लोकनारायण सुबेदी
नेपालको निकट छिमेकी र भारतको एउटा सधियार छिमेकी देश बंगलादेशमा एउटा ठूलो राजनीतिक परिबर्तन आएको मानिदैछ । अहिले त्यहाँ के भनिदैछ भने बंगलादेश अन्ततः एउटा स्थिर सरकार हासिल गर्ने दिशामा अघि बढेको छ । दुइ बर्ष अघि २०२४ मा शेख हसिनाको सरकारलाई राष्ट्रिय अन्तर्राष्ट्रिय कारणले सत्ताच्यूत गरिएको थियो । त्यसपछि हसिनाले भारतमा शरण लिएर अहिलेसम्म आफ्नो प्राण बचाउन भने सकेकी छन् । त्यसपछि बंगलादेशमा पश्चिमापरस्त मोहम्मद यूनूसको नेतृत्वमा अन्तरिम सरकार चलाइयो । त्यस क्रममा भनिन्छ हिन्दूहरुमाथि योजनाबद्ध हिंसा मात्र त्यहाँ चलाइएन भारतका बिरुद्ध पनि त्यहाँका उच्च ओहोदाधारीहरुले कतिपय बयान बाजी गर्दै रहे । यसका अतिरिक्त अर्कोतिर बंगलादेशले पाकिस्तानसँग पनि निकट सम्वन्धको हात बढायो । जुन पाकिस्तानबाट बंगलादेश उसको अत्याचार र शोषणका बिरुद्ध लडेर अलग भएको थिया । यद्यपि त्यसमा भारतको पनि बरद हात रहेको थियो भन्ने कुरा बिर्सन मिल्दैन । अन्तरिम यूनूस सरकारमाथि चुनाव गराउनु पर्ने दबाव बढिरहेकै थियो । यसै क्रममा उनले १२ फेबु्रअरी २०२६का दिन बंगलादेशमा निर्वाचन गराए । त्यस चुनावमा शेख हशिनाको पार्टी आबामी लीगलाई भने निर्वाचनमा भाग लिन दिइएन । शेख हशिनाले भारत निर्वासबाट यस चुनावलाई रद्द गर्ने माग पनि गरेकी थिइन् तर यतिबेला के निर्धाण भइसकेको छ भने तारिक रहमान बंगलादेशको शासनको कमान सम्हाल्न थालेका छन् । हुन त बितेको ३५ बर्षमा कहिले शेख हसिना त कहिले खालिदा जिया दुइ जना बेगमहरुले बंगलादेशमा सत्ता सम्हाल्दै आएका हुन् । तर अब के लाग्दैछ भने यो दुइ बेगमको शासन सत्ताबाट अब बंगलादेश बिमुख हुन थालेको र त्यो इतिहासमा सीमित हुने स्थिति बनेको छ । यतिबेला केही महिना पहिला देहाबसान भएकी बंगलादेशकी नेतृ खालिदा जियाका पुत्र तारिक रहमानले देशको बागडोर हातमा लिएका छन् ।उनले यसै फेब्रुअरीको तेश्रो सातामा बंगलादेशको प्रधानमन्त्रीको पद भार ग्रहण गर्दै र सपथ लिदैछन् ।
त्यस सपथका दिन उनले सार्क राष्ट्रका नेताहरुलाई पनि निमन्त्रणा गरेका छन् । यसमा पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ पनि बंगलादेश पुग्दैछन् । प्रष्टै छ पाकिस्तानमा पनि सार्क राष्ट्रको सदस्य हो नै । तर भारतका प्रधानमन्त्री मोदी यो निमन्त्रणामा जालान नजालान् स्पष्ट भएको छैन । तर उनले तारिक रहमानसँग फोनमा भने कुरा गरिसकेको बताइएको छ । उनले सामाजिक सञ्जालमार्फत रहमानलाई बधाई भने दिइसके छन् । रहमानले पनि भारतसँग राम्रो सम्वन्ध कायम गर्ने बताइसकेका छन् । तर के यस्तो इच्छा जनाएर मात्र दुइ देशका बीचको उल्झिएको सम्वन्ध कहाँ राम्रो हुन्छ र ? यस बारेमा बद्लिदो बिश्व परिबेश र दक्षिण एशियाको बद्लिदो स्थितिलाई पनि हेर्नु र केलाउनु पर्ने हुन्छ ।
