काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कको पुन:निर्मित कार्यालय भवनको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले उक्त भवनको अवलोकन समेत गर्नुभयो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न महानुभावहरूलाई कदरपत्र एवम् प्रशंसापत्र प्रदान गर्नुभयो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले सभ्य र सुरक्षित समाज निर्माणमा प्रहरीको आवश्यकता महसुस गरेर पुन:निर्माण कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण संघसंस्था एवम् महानुभावहरू प्रति कृतज्ञता व्यक्त गर्दै पुन:निर्मित भवनबाट प्रवाह हुने सेवाहरू अझ नागरिकमैत्री एवम् व्यावसायिक हुनुपर्नेमा जोड दिनुभयो । प्रहरी र नागरिकबीचको सुसम्बन्धले मात्र सुरक्षित समाज निर्माणको लक्ष्य हासिल गर्न सकिने चर्चा गर्दै पुन:निर्माण मार्फत नागरिकको तहबाट प्राप्त मायाले प्रहरीलाई थप हौसला प्राप्त भएको र यसको निरन्तरताको समेत अपेक्षा रहेको उहाँले बताउनुभयो ।
प्रहरी महानिरीक्षक कार्कीले प्रहरी कर्मचारीहरूले सेवा प्रदान गर्ने शैलीमा सकारात्मक परिवर्तन गर्दै बोली वचन र व्यवहारलाई सम्मानजनक बनाउनुपर्ने बताउँदै प्रहरी पेशा होइन प्रहरी सेवा हो भन्ने भावका साथ नागरिकको कानुन सम्मत अपेक्षा पूरा गर्न पुन:निर्मित भवनबाट थप प्रेरणा मिल्ने र नागरिक केन्द्रीत सेवा प्रवाहमा समेत थप प्रभावकारिता आउने विश्वास व्यक्त गर्नुभयो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा तारकेश्वर नगरपालिकाका उपप्रमुख सिर्जना बुर्लाकोटी अर्याल र काठमाडौं महानगरपालिका वडा नम्बर २६ का वडा अध्यक्ष खेम राज तिवारीले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने पुन:निर्माण समितिका अध्यक्ष राकेश सिंहले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, संचारकर्मीहरू, स्थानीय समाजसेवीहरू लागयतको उपस्थिति रहेको थियो ।


