-खडग पाण्डे
देश अहिले पूर्ण रूपमा निर्वाचनमय बनेको छ। राजनीतिक दल र उम्मेदवारहरू जनताको घर-दैलोमा पुग्न होडबाजी गरिरहेका छन्। सुशासन र समृद्धिका आकर्षक नारा, महत्वाकांक्षी योजना र पुरा गर्नै नसकिने प्रतिबद्धताहरूको व्यापक मार्केटिङ भइरहेको छ। रामराज्यका रंगीन सपनाहरूको खुलेआम खेती भइरहेको छ जहाँ आशा र वाचा दुवैको प्रशस्त वितरण गरिँदैछ।
हिजोका आफ्नै कुकर्म, असफलता र विवादलाई धोई-पखाली खादा, माला र टिकाको आडमा लुकाउने प्रयास पनि उत्तिकै तीव्र देखिन्छ। समग्र वातावरण हेर्दा लाग्छ मानौँ हाम्रा चोक-चौतारा नै रंगमञ्च हुन र उम्मेदवारहरू त्यसका कलाविहिन कलाकार। हरेकले आफूलाई नै यस लोकको सर्वश्रेष्ठ उम्मेदवार ठहर गर्दै जनतासँग मतदानको याचना गरिरहेका छन्।
आफ्ना झोलेमार्फत आफूलाई देवदूतसरह प्रस्तुत गर्ने, आफूलाई भोट दिएमा सिधै मोक्ष प्राप्त हुने वा स्वर्गको सुख भोग्न पाइने जस्ता अतिरञ्जित वाचा गर्ने प्रवृत्तिसमेत देखिन्छ। जसरी भए पनि, जे भने पनि, जे गरे पनि-आफूलाई मतदान होस् भन्ने उद्देश्यले गरिने सबैखाले हर्कतहरू खुलेआम देख्न र सुन्न पाइन्छन्। यस्तो माहोलले निर्वाचनलाई केवल राजनीतिक प्रक्रिया मात्र होइन एक प्रकारको नाटकीय प्रदर्शनजस्तै बनाइदिएको अनुभूति हुन्छ।
दान के हो?
“दान” भनेको आफ्ना सम्पत्ति, समय, श्रम, ज्ञान वा अन्य कुनै उपयोगी वस्तु स्वेच्छाले अरूको हितका लागि दिनु हो। स्वामित्व हस्तान्तरण गर्नु हो। यसको मूल भावना त्याग, करुणा र परोपकारमा आधारित हुन्छ। धर्म, संस्कृति र सभ्यताको इतिहासमा हेर्दा दान मानव समाजको अत्यन्त पुरानो र सार्वभौमिक अभ्यासको रूपमा विकसित भएको पाइन्छ।
हिन्दू धर्ममा दानले पाप घटाउँछ, पुण्य बढाउँछ र आत्मिक उन्नति हुन्छ भन्ने विश्वास छ। भगवद्गीतामा दानलाई धर्मको महत्वपूर्ण अंगको रूपमा मानिएको छ। बौद्ध धर्ममा दानलाई लोभ त्याग्ने अभ्यास र करुणा विकास गर्ने मार्गको रूपमा हेर्छन्। गौतम बुद्धले दानलाई मन शुद्ध गर्ने साधनको रूपमा उल्लेख गरेका छन्। त्रिपिटकमा भिक्षु वा जरुरतमन्दलाई दान दिनु पुण्यको स्रोत मानिन्छ। इसाई धर्ममा दान प्रेम र करुणाको प्रत्यक्ष अभिव्यक्ति हो। इस्लाम धर्ममा दान (जकात) अनिवार्य धार्मिक कर्तव्य हो।
धर्म र सभ्यताको भिन्नताहरू भए तापनि दानको मूल भावना एउटै छ-निस्वार्थ सेवा, करुणा र साझा मानवता। दान केवल वस्तु, पैसा वा सेवाको आदानप्रदान होइन; यो स्वार्थबाट मुक्त हुने आध्यात्मिक अभ्यास हो।
सरल भाषामा भन्नुपर्दा धार्मिक विश्वास अनुसार साँचो दान भनेको निस्वार्थ भावले कुनै अपेक्षा वा प्रतिफलको आशा नगरी गरिने सहयोग हो। यसमा प्रसिद्धि, प्रशंसा वा व्यक्तिगत लाभको कुनै उद्देश्य हुँदैन। धार्मिकहरुका अनुसार दानले मनलाई शुद्ध बनाउँछ, करुणा र परोपकारको भावना विकास गर्छ र समाजमा सद्भाव फैलाउँछ।
