काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधान, संसद नियामावली र पार्टीको विधान अनुसार काम गर्न पार्टीका नवनिर्वाचित सांसदहरुलाई निर्देशन दिएका छन् ।
ललितपुरको ग्वार्कोमा जारी रास्वपाका नवनिर्वाचित सांसदहरुका लागि आयोजित अभिमूखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले आफ्नो चाहनाको भारी देशलाई नबोकाउन र देशको चाहनाको भारी बोक्न सांसदहरुलाई निर्देशन दिए । ‘हामी समय र परिस्थितिले एक ठाउँमा जोडिएका हौं । परिस्थितिले हामीलाई जोडेको हो । सामूहिक खेलाडीका रुपमा काम गर्नुपर्छ । हामीले हेर्ने भनेको संविधान हो, संसदको नियमावली हो, पार्टीको विधान हो । यसैका आधारमा काम गर्ने हो । तपाईंको चाहनाको भारी देशले बोक्ने होइन, वर्षौंदेखि देशले बोकिरहेको भारी हामीले बोक्ने हो ।’
सभापति लामिछानेले रास्वपाभित्र देशको अनुहार रहेको जनाए । उनले भने– यहाँ व्यापार व्यवसाय क्षेत्रका हुनुहुन्छ, जेनजी अभियन्ता हुनुहुन्छ, महिला हुनुहुन्छ, विभिन्न क्षेत्रका व्यक्तिहरु हुनुहुन्छ, त्यसैले रास्वपामा देशको अनुहार छ ।’ सभापति लामिछानले जनताले जुन आशा र अपेक्षा अनुसार मत दिएका छन्, त्यसको महसुस सांसदहरुमा हुनुपर्ने जनाए । ‘भोट माग्न जाँदा बाबु यो देश बचाउ भनेका छन्, यो गम्भीर कुरा हो । यसलाई बुझ्नुपर्छ । यो जिम्मेवारी पूरा गर्नुपर्छ । आशा र अपेक्षाको दियो बल्न थालेको छ, यसलाई निभ्न नदिनुहोला’ उनले भने। सभापति लामिछानले देशको व्यवस्था र संविधानप्रति रास्वपाको पूर्ण प्रतिबद्धता रहेको उल्लेख गरे ।
उनले भने– ‘वर्तमान व्यवस्था र संविधानप्रति हाम्रो आस्था डगमगाएको छैन । डगमगाउन नदिनु होला । पुराना दल र नेताहरुले इतिहासमा दिनु भएको योगदानप्रति धन्यवाद दिन चाहन्छु । इतिहास तपाईंहरुले लेख्नु भयो, भविष्य हामी लेख्छौं ।’ सभापति लामिछानेले विजय उन्माद नदेखाउन पनि सांसदहरुलाई निर्देशन दिए । ‘विजेता हुनुको अर्थ जिम्मेवार हुनु हो’ उनले भने ।


