काठमाडाैं । निर्वाचनको माहोल अझै पूर्ण रूपमा नबनेको भन्दै सरकारमाथि दबाब बढाइरहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्दै तोकिएकै मितिमा एकै चरणमा मतदान हुनुपर्ने धारणा राखेका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलका अनुसार ओलीको जोड एकै चरणमा चुनाव सम्पन्न होस् भन्नेमा थियो । यदि कुनै कारणले ढिलाइ वा स्थगन गर्नुपरे पनि धेरै ग्याप नहोस्, मतदानपछि तुरुन्तै मतगणना सुरु होस् र सेना सहायक शक्तिको रूपमा मात्रै सीमित रहोस् भन्ने उनको चासो रहेको रावलले जनाए ।
जवाफमा प्रधानमन्त्री कार्कीले निर्वाचन तोकिएकै मितिमा र एकै चरणमा हुने स्पष्ट पार्दै कुनै पनि हालतमा मिति परिवर्तन नहुने बताएकी थिइन् ।छलफल सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको रावलको धारणा छ ।
भेटका क्रममा ओलीले आफू शुक्रबार झापा जाने कार्यक्रम रहेको जानकारी गराएका थिए ।
झापाको सन्दर्भ उठेपछि प्रधानमन्त्री कार्कीले त्यहाँ शान्तिपूर्ण वातावरण कायम गर्न सहयोग गर्न आग्रह गरेकी थिइन् । उनले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउँदै राज्यले कसैप्रति विभेद नगर्ने धारणा राखेकी थिइन् । साथै, सरकारतर्फ कमजोरी भए सच्याउन तयार रहेको उल्लेख गर्दै उनले यस चुनावलाई असामान्य परिस्थितिको महत्वपूर्ण अध्यायका रूपमा जिम्मेवारीपूर्वक सम्पन्न गर्नुपर्नेमा जोड दिएकी थिइन् ।
जवाफमा ओलीले एमाले शान्तिपूर्ण राजनीतिक प्रक्रियामा विश्वास गर्ने पार्टी भएकाले आचारसंहिता पूर्ण रूपमा पालना गर्ने जनाएका थिए । उनले एमालेले कहिल्यै बल प्रयोग नगर्ने, धाँधली वा बुथ क्याप्चरजस्ता गतिविधिमा संलग्न नभएको दाबी गर्दै आफ्नो क्षेत्रमा विगतमा यस्ता घटना नभएको उल्लेख गरे । यसका साथै ओलीले आफ्नो सुरक्षा चुनौती बढेको भन्दै सुरक्षा व्यवस्था गरिदिन आग्रह गरेका थिए ।