के चुनावमा मत दिनु दान हो? Top of Form
Bottom of Form
हामी कुनै पनि निर्वाचनमा मत (भोट) दिनुलाई मतदान भन्छौँ। तर के मत दिनु दान हो? अवश्य होइन। दान र मतदानको उद्देश्य, भावना र अर्थ नै फरक हुन्छ। के हामी कुनै दल वा व्यक्तिलाई करुणाभावले मत दिन्छौँ? के मन शुद्ध बनाउन मत दिन्छौँ? के मत दिँदा पुण्यको आशा राख्छौँ? के आध्यात्मिक शान्ति र आत्मसन्तुष्टिका लागि मतदान गर्छौँ? यी सबै प्रश्नहरूको उत्तर स्पष्ट छ- अवश्य होइन।
मताधिकार नागरिकको अधिकार र कर्तव्य हो। मत दिनुको उद्देश्य शासन व्यवस्थामा आफ्नो छनोट व्यक्त गर्नु हो। यो सामाजिक राजनीतिक निर्णय हो, आध्यात्मिक वा धार्मिक कर्म होइन। त्यसैले मत दिनुलाई दानको रूपमा बुझ्नु वा व्याख्या गर्नु उपयुक्त हुँदैन।
धर्मशास्त्र अनुसार कुनै पनि दान निस्वार्थ भावले गर्नुपर्छ। दान दिँदा प्रतिफलको अपेक्षा गर्नु हुँदैन, प्रसिद्धि वा प्रशंसाको आशा राख्नु हुँदैन। दानलाई व्यापार, लेनदेन वा व्यक्तिगत फाइदाको माध्यम बनाउनु हुँदैन। साँचो दान त्यही हो जसमा त्याग, करुणा र निस्वार्थ भाव प्रधान हुन्छ न कि लाभ, स्वार्थ वा प्रतिफलको चाहना।
हामीले मत दिएर पठाएको व्यक्ति वा दललाई गरी-खाओस् भनेर मत दिएर सत्ता सुम्पिने होईन। उनीहरूको ऐस-आरामको जीवन चलोस्, परिवार, नातागोता वा झोले-चम्चेहरूको कल्याण होस् भनेर मत दिने पनि होइन। मतदान कुनै गाईदान जस्तो एकपटक दान गरेर जिम्मेवारीबाट मुक्त हुने कर्म पनि होइन। दान पछि- अब गोठ, भकारो, घाँस, कुडो, खोले केही पनि खुवाउन नपर्ने भयो भन्ने जस्तो पनि होईन।
वास्तविकता के हो भने हामीले मत दिएर जिताएका प्रतिनिधिहरू अन्ततः हाम्रै रगत-पसिनाबाट पालिने हुन्छन्। उनीहरूको मासिक तलब, विशेष भत्ता, सञ्चार भत्ता (फोन/इन्टरनेट), घरभाडा भत्ता, अतिथि सत्कार खर्च, बिजुली-धारा, बैठक भत्ता, यातायात खर्च, दैनिक भ्रमण भत्ता, फर्निचर खर्च लगायतका सबै सुविधा र खर्च अन्ततः जनताकै करबाटै चुसिन्छ।
यसैले मत दिनु केवल अधिकार प्रयोग गर्नु मात्र होइन त्यो जिम्मेवारी पनि हो। हामीले चुनेका प्रतिनिधिहरूले हाम्रो विश्वास, हाम्रो स्रोत र हाम्रो भविष्यको प्रतिनिधित्व गर्छन्। त्यसैले मत दिनु भनेको कसैलाई सुविधा भोग्न पठाउनु होइन बरु जनताको हितमा काम गर्ने दायित्व सुम्पनु हो।
मत दिदा हामी स्पष्ट रूपमा प्रतिफलको अपेक्षा राख्छौँ। हाम्रो मतले कसैलाई शासन गर्ने अधिकार दिन्छ र त्यही अधिकारको प्रयोगबाट हामी सुशासन, विकास, न्याय र उत्तरदायित्वको अपेक्षा गर्छौँ। हामीले दिएको मत केवल समर्थनको संकेत मात्र होइन त्यो विश्वासको अभिव्यक्ति पनि हो। हामी कसैलाई सत्ता सुम्पन्छौँ भने त्यसले जनताको हितमा काम गरोस्, समाजलाई सही दिशा देओस् र राष्ट्रलाई स्थिरता र समृद्धितर्फ लैजाओस् भन्ने आशा राख्छौँ। यस्तो अपेक्षा दानमा हुँदैन तर मतमा हुन्छ। त्यसैले मतलाई दान भन्नु वास्तविकताको विपरीत हुन्छ।
