काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति दुई समुदायबीच भएको झडप नियन्त्रणका क्रममा सुरक्षाकर्मीले चलाएको गोलीबाट २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि प्रहरीको बल प्रयोग र घातक हतियारको प्रयोग फेरि एकपटक प्रश्नको घेरामा परेको छ । सुरक्षा निकायले हवाई फायर भने पनि घाइते अधिकांशलाई कम्मरभन्दा माथि गोली लागेको तथ्यले बल प्रयोगको शैलीमाथि गम्भीर शंका उत्पन्न गराएको छ । यो घटनाले विगतमा पनि उठेका प्रहरीको अत्यधिक बल प्रयोगसम्बन्धी प्रश्नहरूलाई पुनः ताजा बनाएको छ ।
आइतबार दुई समूहबीच भनाभन र धकेलाधकेल भई झडपमा परिणत भयो । जिल्ला प्रशासन कार्यालय सुनसरीका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) वासुदेव घिमिरेका अनुसार इलाका प्रहरी कार्यालय देवानगञ्जका इन्स्पेक्टर राकेश राईको टोली घटनास्थल पुगेर दुवै पक्षलाई सम्झाउन खोज्दा पनि नमानी घरेलु हतियारसहित आक्रमणमा उत्रिएको दाबी सुरक्षा निकायको छ । इन्स्पेक्टर राईको टाउको फुटेपछि सशस्त्र प्रहरीको टोली पनि पुगेको र भिडबाट आक्रमण भएपछि आत्मरक्षाका लागि करिब २० राउन्ड हवाई फायर गर्नुपरेको सुरक्षा निकायको भनाइ छ । तर त्यही गोली लागेर ओमप्रकाश मेहताको ज्यान गयो भने ९ जना सर्वसाधारण घाइते भए । सुरक्षाकर्मीतर्फ नेपाल प्रहरीका १० र सशस्त्र प्रहरीका ५ गरी १५ जना घाइते भएको प्रारम्भिक विवरण छ ।
यो ठाउँ पहिलेदेखि नै सुरक्षाका हिसाबले संवेदनशील मानिन्थ्यो । चार दिनअघिदेखि नै झण्डा हटाउने र डिजेको आवाजसम्बन्धी विवाद चलिरहेको थियो । तर प्रशासनले गम्भीरतापूर्वक छलफलबाट विवाद टुंग्याउन नसक्दा रातिको दुःखद घटना भएको सुरक्षाका जानकारहरूको बुझाइ छ । घटनापछि सोमबार बिहान ७ बजेदेखि देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरियो । सडकमा नेपाली सेनाको टोली हतियारसहित उपस्थित भई माइकिङ गर्दै घरबाट बाहिर ननिस्कन आग्रह गरिरहेको छ ।
घटनाको गम्भीरता बुझेर गृह मन्त्रालयले तत्काल कारबाही गरेको छ । सीडीओ वासुदेव घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाई संखुवासभाका सीडीओ ईश्वरीप्रसाद अर्याललाई खटाइएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय तानिएको छ भने डीआईजी शेखर खनाललाई कोशी पठाइएको छ । जिल्ला प्रहरी प्रमुख एसपी केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल खटाइएको छ भने त्यहाँका एसपी पुष्पराज मल्ललाई सुनसरी पठाइएको छ । सशस्त्र प्रहरी बलका डीएसपी नन्दकिशोर महतो र एसपी श्यामकुमार कार्कीलाई पनि फिर्ता बोलाइएको छ । यसबाट गृह मन्त्रालयले घटनामा सुरक्षा निकायको कमजोरी स्वीकार गरेको संकेत मिल्छ ।
