काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै अघिल्लो निर्णय उल्ट्याउँदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने बाटो खोलेका छन् । भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा सोमबार बसेको सचिवालय बैठकमा ओलीले यो प्रस्ताव पेस गरेका थिए । बैठकले सर्वसम्मत रूपमा भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ । यो निर्णयलाई एमाले पार्टीभित्रको आन्तरिक संकटको सामना गर्न ओलीको ‘सच्चिने प्रयास’का रूपमा हेर्न थालिएको छ ।
गत वर्ष साउनमा ओलीले नै भण्डारीको सदस्यता नवीकरण नगर्ने र उनीलाई सक्रिय राजनीतिमा आउन रोक लगाउने निर्णय सुनाएका थिए । केन्द्रीय कमिटी बैठकमा प्रस्ताव नै नगरी यो निर्णय गरिएको थियो । पार्टीले जारी गरेको विज्ञप्तिमा संविधानको धारा ६१ र २६७ लाई उद्धृत गर्दै पूर्वराष्ट्रपतिलाई कुनै पनि दलको सदस्य वा कार्यकर्ता बन्न नमिल्ने तर्क दिइएको थियो । राष्ट्रपति राष्ट्रिय एकताको प्रतीक, संविधानको संरक्षक र सेनाको परमाधिपति भएकाले दलगत राजनीतिमा सक्रिय हुन नहुने भनिएको थियो । तर, सोमबारको बैठकमा ओलीले ‘संविधानले रोक्दैन, विगतमा राजनीतिक परिस्थितिका कारण फरक निर्णय गर्नुपरेको थियो’ भनेका छन् ।
एमाले सचिव पद्मा अर्यालका अनुसार, भण्डारीले निवेदन दिएपछि ओलीले बैठकमा टेबुल गरे र सबैले समर्थन जनाए । उपमहासचिव लेखराज भट्टले पनि यो महत्वपूर्ण निर्णय भएको बताएका छन् । भण्डारीले ११औँ महाधिवेशनअघि नै सदस्यता नवीकरण गरिसकेकी थिइन् तर ओलीको निर्णयले त्यसलाई रोकेको थियो । अब उनी एमालेको सक्रिय राजनीतिमा फर्कन सक्ने बाटो खुलेको छ ।
यो निर्णय २१ फागुनको निर्वाचनमा एमालेको पराजयपछि आएको छ । पार्टीभित्र ओलीलाई अध्यक्षबाट हटाउने छलफल चर्किरहेको बेला भण्डारीको सदस्यता नवीकरणलाई ‘रेड कार्पेट’का रूपमा देखिएको छ । ईश्वर पोखरेल पक्षका नेताहरूले लामो समयदेखि यो विषय उठाउँदै आएका थिए । निर्वाचन हारपछि पार्टी एकताबद्ध राख्न र पुराना नेतृत्वलाई जोड्न यो कदम चालिएको विश्लेषण भइरहेको छ ।
ओलीको यो ‘यु–टर्न’ लाई पार्टीभित्रको कमजोरीको स्वीकारोक्ति मान्न सकिन्छ । गत वर्ष उनले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि, निर्वाचनमा पराजित भएपछि र पार्टीभित्र नेतृत्व परिवर्तनको आवाज बढेपछि मात्र भण्डारीलाई फर्काउने निर्णय भएको छ । भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति थिइन् । उनी ओलीकै सक्रिय सहयोगमा राष्ट्रपति बनेकी थिइन् । तर, पछि पार्टीभित्र मतभेद बढ्यो । भण्डारीले ओलीको नेतृत्व र पार्टीको नीतिमाथि प्रश्न उठाएकी थिइन् । ओलीले उनलाई ‘सम्मानित’ भने पनि सक्रिय राजनीतिबाट टाढा राख्ने प्रयास गरेका थिए ।
भण्डारी अब एमालेको सदस्य बनेकी छन् । सचिव अर्यालका अनुसार, जिम्मेवारी समयसँगै दिइनेछ । उनी केन्द्रीय कमिटी वा अन्य पदमा आउन सक्छिन् । उनको अनुभव र राष्ट्रपतिकालीन छविले पार्टीको राष्ट्रवादी आधार बलियो बनाउन सक्छ । तर, उनी ओलीको आलोचक थिइन् भनेर थाहा छ । अब उनी कसरी काम गर्छिन् ? ओलीसँग सहकार्य गर्छिन् वा नयाँ धारा सुरु गर्छिन् ? यो हेर्न बाँकी छ । अर्कोतर्फ, एमालेको हालको अवस्था चुनौतीपूर्ण छ । निर्वाचनमा पराजय, आन्तरिक गुटबन्दी, युवा नेतृत्वको माग र बाहिरी राजनीतिक दबाबले पार्टी कमजोर बनेको छ ।
कतिपय विश्लेषक भण्डारीको फर्काइलाई ‘ओलीको बचाउ’का रूपमा पनि हेर्छन् । पार्टीभित्र ओलीविरुद्धको विद्रोहलाई रोक्न र पुरानो नेतृत्वलाई एकजुट पार्न यो कदम चालिएको हुन सक्छ ।
एमाले नेपालको प्रमुख वामपन्थी दल हो । यसको इतिहासमा धेरै उकाली–ओराली छन् । ओलीको नेतृत्वमा पार्टीले ठूलो सफलता पाएको थियो तर पछिल्लो समय पार्टीले नराम्ररी हार व्यवहारेको छ । युवा पुस्ता, महिला र विविध समुदायलाई समेट्न नसकेको आरोप लागिरहेको छ । यो सबै ओलीको अहंकार र वैचारिक विचलनको परिणाम पनि हो ।
ओलीले एमालेमा अध्यक्षको रुपमा र तत्कालीन सरकारमा रहँदा पनि फरक मतलाई निषेध गर्दै आएका थिए । यसले पार्टीमा पनि एक पक्ष असन्तुष्ट थियो । पार्टीलाई चलायमान गराउने वैचारिक बहसलाई निषेध गर्दै पार्टीमा एक व्यक्ति मात्र हावी हुँदा तानाशाही प्रवृत्ति मौलाएको थियो, जसको नकारात्मक असर पछिल्लो चुनावमा देखिएको छ । पार्टीमा ओलीलाई सर्वेसर्वा बनाउने, उनकै गुणगान गाउनुपर्ने र उनीविरुद्ध प्रश्न गर्ने नेतालाई कारबाही गर्ने शैलीका कारण पनि एमालेमा अन्य नेताहरु असन्तुष्ट देखिएका थिए । अर्कोतर्फ विगतमा ओलीले कम्युनिष्टहरुबीच एकता सम्भव नभएको भन्दै नेकपा एमालेलाई एकलकाटे बनाइरहे । अर्को ठूलो कम्युनिस्ट पार्टी तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग त ओलीको बाराबारको जस्तै अवस्था रह्यो । प्रचण्डले त ओली रहुन्जेल एमालेसँग एकताको विषय नहुने सार्वजनिक रुपमै जनाए । यसले ओलीको एकताविरोधी र पार्टीमा अधिनायकवादी सोचलाई स्पष्ट पारेको थियो । अहिले ओली र एमाले आफ्नो त्यो सोचको कारण पश्चातापमा छन् । आफ्नै राजनीतिक करिअर र पार्टीलाई पनि धरापमा पारिसकेका ओली अहिले भण्डारीको सदस्यता नवीकरण गरेर भए पनि आफू सच्चिने प्रयासमा जुटेका छन् । जनधारणा साप्ताहिक