दानमा दिने र लिनेबीच आध्यात्मिक वा नैतिक सम्बन्ध हुन्छ तर मतदानमा नागरिक र राज्यबीचको राजनीतिक तथा सामाजिक सम्बन्ध स्थापित हुन्छ। मतले हामीलाई शासन गर्ने व्यक्ति वा दल छनोट गर्ने अधिकार दिन्छ। यो अधिकार व्यक्तिगत मात्र होइन सामूहिक भविष्यसँग जोडिएको अधिकार हो। हामी आज कसलाई मत दिन्छौँ भन्ने कुराले केवल वर्तमान शासन प्रणाली मात्र निर्धारण गर्दैन, यसले भोलिको समाज कस्तो हुने भन्ने दिशासमेत तय गर्छ।
हाम्रो मतले हाम्रो मात्र होइन हाम्रो भावी पुस्ताको भविष्य पनि निर्धारण गर्छ। हामी कस्तो समाज निर्माण गर्न चाहन्छौँ? कस्तो देश आगामी पुस्तालाई हस्तान्तरण गर्न चाहन्छौँ? राष्ट्र र राष्ट्रियता कति मजबुत बनाउने? सामाजिक न्याय, आर्थिक समानता र विकासको मार्ग कस्तो हुने? यी सबै प्रश्नहरूको उत्तर अन्ततः मतबाटै खोजिन्छ। त्यसैले मत दिनु केवल व्यक्तिगत निर्णय होइन ऐतिहासिक जिम्मेवारी पनि हो। यस्तो गम्भीर र दूरगामी प्रभाव पार्ने अधिकारलाई साधारण दानसँग तुलना गर्न मिल्दैन।
दान गरेपछि प्रायः दिने व्यक्तिको जिम्मेवारी समाप्त हुन्छ। तर मतसंगै त्यहाँबाट जिम्मेवारी सुरु हुन्छ। मत दिनु भनेको आफ्नो कर्तव्य पूरा गरेर पन्छिनु मात्र होइन। आफूले चुनेका प्रतिनिधिको कामको मूल्यांकन गर्नु, प्रश्न गर्नु र उत्तरदायित्वको माग गर्नु पनि हो। यस अर्थमा मत दिनु भनेको सक्रिय नागरिकको अभ्यास हो न कि निष्क्रिय त्यागको कर्म।
त्यसैले स्पष्ट रूपमा भन्न सकिन्छ- मत दान होइन, अधिकार हो। यो अधिकार केवल औपचारिक व्यवस्था मात्र होइन, नागरिकको स्वाभिमान, जिम्मेवारी र भविष्यसँग गहिरो रूपमा जोडिएको आधारभूत लोकतान्त्रिक अधिकार हो। मतलाई दानसँग तुलना गर्नु भनेको नागरिक अधिकारको गम्भीरता, मूल्य र अर्थलाई सानो बनाउनु हो। दानमा निस्वार्थ त्याग हुन्छ, तर मतमा सचेत निर्णय, उत्तरदायित्व र भविष्यप्रतिको प्रतिबद्धता हुन्छ।
अन्ततः मताधिकार लोकतन्त्रको आधारशिला हो। यही अधिकारले नागरिकलाई शासन व्यवस्थाको वास्तविक भागीदार बनाउँछ। यसले जनतालाई केवल शासित हुने वस्तु होइन, शासन निर्माण गर्ने शक्ति र अधिकार भएको सक्रिय नागरिक बनाउँछ। मत दिनु भनेको केवल एउटा चिन्हमा छाप लगाउनु मात्र होइन, आफ्नो विश्वास, आफ्नो आकांक्षा र आफ्नो भविष्यको दिशा तय गर्नु हो।
त्यसैले मत दिनु दान होइन। यो सचेत, जिम्मेवार र भविष्यप्रति प्रतिबद्ध नागरिकको कर्तव्य पनि हो । अधिकार पनि। यही अधिकारको सही प्रयोगले लोकतन्त्र सशक्त बन्छ। समाज जिम्मेवार बन्छ। राष्ट्रको भविष्य सुरक्षित हुन्छ।
त्यसैले मतदान नगर्नुहोस, मताधिकारको प्रयोग गर्नुहोस।



निकै महत्वपूर्ण विषय मा मताधिकारीलाई सचेत पारेर प्रकाशन गर्नु भएकोमा धन्यवाद र बधाई छ प्रिय।