काठमाडौं । आईफोन प्रयोगकर्ताहरूलाई एन्ड्रोइड इकोसिस्टममा आकर्षित गर्न गुगलले आफ्नो रणनीतिमा व्यापक परिवर्तन गरेको छ । हालैको एन्ड्रोइड शो मार्फत गुगलले आईफोन छोड्न चाहनेहरूका लागि यो प्रक्रियालाई सकेसम्म सहज बनाउने स्पष्ट लक्ष्य लिएको हो ।
पछिल्ला केही वर्षहरूमा गुगलको पिक्सेल रणनीतिमा ठुलो परिवर्तन आएको छ । कम्पनीले अन्य एन्ड्रोइड निर्माताहरूसँग प्रतिस्पर्धा गर्नुको सट्टा प्लेटफर्मको समग्र सफलता र आफ्ना सेवाहरूको पहुँच विस्तारमा ध्यान केन्द्रित गरिरहेको छ । यही कारणले गर्दा धेरै नयाँ एन्ड्रोइड सुविधाहरू सुरुमा सामसङ ग्यालेक्सी उपकरणहरूमा उपलब्ध गराइन्छ र पछि मात्र पिक्सेलका विशेष सुविधा अन्य एन्ड्रोइड फोनहरूमा विस्तार गरिन्छ । गुगलको मुख्य उद्देश्य आफ्ना सेवाहरू धेरैभन्दा धेरै मानिसहरूसम्म पुर्याउनु हो, चाहे त्यो पिक्सेल उपकरणमार्फत होस् वा अन्य ।
यसका साथै गुगलले आईफोनबाट एन्ड्रोइडमा स्विच गर्दा फाइलहरू मात्र नभई पासवर्ड र होम स्क्रिन लेआउटहरू पनि सजिलै आयात गर्न मिल्ने बनाएको छ । आईओएस प्रयोगकर्ताहरू प्रायः आफ्नो पुरानै बानीमा रहन मन पराउने भएकाले गुगलले यो परिवर्तनलाई सकेसम्म तनावरहीत बनाउन खोजिरहेको छ । यो रणनीति सफल पनि देखिएको छ । किनकि पिक्सेल ९ र १० को बिक्रीमा उल्लेखनीय वृद्धि भएको छ । जसमा ठुलो सङ्ख्या पहिले आईफोन प्रयोग गर्नेहरूको छ ।
हालको आईओएस २६ मा धेरै प्राविधिक समस्या र ग्लिचहरू देखिएका छन् । जसले गर्दा प्रयोगकर्ताहरू विकल्पको खोजीमा छन् । अर्कोतर्फ एन्ड्रोइड १६ र गुगलको मटेरियल ३ एक्सप्रेसिभ डिजाइनलाई निकै सहज, आकर्षक र प्रयोगकर्ता-मैत्री मानिएको छ ।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा पनि गुगलको जेमनाईलाई एप्पल इन्टेलिजेन्सको तुलनामा धेरै अगाडि मानिएको छ । गुगलको सोच एआईलाई एउटा जटिल प्रणालीको सट्टा पृष्ठभूमिमा काम गर्ने सहज सेवाको रूपमा विकास गर्नु रहेको छ ।
गुगलले एन्ड्रोइडलाई एक सिर्जनात्मक प्लेटफर्मको रूपमा उभ्याउन खोजे तापनि कहिलेकाहीँ यसको प्रतिस्पर्धात्मक शैली विरोधाभासी देखिन्छ । उदाहरणका लागि गुगलले विकास गरेको फोटो एडिटर एप स्न्यापसिड ४.० एन्ड्रोइडमा भन्दा पहिले आईफोनमा सार्वजनिक गरिएको थियो ।
त्यस्तै गुगलले एप्पलसँग बहु-वर्षीय साझेदारी गर्दै एप्पल इन्टेलिजेन्सका सुविधाहरूलाई जेमनाईमार्फत सञ्चालन गर्ने लक्ष्य राखेको छ । यसले गुगल आफ्ना सेवाहरू आईफोनमा पनि उत्तिकै सशक्त रूपमा राख्न चाहन्छ भन्ने देखाउँछ ।
समग्रमा गुगलले प्रविधिका उत्साहीहरूको आलोचनालाई बेवास्ता गर्दै साधारण खरिदकर्ताहरूले के चाहन्छन् भन्ने कुरामा ध्यान दिएको छ । पिक्सेल उपकरणहरूको पछिल्लो सफलता र सुदृढ सफ्टवेयरले गर्दा एप्पलको सफ्टवेयरबाट दिक्क भएका प्रयोगकर्ताहरूका लागि पिक्सेल १० एउटा उत्कृष्ट विकल्पको रूपमा उभिएको छ ।

