकका शाखा पनि बगायो
बुधबार बिहान भोटेकोसीमा आएको बाढीले बस्ती नै बगाउँदा बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालय पनि बगाएको छ ।
नेपाल बैंकर्स संघका अनुसार धेरै बैकका शाखाहरूमा क्षति पुगेको छ । तर फोन सम्पर्क नहुँदा यकिन विवरण सङ्कलनमा समस्या भएको छ । बैँकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बाढी आएको थाहा भएसँगै बिहान बैंकर्स संघको आकस्मिक बैठक बसेर सबै विवरण सङ्कलन र उद्धारको विषयमा छलफल भएको बताए ।
उनका अनुसार बैठकले उद्धारका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय गरेको छ । उनले भने,‘ उद्धारका सरकारसँग अनुरोध गरिसकेका छौँ । बैंकका कुनै पनि कर्मचारी सम्पर्कमा छैनन्। टेलिफोन अवरुद्ध भएकाले क्षतिको विवरण सङ्कलन गर्न कठिन भएको छ । संघले सम्पर्क भएसम्म विवरण लिइरहेका छौँ ।’
नेपाली राष्ट्रिय टी–२० क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले देशका विभिन्न क्षेत्रमा आएको बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत बाढीपहिरोका कारण जोखिममा रहेका सर्वसाधारणलाई सतर्क र सुरक्षित रहन आग्रह गरेका हुन्।
दीपेन्द्रले रसुवातर्फ भोटेकोसीमा आएको ठूलो बाढी र त्यसबाट निम्तिन सक्ने जोखिमलाई मध्यनजर गर्दै त्रिशूली आसपासका विशेषगरी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सचेत रहन आग्रह गरेका छन्।
उनले लेखेका छन्– ‘देशका विभिन्न क्षेत्रमा आएको बाढीपहिरोको खबरले मन निकै दुःखी बनाएको छ । रसुवातर्फ भोटेकोसीमा आएको ठूलो बाढी र त्यसले निम्त्याउन सक्ने जोखिमलाई मध्यनजर गर्दै त्रिशूली आसपास विशेषगरी तटीय क्षेत्रमा रहनुभएका सबैमा सचेत र सुरक्षित रहन हार्दिक अनुरोध गर्दछु। देशको यो कठिन घडीमा हामी सबै एकजुट भएर अघि बढौँ । सतर्क रहौँ, सुरक्षित रहौँ ।’
तिब्बतमा हिमताल फुटेको आशङ्का
तिब्बततर्फ माथिल्लो क्षेत्रमा हिमताल फुटेपछि आएको बाढीका कारण भोटेकोसी नदीमा बुधबार बिहान एक्कासि जलसतह बढेको आशङ्का गरिएको छ । बाढीले रसुवाका विभिन्न क्षेत्रमा ठुलो क्षति पु¥याएको छ भने त्रिशूली नदी आसपासका बस्तीमा समेत जोखिम बढेको छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बाढी आएको समयमा जिल्लाको सदरमुकाम क्षेत्रमा वर्षा भएको थिएन । त्यसैले बाढी माथिल्लो क्षेत्रमा भएको कुनै प्राकृतिक घटनाका कारण आएको हुन सक्ने अनुमान गरिएको छ । प्रारम्भिक रूपमा तिब्बत क्षेत्रमा हिमताल फुटेको हुन सक्ने आशङ्का गरिएको हो।
रसुवा बाढीपछि एपीएफ अस्पतालमा १ सय बेड तयारी अवस्थामा
रसुवा बाढीको सम्भावित प्रभावलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले उद्धार तथा स्वास्थ्य उपचारका लागि आवश्यक तयारी थालेको छ ।
सशस्त्र प्रहरी बल नेपालका अनुसार नेपाल एपीएफ अस्पतालमा १ सय बेड र स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा राखिएको छ ।
त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल दंगा नियन्त्रण रेजिमेन्ट कीर्तिपुरबाट तीन प्लाटुन सुरक्षाकर्मीलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तयारी अवस्थामा राखिएको छ ।
बाढीबारे संसद्मा गृहमन्त्रीले जानकारी गराउने तयारी
प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री सुधन गुरुङले रसुवाको बाढीबारे जानकारी गराउने गरी तयारी भइरहेको सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार आज संक्षिप्त बैठक बस्ने र गृहमन्त्रीले हालै घटेका घटनाका सम्बन्धमा सदनलाई आधिकारिक जानकारी गराउने गरी आन्तरिक तयारी भइरहेको छ ।
आजको बैठकमा गृहमन्त्रीको ब्रिफिङबाहेक अन्य कार्यसूचीका विषयलाई अगाडि बढाउने वा नबढाउने भन्नेबारे अझै छलफल भइरहेको प्रवक्ता गिरीले बताए ।
प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची छ । सबै विषय छलफलका क्रममा रहेको र निर्णय भइनसकेको प्रवक्ता गिरीले बताए ।
त्रिशूलीमा बाढीले नाघ्यो खतराको तह
रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण त्रिशूली नदीमा जलसतह खतराको तहभन्दा माथि पुगेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार मलेखुस्थित फुर्के जलमापन केन्द्रमा त्रिशूली नदीको जलसतहले खतराको तह पार गरिसकेको छ र यो अझै तीव्र रूपमा बढ्दो क्रममा रहेको छ ।
नदीमा पानीको बहाव खतरनाक रूपमा बढेपछि महाशाखाले तटीय तथा डुबान जोखिम क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान अपिल गरेको छ । भदौ १० गते बिहान ११ ः ४३ बजे महाशाखाले चेतावनी जारी गर्दै भनेको छ, ‘रसुवा भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली नदी फुर्के जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको छ ।’
सशस्त्र प्रहरीको ठूलो संख्यामा टोली परिचालन
चीनबाट रसुवा हुँदै आएको बाढी तथा विपद् प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्र बनाउन सशस्त्र प्रहरी बल नेपालले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार प्रभावित क्षेत्रहरूमा विभिन्न युनिटबाट टोलीहरू खटिएका छन्।
उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १९ गुल्म नुवाकोट, युएन शान्ति स्थापना तालिम शिक्षालय ककनी, धादिङ गुल्म, विपद् व्यवस्थापन बेस आदमघाट र नं. १७ गण चितवनबाट सुरक्षाकर्मीहरू प्रभावित क्षेत्रमा पुगेका छन्। बाढी र डुबानमा परेका नागरिकको खोजी तथा सुरक्षित स्थानान्तरणका लागि यी टोलीहरूले सक्रियतापूर्वक काम गरिरहेको प्रवक्ता थापाले जानकारी दिए ।
प ्रध ा न मन् त्र ी द्व ा र ा अ ा क िस् म क मन्त्रिपरिषद् बैठक आह्वान
प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरमा बैठक बस्न लागेको हो।
रसुवास्थित भोटेकोसी र त्रिशूली नदीमा तिब्बततर्फबाट आएको भीषण बाढीका कारण उत्पन्न सङ्कट र तटीय क्षेत्रमा बढेको जोखिमका बारेमा छलफल गर्न प्रधानमन्त्रीले यो आकस्मिक बैठक आह्वान गरेका हुन्। बैठकमा बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र क्षति न्यूनीकरणका लागि राज्यका सम्पूर्ण सुरक्षा निकाय तथा सरकारी संयन्त्रहरूलाई प्रभावकारी रूपमा परिचालन गर्ने विषयमा महत्त्वपूर्ण निर्णय गर्ने तयारी छ ।
हिजो भदौ १० गते बिहानदेखि आएको अप्रत्याशित बाढीले रसुवा र नुवाकोटमा क्षति पु¥याएको र यसको असर चितवनसम्म पर्न सक्ने बाढी पूर्वानुमान शाखाको चेतावनीपछि सरकारले उच्च सतर्कता अपनाउन यो कदम चालेको हो। बैठकले विपद् व्यवस्थापनका लागि आवश्यक थप रणनीति तय गर्ने अपेक्षा गरिएको छ ।
नेपाली सेनाका ३ वटा हेलिकप्टर उद्धारका लागि टोली खटाइयो
तिब्बतमा हिमपहिरो जाँदा रसुवा भोटेकोशीमा बाढीमा स्वास्थ्यकर्मीसहित नेपाली सेनाका ३ वटा हेलिकप्टर उद्धारका लागि खटाइएको छ ।
बुधबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठकमा उद्धारका लागि सम्बन्धित सबै निकायलाई तयारी अवस्थामा बस्न समेत निर्देशन दिइएको छ ।
स्वास्थ्यकर्मीसहित नेपाली सेनाका ३ वटा हेलिकप्टर उद्धारका लागि खटाइएको र निजी क्षेत्रका ३४ वटा हेलिकप्टरलाई अन्यत्र नजान निर्देशन दिइएको छ भने ड्रोन एसोसिएसन र ¥याफ्टिङ एसोसिएसनलाई तयारी अवस्थामा परिचालन गरिएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन्।
चार सशस्त्र प्रहरी सम्पर्कविहीन
चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलाको बाढीका कारण रसुवा स्थित बोर्डर आउटपोस्टमा कार्यरत ४ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन्। बीओपी टिमुरेमा बाढी पसेको छ ।
टिमुरेमा कार्यरत ४ जना सुरक्षाकर्मी सम्पर्क विहीन भएको सशस्त्र प्रहरीका प्रवक्ता (डीआईजी) नेत्र बहादुर कार्कीले रातोपाटीलाई बताए । उनले भने, ‘सम्पर्क विहीन भएकाहरूसँग सम्पर्क गर्ने प्रयास भइरहेको छ ।’
उद्धारका लागि सशस्त्र प्रहरीको एक प्लाटुन फौज नुवाकोटतर्फ पठाइएको छ । स्थलमार्गबाट एक प्लाटुन फौज नुवाकोट पठाइएको डीआईजी कार्कीले बताए ।
उद्धारमा जुट्न ओलीको आग्रह
