काठमाडौं । काठमाडौं विश्वविद्यालयका उपकुलपतिका उम्मेदवारहरूले उपकुलपति छनोट प्रक्रिया स्थगन गर्न माग गरेका छन् । उनीहरूले आज शुक्रबार हुने उपकुलपति छनोट प्रक्रिया स्थगनको माग गरेका थिए।
आज छनोट प्रक्रिया पारदर्शी र मेरिटोक्रेसी (योग्यता प्रणाली) का आधारमा नभएको भन्दै प्रक्रिया रोक्न उपकुलपति छनोट सिफारिस समितिलाई आग्रह गरिएको छ ।
विश्वविद्यालयको दीर्घकालीन स्वायत्तता सुनिश्चित गर्न अब्बल नेतृत्व क्षमतायुक्त उम्मेदवारलाई उपकुलपतिमा छनोट गरिनुपर्ने उनीहरूको माग छ ।
काठमाडौं विश्वविद्यालयका उपकुलपतिका उम्मेदवार प्राडा अच्युत वाग्लेले यथार्थपरक मूल्याङ्कन नभएको बताए । वाग्लेले भने, ‘पारदर्शिता र मेरिटोक्रेसीका आधारमा नियुक्ति हुन लाग्यो भन्ने विश्वास रहेन । यथार्थपरक पुनर्मूल्याङ्कन हुनुपर्छ । कागजात मात्र नियन्त्रणमा लिएर भएन, चलखेल भएको छ । उपकुलपतिका उम्मेदवारहरूले अवधारणापत्र सार्वजनिक गर्नुपर्छ ।’
यसअघि काठमाडौं विश्वविद्यालयको उपकुलपतिको संक्षिप्त सूची (सर्टलिस्ट) मा परेका उम्मेदवार प्राडा निरञ्जन पराजुलीले नियुक्ति प्रक्रियामा निष्पक्षताको प्रश्न उठाउँदै अन्तर्वार्ता र प्रस्तुतीकरणमा सहभागी नहुने घोषणा गरेका थिए । साउन १८ गते काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि प्राप्त आवेदनहरूमध्ये १० जना उम्मेदवारको नाम संक्षिप्त सूचीमा समावेश गरी सार्वजनिक गरिएको थियो ।
‘काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८१’ बमोजिम उपकुलपति पदका लागि परेका दरखास्तहरूबाट वर्णानुक्रमअनुसार उम्मेदवारहरूको नामावली छनोट गरिएको थियो ।
छनोटमा परेका उम्मेदवारहरूमा दयाराम पोखरेल, निरञ्जन पराजुली, बालचन्द्र लुइँटेल, विकास नकर्मी, बिमप्रसाद श्रेष्ठ, राजेन्द्र जोशी, विवेक बराल, शेषानन्द सञ्जेल, सुबोध शर्मा र हरिप्रसाद न्यौपाने रहेका छन् । संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूको प्रस्तुतीकरण र अन्तर्वार्ता भोलि शिक्षा तथा खेलकुद मन्त्रालयमा हुने भएको छ ।


