एजेन्सी । विश्वकप २०२६: मैदानमा चीन थिएन, तर कमाइमा चीन अगाडि… फिफा विश्वकप २०२६ मा चीनको राष्ट्रिय टोली सहभागी हुन सकेन, तर प्रतियोगिताले चिनियाँ व्यवसायलाई भने ठूलो आर्थिक फाइदा दिलायो।
विश्वभर बढेको जर्सी, खेल पोसाक र खेलकुद सामग्रीको मागका कारण चिनियाँ कम्पनीहरूको व्यापार उल्लेखनीय रूपमा बढेको छ। विशेषगरी अर्जेन्टिनाले इङ्ग्ल्याण्डलाई हराएपछि अर्जेन्टिनाको जर्सीको माग करिब ६० प्रतिशतले बढेको चिनियाँ निर्यातकर्ताहरूले बताएका छन्।
चीनको खेलकुद सामग्री निर्यातमा पनि तीव्र वृद्धि देखिएको छ। चिनियाँ भन्सार तथ्यांकअनुसार जुन महिनामा निर्यात २७ प्रतिशतले बढेको छ भने चालु वर्षको पहिलो ६ महिनामा १७.६ प्रतिशत वृद्धि भएको छ। यस अवधिमा चीनले ६७.५३ अर्ब युआन (करिब ९.९७ अर्ब अमेरिकी डलर) बराबरको खेलकुद सामग्री तथा उपकरण निर्यात गरेको छ। विश्वव्यापी खेलकुद सामग्री निर्यातमा चीनको हिस्सा ४० प्रतिशतभन्दा बढी रहेको छ।
सन् २००२ पछि विश्वकपमा छनोट हुन नसकेको चीनले भने प्रतियोगितामार्फत व्यापारिक प्रभुत्व कायम राखेको छ। विश्वका धेरै टोलीका जर्सी, किट र खेल सामग्री चीनमै उत्पादन हुन्छन्। साथै हाइसेन्स र मेङन्युजस्ता चिनियाँ कम्पनीहरूले रंगशालाभित्रै ब्रान्ड प्रचार गरेर विश्वकपको ठूलो बजारबाट प्रत्यक्ष लाभ उठाएका छन्।


