-ईश्वरी सिहं
नेपाली राजनीतिको केन्द्रविन्दु मानिने मधेश प्रदेशमा यस पटक एउटा यस्तो राजनीतिक बाढी आयो । जसको धक्काले वर्षौँदेखि जरा गाडेर बसेका नेताहरूलाई पखालेर बागाई दिएको छ।
काठमाडौँका मेयर बालेन शाहको कार्यशैलीबाट प्रभावित मधेशी जनताले रास्वपाको घण्टी मा त्यो विकल्प देखे, जुन उनीहरूले दशकौँदेखि खोजिरहेका थिए। सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र त्यसपछि सुरु भएको जेन्जी आन्दोलनले युवा मतदातालाई यसरी एकीकृत गर्यो कि मधेशका ३२ मध्ये ३१ सिटमा रास्वपाले ऐतिहासिक जित हासिल गर्यो।
वर्षौँसम्म मधेश र मधेशीको नाममा राजनीति गर्ने उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो,महेन्द्र राय यादव लगायत जस्ता नेताहरूलाई यस पटक जनताले कडा सबक सिकाई दिए । भ्रष्टाचार, नातावाद, र आफ्ना आसेपासेलाई मात्र पोस्ने प्रवृत्तिका कारण आजित भएका मधेशी जनताले यसपालि भावनामा बगेर होइन, भविष्य हेरेर मतदान गरे थिए ।
हुन त मधेशमा सीके राउत, गगन थापा, प्रभु साह र माधव नेपाल जस्ता हस्तीहरूको प्रभाव बलियो मानिन्थ्यो, तर रास्वपाको लहरले यी सबैलाई किनारा लगाइदिएको छ। यो परिणामले के स्पष्ट पारेको छ भने विगतमा भोगेका भोगाईहरुबाट मधेसि जनताहरु मुुक्त हुुन चाहान्थे । मधेशी जनता अब केवल पहिचानको मुद्दामा अल्झिएर मात्र नभई देशमा सुशासन र डेलिभरी पनि चाहान्थे ।
मधेश प्रदेश सरकारको मुख्य गौरवको योजना मानिएको बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रम अन्तर्गत साइकल खरिदमा ठूलो भ्रष्टाचार भएको अख्तियारको ठहर छ।
१० करोड ३३ लाख रुपैयाँ बराबरको भ्रष्टाचार भएको दाबी गरिएको छ। २७,२६२ वटा साइकल खरिद गर्दा कम गुणस्तरको साइकल महँगो मूल्यमा किनेको र खरिद प्रक्रियामा नियम मिचिएको भेटिएको थियो।
यस मुद्दामा ८ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो। यद्यपि, मुख्यमन्त्री र मुख्य सचिवलाई भने प्रमाण नपुगेको भन्दै उन्मुक्ति दिइएकोमा आलोचना भएको थियो।
त्यसैगरि मधेश प्रदेशका नेताहरु विरुद्ध संसदीय विकास कोषको रकम दुरुपयोग गरेको आरोप पनि छ।
कमिसन नपाएका योजनाहरूको बजेट रोक्का गरेको र सरुवा बढुवामा बिचौलिया प्रयोग गरेको रिपोर्टहरू सार्वजनिक भएका थिए ।
प्रदेश सरकारको स्वच्छ मधेश अभियान अन्तर्गत विभिन्न जिल्लाहरूमा निर्माण गरिएका शौचालय र ढल निकासका योजनाहरूमा पनि व्यापक अनियमितता भएको उजुरी अख्तियारमा परेको छ। काम नै नगरी भुक्तानी लिएको र कमसल सामग्री प्रयोग गरेको आरोपमा धेरै वटा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरू छानबिनको दायरामा छन्।
मधेश प्रदेशमा विकास बजेटको ठूलो हिस्सा उपभोक्ता समिति मार्फत परिचालन हुने र त्यसमा नेता तथा कर्मचारीहरूको प्रत्यक्ष संलग्नता रहने हुँदा भ्रष्टाचारका मुद्दाहरू धेरै नै छन् । माथिल्लो तहका नेताहरूमाथि मुद्दा दायर हुने क्रम बढे पनि अदालती प्रक्रिया ढिलो हुँदा कतिपय मुद्दाहरू अझै टुङ्गोमा पुग्न सकेका छैनन्।
वषौं देखि मधेसि नेताहरुले गरेका भ्रष्टाचारको मुुद्दाको बारेमा अब बर्तमान बालेन्द्र शाह बालेन सरकारले खोल्नुु पर्ने देखिन्छ । केहि न हुुनेहरुले करोडौंको सम्पत्ति जम्मा गरेर राखेको हुुँदा सम्पत्ति सुुद्दिकरणको विषयमा पनि अनुुसन्धान हुुन जरुरी देखिन्छ ।
निर्वाचनमा नराम्रोसँग पराजित भएपछि अहिले मधेशका पुराना नेताहरूमा छटपटी सुरु भएको छ। आफ्नो राजनीतिक अस्तित्व जोगाउन उनीहरू अहिले नयाँ खेलमा लागेका छन्। रास्वपाको जित र प्रधानमन्त्री बालेन साहको बढ्दो क्रेजलाई रोक्न उनीहरूले मधेसि जनतालाई बालेनको विरुद्धमा भड्काउने प्रयास गरिरहेका छन्।
बालेन मधेश विरोधी हुन् वा घण्टीले मधेशको पहिचान मेटाउँछ जस्ता भ्रमपूर्ण प्रचारहरू गाउँ गाउँमा फैलाउन थालेका छन् ।
तर, चेतनास्तर माथि उठिसकेका मधेशी जनता अब यस्ता सस्ता नाराको पछि लाग्ने देखिँदैनन्। पुराना नेताहरूले बुझ्न जरुरी छ कि जनतालाई भड्काएर होइन, काम गरेर मात्र मन जित्न सकिन्छ।
मधेशले यस पटक परिवर्तनको पक्षमा स्पष्ट फैसला सुनाएको छ। ३२ मा ३१ सिटको नतिजा कुनै संयोग मात्र होइन, यो पुराना दलहरूको असफलता र नयाँ शक्तिप्रतिको भारी विश्वास हो। यदि रास्वपाले यो जनमतलाई कदर गर्दै मधेशको विकास र सुशासनमा काम गर्न सक्यो भने, पुराना दलहरूको भड्काउने राजनीति बालुवाको घर साबित हुने निश्चित छ ।


