कर्णाली । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) को स्वास्थ्य उपचारका लागि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतमा कार्यरत प्रहरी कर्मचारीले आर्थिक सहयोग गरेका छन् ।
साे कार्यालयका ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालसहित ११७ इच्छुक प्रहरी कर्मचारीले आज संयुक्त रूपमा कप्तान साम्बालाई ५० हजार सहयोग गरेका हुन् ।
राष्ट्रको नाम उच्च बनाउन निर्बाध संघर्षको मैदानमा पसिना बगाउँदै आएकी कप्तान साम्बाको स्वास्थ्य उपचारमा सानो भए पनि सहयोग पुगोस् भन्ने ध्येयले सहयोग गरिएको प्रहरी उपरीक्षक रिजालले जनाए ।
स्वैच्छिक रूपले प्रहरी कर्मचारीबाट संकलित रकम साम्बाको व्यक्तिगत खातामा जम्मा गरिएको बताए । व्यक्तिको संकटमा मानवीय संवेदना र सहकार्य आवश्यक रहेको बताउँदै प्रहरी प्रमुख रिजालले सामाजिक सद्भाव र सहयोगले समाजमा सकरात्मक प्रभाव पार्ने जनाए ।


