काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने रास्वपा सांसदहरूसँग छलफल गरेका छन् ।
सिंहदरबारमा भएको छलफलका क्रममा सांसदहरूले सरकारले सुशासनका क्षेत्रमा गरेका कामको जानकारी संसद्मार्फत जनतालाई जानकारी गराउने प्रतिबद्धता व्यक्त गरे । साथै आफ्ना निर्वाचन क्षेत्रसँग सम्बन्धित विभिन्न विकास आयोजना तथा स्थानीय समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको सांसद जनकसिंह धामीले जानकारी गराए ।
सुदूरपश्चिमका समस्या, राजनीतिक अवस्था र सम्भावनाबारे प्रधानमन्त्रीलाई जानकारी गराएको उनले जनाए । त्यस्तै सांसद केपी खनालले गेटा विश्वविद्यालय सञ्चालन, कैलाली र कञ्चनपुरका तराई क्षेत्रमा छाडा चौपाया व्यवस्थापन, धनगढी–खुटिया–दिपायल फास्ट र्ट्याक, विद्युतीकरण, सडक दुर्घटना न्यूनीकरण, तटबन्ध निर्माण लगायतका बिषयमा देखिएका समस्या बारे प्रधानमन्त्रीलाई अवगत गराइएको जानकारी गराए । यसका साथै भन्सारसम्बन्धी समस्या, आरक्षपीडित, हुलाकी सडक, किसानका लागि धान खरिद–बिक्री तथा दोधारा–चाँदनी क्षेत्रमा नदी कटानका विषयमा पनि सांसदहरुले प्रधानमन्त्रीलाई अवगत गराइका थिए ।
छलफलमा ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, कोमल ज्ञवाली, ज्ञानेन्द्र महता, जगत जोशी र केपी खनाललगायत सांसदहरूको सहभागिता थियो ।