घटना छानबिनका लागि गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । समितिमा नेपाल प्रहरीका एसपी विपिन रेग्मी, सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईं, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उपसचिव शालिग्राम भण्डारी र जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछाने सदस्यसचिव छन् । समितिले एक साताभित्र प्रतिवेदन बुझाउने र यस्ता घटना दोहोरिन नदिन के गर्न सकिन्छ भन्ने पनि उल्लेख गर्ने कार्यादेश पाएको छ । राष्ट्रिय मानव अधिकार आयोगले पनि घटनाको अनुसन्धान गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन, मृतक परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेहरूको निःशुल्क उपचार गर्न सरकारलाई निर्देशन दिएको छ ।
सुनसरी–२ का प्रतिनिधिसभा सदस्य लालविक्रम थापाले घटनास्थल पुगेर सुरक्षा निकायसँग छलफल गरेपछि स्पष्ट रूपमा भनेका छन्, ‘यो घटनामा कुनै पनि हालतमा कहीं पनि गोली चलाउनुपर्ने कन्डिसन छँदैछैन ।’ घाइतेहरूको चोटका विवरणले उनको आरोपलाई बल दिएको छ । जयप्रकाश मेहताको पेट, मिथलेश यादव र मिथलेश मेहताको बायाँ कोखा, अमलेश मेहताको बायाँ काँध, अमित कुमार यादवको कोखा र कम्मर, रवीन्द्र मेहताको तिघ्रा, सुनिल कुमार मेहताको घुँडा र कुहिनामा चोट लागेको छ । अधिकांशलाई कम्मरभन्दा माथि गोली लाग्नुले हवाई फायरको दाबीमाथि प्रश्न उठाएको छ । नेपाल प्रहरीका एक पूर्वडीआईजीले समेत यसलाई बल प्रयोग शैलीमाथिको प्रश्न बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विज्ञप्ति जारी गरी घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै भनेका छन्, ‘कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट हुन सक्दैन । नेपाली समाजको सबैभन्दा ठूलो शक्ति र सौन्दर्य भनेकै हाम्रो बहुलवादी संस्कृति, आपसी एकता, सहिष्णुता र सदियौंदेखिको सामाजिक सद्भाव हो ।’ उनले घटनालाई राजनीतिकरण नगर्न आग्रह गर्दै स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीउपर कडा कारबाही गर्न तथा पीडितलाई उचित न्याय र राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । सामाजिक सद्भाव खलबल्याउने गतिविधि नगर्न आम नागरिक, नागरिक अगुवा र धार्मिक व्यक्तित्वहरूलाई अपिल गरेका छन् ।
सरकारले सेना–प्रहरी उतार्ने सजिलो बाटो समाएर मात्र पुग्दैन, त्यो तत्कालका लागि आवश्यक तर अस्थायी समाधान हो । यसका लागि सरकारले राजनीतिक पहल लिनुपर्ने, पार्टीहरू र नागरिक समाजसँग कुरा गर्नुपर्नेछ । मधेश आन्दोलनदेखि जेनजी आन्दोलनसम्म राज्यको सुरक्षा रणनीतिमाथि उठेका प्रश्नहरूलाई यो घटनाले फेरि जोड दिएको छ । सुनसरी घटनाको असर मोरङ, झापा र मधेश प्रदेशका अन्य जिल्लातिर फैलिएको अवस्थामा सतहमा सामाजिक तनाव देखिए पनि गहिरिएर समीक्षा आवश्यक छ । यो घटनाले सुरक्षा निकायको पूर्वतयारी, समन्वय र बल प्रयोगको मापदण्डमाथि गम्भीर प्रश्न उठाएको छ । संवेदनशील क्षेत्रमा चार दिनदेखि विवाद चल्दा पनि प्रभावकारी हस्तक्षेप नहुनु, राति झडप हुँदा गोलीको प्रयोग र घाइतेहरूको चोटको प्रकृतिले प्रहरीको प्रशिक्षण र नियम पालनामा कमजोरी देखाएको छ । विगतमा पनि यस्ता घटनामा हवाई फायर भनिए पनि प्रत्यक्ष निशाना लागेका उदाहरणहरू छन् । अब छानबिन समितिले निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सक्छ कि सक्दैन, त्यसले भविष्यमा यस्ता घटना रोक्न मद्दत गर्नेछ । जनधारणा साप्ताहिक


