—लोकनारायण सुबेदी
बिश्व इतिहासमा दोश्रो बिश्व युद्धको त्यो अन्तिम क्षण अर्थात १९४५ अगष्ट ६ र ९ का दुइ दिन मानबताका बिरुद्ध पहिलो पटक जापानमाथि बिध्वंशकारी आणबिक अस्त्र प्रयोग गरिएको दुर्दान्त र अबिस्मरणाीय दिनकोरुपमा अंकित छन् । तिनै दुइ दिन हुन् — बीसौ शताब्दीको बिश्वमा मानिसलाई आणबिक घाउ लागेको अपूर्ब क्रूरतम दिन पनि । अगष्ट ६ को त्यो भयावह, आततायी कालो दिन जुन दिन क्षणभरमै जापानको हिरोशिामा शहर खरानीमा परिणत भएको र डेढ लाख मानिस एकै चिहान बनेको दिन थियो ।
आजभन्दा ८१ बर्ष पहिला अगष्ट महिनाका ती दुइ दिन मानबताको इतिहासमा कलंक र मानबता बिरोधी त्रासद कालो दिनकोरुपमा बिश्वले देख्नु र भोग्नु परेको थियो । वास्तवमा घना मानब बस्तीमा परमाणु बम जस्तो अत्यन्तै घातक र खतरनाक हतियारको प्रयोग अमेरिकाले त्यस दिन गरेको थियो । त्यसैले ती अगष्ट ६ र ९ दिनले अमेरिका र जापान बीचको शत्रुताको चरम घृणाको दिनलाई मात्र सम्झना गराउँदैन, आणबिक तथा परमाणिबिक शस्त्रास्त्र मानब सभ्यता, सँस्कृति र मानब जातिको निमित्त कत्तिको घातक छ भन्ने कुरा पनि उजागर गर्दछन् ती दुइ दिनका घटनाले । पहिलो आणबिक बम अगष्ट ६ का दिन खसालिदा पूरै हिरोशिमा शहर त्यतिबेला तहसनहस भएर तातो खरानीमा परिणत भएको थियो । तत्काल १ लाख मानिस एकै निमेषमा कालकलबित भएका थिए भने त्यसको असरले हजारौ मानिसको मृत्यु थपिएको थियो । अनि त्यसको लगत्तै अर्थात ३ दिन पछि अगष्ट ९ दिन जापानको अर्को शहर नागाशाकीमा अर्को आणबिक बम प्रहार गरिएको थियो । त्यसमा पनि ५०औ हजार निर्दोष मानिसहरु कालकलबित भएका थिए ।
त्यस अमानबीय र कहालीलाग्दो आणबिक प्रहारयता जापानले युद्धका घाउहरु र जापानी जनताको घोर अपमानलाई पुर्दै ठूलो प्रगति गरेको छ । तर अझै पनि जापानमा अमेरिकी सैनिक अखडा
त्यही बेलादेखि राखिएको छ । यद्यपि अहिले हिरोशिमाको त्यो बर्बादीमाथि शान्ति संग्राहलय खडा गरी शान्ति पार्ककोरुपमा त्यसलाई कायम गरिएको छ । बर्षेनी जापानीहरु त्यहाँ त्यो क्रूर आणबिक युद्धमा मारिएका आफ्ना प्रियजन र पूर्खाहरुको सम्झनामा प्रार्थना गर्न र आणबिक शस्त्रास्त्रको बिरोध गर्न जाने गर्दछन् ‘हिरोशिमा दिवस’का दिन !
