काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा शनिबार देशका अधिकांश भूभागमा बदली रहने र विभिन्न स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ। शनिबार बिहान देशभर सामान्यतया बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
शनिबार दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेश प्रदेशका साथै कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्ने विभागले जनाएको छ।
यसैगरी, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। शनिबार राति पनि देशभर सामान्यतया बदली रहने पूर्वानुमान छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्नेछ।
मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्ने विभागले जनाएको छ।
रातिको समयमा कोशी र बागमती प्रदेशका पहाडी तथा तराई भूभागका साथै गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
वर्षाका कारण पहाडी तथा हिमाली क्षेत्रमा पहिरो, सडक अवरुद्ध हुने तथा नदी–खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।