नब निर्बाचित प्रधानमन्त्री तारिक रहमानले अमेरिकाले ट्रमपको चुनावको बेला अमेरिका पहिलो भन्ने नारा लगाएजस्तै बंगलादेश पहिलो भन्ने नारा लगाएका छन् । यस्तो फेशन जस्तै गरी राष्ट्रबादी नारा अन्यत्रको चुनावहरुमा पनि लगाइने र सुनिने गर्दै आएको छ । निश्चय पनि हरेक देशका नेताले आफ्नो देशलाई सर्बोपरी राख्ने गर्दछन् । तर यो पहिलो त्यो पहिला या फस्र्ट भन्ने कुरा एउटा मौखिक कुरा बाहेक केही साबित हुने गर्दैन या हुन सकिरहेको छैन । रहमानले जे भने पनि उनले भारत, चीन र पाकिस्तानसँग समान दूरी राख्न चाहेको बिश्लेषकहरु बताउँदछन् । पहिला त उनले भनेका थिए कि ‘न दिल्ली, न रावल पिण्डी’ ‘बंगलादेश फस्र्ट’ । तर अब मतदानमा बिजय हासिल गरेपछि आफ्नो पहिलो प्रेस सम्मेलनमा तारिक रहमानले भनेका छन् कि उनको सरकारको बिदेश नीति बंगलादेश तथा त्यो देशका जनताको हित अनुकूल उनीहरुकै आधारमा कायम रहनेछ । कुनै देश केन्द्रित नीति हुने छैन । उनले भने कि ‘चीन बिकासको सम्वन्धमा राम्रो मित्र’हो । तर यदि कुनै कुरा बंगलादेशको हितमा रहेको छैन भने त्यसलाई मानिने छ्रैन । उनले अझ प्रष्ट पार्दै भनेका छन् कि ‘बेल्ट एण्ड रोड इनिशिएटिभ’लाई हेरिने छ के त्यो बंगलादेशको अर्थब्यवस्थाका लागि उपयुक्त छ’ । उनले पूर्ब प्रधानमन्त्री शेख असिनाको प्रत्यर्पण होला भन्ने प्रश्नमा यो कानुनी प्रकृयामा निर्भर गर्दछ भन्ने जवाफ दिए ।
त्यस आबामी लीग पार्टीका समर्थकहरुमाथि बिभिन्न मुद्दा लगाउने र हैरान पार्ने सम्वन्धमा प्रश्न गर्दा नब नियुक्त प्रधानमन्त्रीले कुरा अन्यत्र मोड्दै कानुनको राज चल्ने उत्तर दिएका भए पनि उनले सबै राजनीतिक दलहरुसँग एकताको अपिल गर्दै राष्ट्र निर्माणमा सबैको सहयोग आबश्यक रहेको बताएका छन् । यद्यपि उनले चुनाव पछि कसैलाई बद्ला लिइने या हिंसा थोपर्ने काम हुने छैन भनेका छन् । उनले आफ्नो बंगलादेश नेशनल पार्टीका कार्यकर्ताहरुलाई शान्ति कायम राख्न र बिजय जुलुश ननिकाल्न निर्देशन दिएका छन् । बंगलादेशको संसदका ३०० सीट मध्ये बीएनपीले २०९ सीटमा बिजय प्राप्त गरेको छ । अर्को जमात–ए–इस्लामी पार्टीले ६८ सीटमा बिजय हासिल गरेको छ । यो पार्टीसँग छिमेकी भारत भने सशंकित छ । यद्यपि