वास्तवमा ६ अगष्टका दिन अमेरिकाको फाइटर बिमान – बी – २९ ले जमिनको सतहदेखि झण्डै ३१००० फीटको उच्चाई माथिबाट हिरोशिमा शहरमा परमाणुबम खसालेको थियो । त्यतिबेला हिरोशिमा शहरका मानिसलाई त्यो परमाणु बम बिस्फोट यति भयानक लाग्यो कि आकाशमा कुनै अर्को सूर्य उदाएको छ । हेर्दा हेर्दै एकैछिनमा लाखौ लाख मानिसहरु धुवाँसँगै बिलाए । हुन पनि आजभन्दा ८१ बर्ष अगाडिको त्यो भयावह र प्रलयकारी घटना मानब इतिहासको सबैभन्दा क्रुरतम् र एउटा भयंकर त्रासद घटनाकोरुपमा बिश्वमा अंकित हुनपग्यो । हिरोशिमामाथि आक्रमण गर्ने त्यो परमाणु अस्त्रको ‘कोड’ नाम ‘लिटिल ब्वाई’ थियो । तर त्यो ‘सानो केटा’ले जापान र मानबताको इतिहासलाई अत्यन्तै ठूला र गहिरो चोट लगायो । त्यो बम दोश्रो बिश्व युद्धको क्रममा अमेरिकाको ‘मेनहटन प्रोजेक्ट’ अन्तरगत अमेरिकाको ‘लासअलामोश’मा निर्माण गरिएको थियो । झण्डै ४००० किलो ग्राम तौलको त्यो संहारकारी बमको लम्बाई तीन मिटर र ब्यास(गोलाई) ७१ सेण्टिमिटरसम्मको थियो भनिन्छ । त्यस बमले आफ्नो बिस्फोटक क्षमता ‘यूरेनियम – २३५ को न्यूक्लियर फिशन प्रोसेस’ – जसलाई ‘नाभिकीय बिखण्डन प्रकृया’ भनिन्छ – बाट प्राप्त गरेको थियो । त्यसको बिध्वंशक क्षमता १३—१८ किलोटन टीएनटी(ट्राइनाइट्रोटालुइन) बराबरको मानिएको थियो ।
अहिलेसम्म पनि त्यो परमाणु बम खसालिएको हिरोशिमा र नागाशाकीमा यकिन कति मानिस मारिए भन्ने आधिकारिक र औपचारिक कुनै सत्य तथ्य प्रमाण बाहिर नआएको या नल्याइएकोले यस बारेको अन्दाज र अनुमानमा पनि बिबादमा नै छ । तर हिरोशिमा शहरमा त्यतिबेलाको जनसंख्या ३ लाख ५० हजार रहेको तथ्यांक थियो । त्यो जनसंखया मध्ये आधाभन्दा केही कम अर्थात १ लाख ४० हजारदेखि ५० हजारसम्म त्यतिबेला मारिएको र मृत्यु भएको मानिएको छ । ९ अगष्टका दिन नागाशाकीमा ४० हजार देखि ८० हजारसम्म मानिस ‘फ्याट म्यान’नामको अर्को परमाणु बमद्वारा मारिएको अनुमान छ । परमाणु बमको तत्कालीन असर र पछिसम्म त्यसको रेडिएशन अर्थात बिकिरण फैलिएका कारणले हजारौं हजार जापानीहरु बिकलाङ्ग भएर रहेका या मारिएका या बाँचेका पनि दुःखपूर्ण जीवनको बोकिरहेका थिए ।रेडिएशनले गर्भका बाबच्चाहरुमा पनि धेरै पछिसम्म असर पारेको यश सम्बन्धि अनेक अध्ययनहरूले दर्शाएका र बताएका छन् ।
त्यो घातक परमाणु बम जापानी निर्दोष जनतामाथि खसाल्ने अमानबीय निर्णय अमेरिकाले त्यतिबेला जुन गरेको थियो त्यसप्रति अहिलेसम्म उसले कुनै पश्चाताप गरेको र माफीसम्म पनि मागेको छैन । बरु त्यसलाई सही नै ठहराउँदै आएको छ । त्यसै बेलादेखि जापानमा अमेरिकी सैनिक अखडा पनि राखिएको हो र त्यो अहिलेसम्म कायमै छ । त्यहाँ अद्यापि हिरोशिमा पुग्ने र त्यहाँ मारिएका मानिसहरुप्रति श्रद्धाञ्जली प्रकट गर्ने काम भने यस अघिका अमेरिकी एकजना राष्ट्रपति बाराक ओबामाले झण्डै १५ बर्ष जति अघि हिरोशिमा परमाणु बम खसालेको ७० बर्ष पछि गरेका थिए।
अहिले त बिश्वको राजनीतिक रंगमञ्चमा लामो समयदेखि अमेरिका र जापान एउटै ध्रुबमा उभ्भिएका छन् । तर इतिहाले अगष्ट ६ र ९ को जापानमाथि खसालिएको ती प्रलयकारी र बिध्वंशक परमाणु बमलाई कुनै दिन पनि सही ठहराउने छैन र त्यसलाई मानब इतिहासको एउटा कालो दिन र कलंककै रुपमा भने लिइराख्नेको छ । अनि यस्तो त्रासद घटना दोहोरिनु हुँदैन भन्ने मानबीय आवाज निरन्तर बिश्वमा उठिरहने छ ।
यस नृशंश अमानबीय परमाणु बम जापानमिथ खसालेर नरसंहार गरेको सन्दर्भमा तीब्र बिरेध जनाउँदै र त्यसको वास्तबिक पोल खोल्दै रंगभेद बिरोधी बिश्व प्रसिद्ध नेता नेल्सन मण्डेलाले भनेका थिए — जापानले सबै मोर्चामा आत्मसमर्पण गरिसकेपछि जसरी निर्दोष जापानी जनता मार्न त्यो प्रलयकारी आणबिक बम खसालियो त्यो फासिजम बरोधी समाजबादी सोभियत संघ बिरूद्धको चेतावनी र धम्की थियो । मानबाधिकारको कुरा उराल्ने साम्राज्यबादले सर्बसाधारणा मानिसहरूलाई कीरा फट्यांग्रा सरह पनि मान्दैन । साम्राज्यबाद मानब द्रोही हुन्छ ।


