एजेन्सी । फिफा विश्वकप २०२६ को फाइनल खेलपछि मैदानमा देखिएको उग्र र अशोभनीय व्यवहारका लागि अर्जेन्टिनामाथि फिफाले अनुसन्धान गर्ने भएको छ। अमेरिकाको न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा स्पेनसँग १-० ले पराजित भएपछि अर्जेन्टिनी खेलाडी र प्रशिक्षकहरूले गरेको व्यवहारलाई लिएर फिफाको अनुशासन समितिले एक विशेष अभियोजक नियुक्त गरेको छ।
यस झगडामा संलग्न खेलाडी वा प्रशिक्षकहरूलाई खेलबाट प्रतिबन्ध लाग्न सक्छ भने अर्जेन्टिनी फुटबल संघलाई ठूलो जरिवाना समेत हुन सक्छ। फाइनलको सिट्ठी बज्नेबित्तिकै स्पेनका खेलाडीहरू जितको खुसी मनाउन थाले। सोही क्रममा अर्जेन्टिनाका डिफेन्डर नाहुएल मोलिनाले म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई मुक्का प्रहार गरेपछि विवाद सुरु भएको थियो। त्यसपछि अर्जेन्टिनाका लियान्द्रो पारेडेसले स्पेनका एरिक गार्सियाको घाँटीमा प्रहार गरेको र गाभीलाई भुइँमा पछारेको दृश्य देखिएको थियो।
अर्जेन्टिनाका सहायक प्रशिक्षक रोबर्टो आयालाले पनि विपक्षी खेलाडीमाथि हात हालेका थिए। यसअघि नै अर्जेन्टिनाका एन्जो फर्नान्डेजले रातो कार्ड खाएर मैदान छाडिसकेका थिए। यसअघि इंग्ल्यान्डका पूर्व फुटबलर एलन सियररले अर्जेन्टिनाको व्यवहारको कडा आलोचना गर्दै भनेका थिए, ‘पारेडेसले विपक्षीको अनुहारमा दुई-तीन पटक मुक्का हाने।
हारलाई स्वीकार गर्ने पनि एउटा तरिका हुन्छ, तर अर्जेन्टिनाले पटक-पटक यस्तै नराम्रो व्यवहार देखाउँदै आएको छ।’ यद्यपL अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले भने घटनालाई सामान्य बनाउने प्रयास गर्दै भने, ‘हामी जितमा जस्तै हारमा पनि उदार हुनुपर्छ। हामी हार स्वीकार गर्छौँ, तर यसको अर्थ यो होइन कि हामीले अहिलेसम्म गरेका राम्रा कामहरूलाई भुलौँ।’ फिफाले आफ्नो अनुशासन नियमको धारा १३ अनुसार छानबिन अगाडि बढाएको छ।
यस धाराले ‘खेलको प्रतिष्ठामा आँच पुर्याउने र अशोभनीय व्यवहार गर्ने’ लाई कारबाही गर्ने अधिकार दिन्छ। यसअघि उरुग्वेका लुइस सुआरेजलाई विपक्षी टोलीका खेलाडी टोकेको भन्दै ४ महिनाको प्रतिबन्ध लगाइएको थियो। अर्जेन्टिना यसअघि पनि यस्तै विवादमा पर्दै आएको छ।
सन् २०२२ को विश्वकप जित्दा गोलकिपर एमिलियानो मार्टिनेजको अभद्र व्यवहार र हालै ‘फकल्यान्ड टापु’ सम्बन्धी राजनीतिक ब्यानर प्रदर्शन गरेका कारण पनि अर्जेन्टिना फिफाको नजरमा परेको छ। यस अनुसन्धानले अर्जेन्टिनाका प्रमुख खेलाडीहरूलाई आगामी अन्तर्राष्ट्रिय खेलहरूमा प्रतिबन्ध लगाउन सक्ने सम्भावना बलियो छ।


