काठमाडौं । सरकारले राष्ट्रपतिबाट फिर्ता आएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फेरि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्न पुनः राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले भने– ‘संवैधानिक परिषद सम्बन्धी अध्यादेश राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएकोमा जारी गर्न पुनः सिफारिस गर्ने निर्णय भएको छ ।’
, बैठकले परम्परागत कोइलरलाई इलेक्ट्रोनिक कोइलरले प्रतिस्थापन गर्न उद्योगहरुलाई कर्जा उपलब्ध गराउन र वायु गुणस्तर मापनको क्षमता बढाउन विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियत ऋण र ५ मिलियन अनुदान सहयोग स्वीकार गर्ने निर्णय गरेको पनि मन्त्री पोखरेलले जानकारी दिए । बैठकले भारतसँग जिटुजी माध्यमबाट ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको पनि उनले जानकारी गराए।
संसद् भवन परिसरमा प्रवेश लगायत विषय समावेश गरिएको सिंहदरबार परिसरको गुरुयोजना स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।