खालिदा जियाका छोरा प्रधानमन्त्री तारिक रहमानले भने भारतसँग राम्रो सम्वन्ध राख्ने भनेर आश्वस्त पार्न खोजेका छन् । तर शेख हसिनालाई बंगलादेशमा प्रत्यार्पण गर्ने जमात–एको प्रभावमा उठ्ने भारत बिरोधी आवाजलाई शान्त तुल्याउने बिषयमा तारिक रहमानले के कस्ता कदम चाल्ने हुन् त्यसै आधारमा थाहा हुने छ कि अब अगाडि भारत र बंगलादेशको सम्वन्धले के कस्तो मोड लिने हो ।
बंगलदेशमा जमात ए इस्लामी र उसका ११ सहयोगीहरुले जति सीटमा चुनाव जितेका छन् त्यसमध्येको एउटा ठूलो हिस्सा पश्चिम बंगाल र असमको सीमा क्षेत्रसँग सटेका बंगालदेशी क्षेत्रमा रहेका छन् । जमात ए इस्लामाको चुनावी शक्तिको अन्दाजा नै कुराबाट लगाइदैछ भने ती पश्चिम बंगाल सीमासँग जोडिएका बंगलादेशी क्षेत्रहरु पर्दछन् । ती जिल्लाहरुमा जलपाईगुडी, माल्दह, मुर्शिदाबाद, नदिया, उत्तर २४ प्रगन्नासँग जोडिएका सीमाका साथसाथै असम प्रदेशको सिलचरसँग जोडिएका क्षेत्रहरुमा पनि ती पार्टीहरुको बर्चश्व रहेको बताइन्छ । सुरक्षा ज्ञाताहरुका अनुसार त्यस क्षेत्रको स्थिति भारतको सीमा सुक्षा बल(बीएसएफ) र गुप्तचर एजेन्सीहरका लागि त्यो क्षेत्र चूनौति बन्न सक्त छ । त्यो सीमाका कतिपय क्षेत्र काडाँदार तारको बारबेर पनि नगरिएको अबस्थामा रहेको छ । त्यस क्षेत्रबाट लामो समयदेखि अबैध मानब तस्करी अन्य तस्करीका लागि उपयोग गरिने क्षेत्र भनेर चिनिने गर्दै आएको बताइन्छ । अहिलेको चुनावी परिणामपछि यस क्षेत्रलाई ध्यानमा राखेर भारतलाई उच्च सतर्कतामा राखिएको कुरा पनि प्रकाशमा आएको छ ।
बंगलादेशको राजधानी ढाकाका राजनीतिक बिश्लेषहरुको अहिलेसम्मको के आकलन देखिएको छ भने ग्रामीण इलाकाहरुका जमाते इस्लामीको बिजयको एउटा ठूलो कारण त्यो क्षेत्रमा बिभाजनपछि भारतबाट आएका मुसलमानहरु रहेका छन् । तिनका पूर्खाहरु र बंशजले जमाते इस्लामलाई मत दिदै आएका छन् । उनीहरुको जनसंख्या पनि तीब्र गतिले बढिरहेको बताइन्छ । बंगलादेशको छिमेकी भारतको पनि असल र पश्चिम बंगालमा चाँडै चुनाव हुँदैछ । त्यस क्षेत्रमा साम्प्रदायिक धु्रबीकरणलाई बढावा दिने कोशिश भारतको मोदी सरकारले गरिरहेको उल्लेख गरिदैछ । त्यसले गर्दा त्यो क्षेत्रमा साम्प्रदायिक अशान्ति मच्चिन सक्ने सम्भावना पनि कायम छ । .बर्तमान चुनाव परिणामल बंगलादेशको चुनाव परिणामले आम शोषित पीडित जनताको हकमा भने खाशै फरक नपर्ने र उनीहरुका आधारभूत समस्या हल गर्न संघर्षकै बाटो लाग्नु पर्ने बस्तुबादी बिश्लेषकहरु बताइरहेका छन् । जनधारणा साप्ताहिक