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी, जनसंगठन र स्वयंसेवकहरूलाई स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरी रसुवास्थित भोटेकोसीमा आएको बाढीबाट प्रभावितहरूको उद्धार कार्यमा जुट्न आग्रह गरेका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सामाजिक सञ्जालमार्फत पार्टी निकायलाई सहयोगका लागि तयारी अवस्थामा रहन आग्रह गर्दै उद्धारमा जुट्न आग्रह गरेका हुन्।
रसुवाको भोटेकोसी बाढीका कारण रसुवाको भोटेकोशी र त्रिशूली नदीमा पानीको बहाव बढेको छ । अध्यक्ष ओलीले रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी किनारका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न अपिल समेत गरेका छन्।
टेलिकमका ७ टावरमा क्षति, नेटवर्कमा समस्या
रसुवा र नुवाकोट लगायतका क्षेत्रमा आएको भीषण बाढीका कारण नेपाल टेलिकमको सञ्चार पूर्वाधारमा क्षति पुग्दा ती क्षेत्रको टेलिफोन तथा इन्टरनेट सेवा प्रभावित भएको छ । बाढीले टेलिकमका सातवटा टावर र अप्टिकल फाइबरमा क्षति पु¥याएको हो।
नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेका अनुसार प्रारम्भिक विवरण प्राप्त भएअनुसार रसुवामा दुईवटा र नुवाकोटमा पाँचवटा टावरमा भौतिक क्षति पुगेको छ । टावरमा पुगेको क्षतिसँगै विद्युत अवरुद्ध भएका कारण पनि धेरैजसो ठाउँमा नेटवर्कको समस्या देखिएको हो।
बाढीले टावरहरू मात्र नभई गल्छीदेखि रसुवागढीसम्मको अप्टिकल फाइबरमा पनि क्षति पु¥याएको छ । प्रवक्ता लामिछानेले भने, ’केही टावरहरूमा भौतिक क्षति पुगेको छ भने गल्छीबाट रसुवागढी तर्फको फाइबरमा पनि समस्या आएको छ । क्षतिको पूर्ण विवरण भने अझै संकलन हुने क्रममा छ ।’
उद्धार र राहत कार्य युद्धस्तरमा अघि बढाउन डा. कोइरालाको माग
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले रसुवामा आएको बाढीका कारण उत्पन्न विपद्को समयमा नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो दायित्व भएको बताएका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डा.कोइरालाले रसुवाका बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य युद्धस्तरमा अघि बढाउन सरकारको ध्यानाकर्षण गराए । उनले सङ्कटमा परेका नागरिकहरूको सारथी बन्न नेपाली कांग्रेसका सम्पूर्ण साथीहरूलाई तुरुन्तै उद्धार कार्यमा जुट्न आग्रह समेत गरे।
बाढीको बहाव अझै बढ्न सक्ने सम्भावना रहेको उल्लेख गर्दै डा.कोइरालाले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन अपिल गरे। उनले विपद्को यो घडीमा राज्यका सबै संयन्त्र र पार्टीका कार्यकर्ताहरू नागरिकको सुरक्षामा केन्द्रित हुनुपर्नेमा जोड दिए ।
प्रमद्वारा उद्धार र राहतमा खटिन निर्देशन
रसुवामा बुधबार बिहान गएको बाढीको विषयलाई लिएर प्रधानमन्त्री बालेन्द्र शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न उक्त बैठकमा बाढीले अहिलेसम्म पु¥याएको क्षतिको विवरणबारे ब्रिफिङ गरिएको छ ।
जनधन क्षतिको हिसाब नै छैन
रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नम्बर २ टिमुरेका स्थानीयहरू उद्धारको पर्खाइमा बसेका छन्। वडा सदस्य पेमा दोर्जे घलेका अनुसार अहिले टिमुरेका ३ सय बढी स्थानीयहरू उद्धारको पखाईमा रहेका छन्। टिमुरे क्षेत्रमा सबै बाढीले ध्वस्त बनाएको छ । अहिले केहि छैन यहाँ पहिलाको बस्ती र बजार । कहाँ कति क्षति भयो भन्ने स्थिति नै छैन ।
‘हेलिकप्टरबाट हुन्छ की केबाट हुन्छ हाम्रो उद्धारको लागि पहल गरिदिनुपरो। यहाँ खाना पनि छैन, लुगा पनि छैन । बिहानै अलि उचाइको समथर भूभागमा आउनेहरू बाँचेका छन्। जनधनको क्षतिको हिसाब नै छैन,’ रातोपाटीसँग घलले भने।
नुवाकोटको विदुरमा बाढीको वितण्डा
चीनको भूमि हुँदै रसुवाबाट सुरु भएको बाढीले नुवाकोटको विदुर नगरपालिकामा ठुलो भौतिक क्षति पु¥याएको छ । बाढीका कारण बुधबार नगरपालिकाका विभिन्न वडाका तटीय क्षेत्रहरू उच्च जोखिममा पर्नुका साथै भर्खरै निर्माण सम्पन्न भएका दुईवटा पक्की पुलसहित कैयौँ घरहरू बगाएको छ ।


