काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगर र काठमाडौं विमानस्थलमा आफूमाथि अपमानजनक व्यवहार भएको आरोप लगाएका छन् । झापा–५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरी काठमाडौं फर्किने क्रममा उनले यो घटना भएको बताएका हुन् ।
ओलीले शनिबार च्यासलमा आयोजित कार्यक्रममा विराटनगर विमानस्थलमा अपमानजनक व्यवहार भोग्नुपरेको सार्वजनिक गरे । उनले काठमाडौं विमानस्थलमा पनि आफ्नो गाडीलाई एयरसाइड प्रवेश नदिइएको तथा ‘माथिको आदेश’ भन्दै सुरक्षाकर्मीले सुन तस्कर सरह कडाइ गरेको दाबी गरे । उनले भीआईपी कक्ष बन्द रहँदा सर्वसाधारण प्रवेशद्वारबाट लाइनमा उभिनुपरेको, भित्र बस्ने ठाउँ नहुँदा उभिएरै बस्नुपरेको र शौचालय जानसमेत लाइनमा पर्नुपरेको ‘मजाक’ भएको टिप्पणी गरे ।
‘अस्ति म यताबाट झापा जाँदा एयरपोर्टहरूमा अलि बढी नै राम्रो व्यवहार गरियो, हिजो फर्केर आउँदा त के म सुन तस्कर हो कि जस्तो गरेर चेकजाँच गरियो, हैरान पारियो,’ उनले भनेका छन् । ओलीले विदेश जाँदा नचिनेको ठाउँमा समेत आफूलाई त्यसरी जाँच नगरिने तर आफ्नै देशमा चिनेजानेकै ठाउँमा अपमान गरिएको बताए । ‘विदेश जाँदा पनि नचिनेको ठाउँमा हामीलाई त्यस्तो गर्दैनन् । नचिनेको ठाउँमा पर्यो भने बेग्लै कुरा, नेपालीहरूलाई हेप्नु हेपिसके,’ उनले भने, ‘हिजो एयरपोर्टमा त्यस्तै गरेर हेपियो । किन यस्तो गरेको भन्दा, माथिबाट आदेश आएको छ भन्छन् ।’ उनले थपे, ‘यो सरकारले दुःख दिने काम तिर लागिरहेको छ, अपमान गर्ने कामतिर लागिरहेको छ । सरकारको दृष्टिकोण र मति नै नेताहरूको अपमान गर्ने खालको छ । यो जिम्मेवार सरकार होइन, असभ्य सरकार हो ।’ सरकारले जतिसुकै अपमान र घेराबन्दी गरे पनि एमाले देश र जनताको पक्षमा लड्न नछोड्ने उनले स्पष्ट पारे ।
ओलीका अनुसार आफू आउने जानकारी विमानस्थल प्रशासनलाई पहिल्यै दिइएको थियो । उनले अतिरिक्त सुविधा नखोजेको तर अनावश्यक असुविधा भएको बताए । यसअघि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र शेरबहादुर देउवाले पनि यस्तै अनुभव भोगेको उल्लेख गर्दै उनले यस्तो व्यवहार अनुचित भएको आरोप लगाए । यो घटना गत भदौको जेन–जी आन्दोलनपछि उनको पहिलो काठमाडौं बाहिरको हवाई यात्रा थियो ।
जेन–जी आन्दोलनका क्रममा भीआईपीहरू विमानस्थल प्रयोग गरी भागेको आरोप लागेपछि तत्कालीन महानिर्देशक प्रदीप अधिकारीले देशभरका सबै भीआईपी कक्ष प्रयोगमा रोक लगाउने निर्णय गरेका थिए । यो व्यवस्था हालसम्म कायम छ । प्राधिकरणका उच्च अधिकारीका अनुसार भीआईपी कक्ष नखोल्ने निर्णय प्रधानमन्त्री तथा पर्यटन मन्त्री तहबाट आएको भनिए पनि लिखित निर्देशन छैन । निमित्त महानिर्देशक देवचन्द्र लाल कर्णले ‘माथिबाट औपचारिक क्लियरेन्स नआएकाले’ कक्ष सञ्चालनमा ल्याउन नसकिएको बताएका छन् । यसले विमानस्थल र विशिष्ट व्यक्तिको सुरक्षाबारे बहस सुरु भएको छ ।
तर, विमानस्थल सुरक्षा कार्यालय, नागरिक उड्डयन कार्यालय विराटनगर र यति एयरलाइन्सले ओलीको दाबीलाई तथ्यहीन ठहर गरेका छन् । विराटनगर विमानस्थल प्रमुख सुवास झाका अनुसार ओली प्रवेशदेखि जहाज चढ्दासम्मको सीसीटीभी फुटेज प्राधिकरणलाई पठाइएको छ । उनका अनुसार ओलीको शारीरिक जाँच गरिएको थिएन । उनीसँगै आएका आठ जना यात्रुको भने नियमित सुरक्षा जाँच भएको थियो । ओली करिब १० मिनेट ढिलो पुगेकाले उडानसमेत ढिलाइ भएको र भीआईपी यात्रुलाई अन्तिममा बोर्ड गराउने प्रावधानअनुसार प्रक्रिया भएको यति एयरलाइन्सले जनाएको छ ।
विमानस्थलभित्र छुट्टै प्रतीक्षालय नहुँदा ओली बाहिरको निजी रेष्टुरेन्टमा बसेका थिए । सबै यात्रु बोर्डिङ भइसकेपछि उनलाई बोलाइएको र सर्वसाधारण प्रयोग गर्ने वाक–थ्रु गेट हुँदै टर्मिनल प्रवेश गरी जहाज चढाइएको प्रशासनले बताएको छ । विमानस्थल प्रमुख झाले ओलीले औपचारिक रूपमा भीभीआईपी कक्षको माग नगरेको पनि दाबी गरेका छन् ।
यो घटनाले विमानस्थल व्यवस्थापन, भीआईपी सुविधा र सुरक्षा प्रक्रियाको समानता तथा स्पष्ट नीतिबारे प्रश्न उठाएको छ । ओलीको असन्तुष्टिले राजनीतिक बहस थप तातो बनाएको छ भने विमानस्थल प्रशासनले नियमित प्रक्रिया मात्र पालना गरेको दाबी गरेको छ । तर, विमानस्थल प्रशासनले भीआईपी कक्ष प्रयोग रोक्ने निर्णय पालना गर्ने क्रममा यो घटना घटेको र ओली झूठ प्रचारमा उत्रिएको स्पष्ट भएको छ । चुनावी माहोल बढाउन, एमाले र आफ्नो पक्षमा सहानुभूति लिन पनि ओलीले यस्तो प्रचार गर्दै आएका छन् । पछिल्लो समय उनी भदौ २३ मा जेनजीको हत्या हुनेगरी भएको घटनाको जिम्मेवारीबाट पन्छिन भदौ २४ को घटनामा केन्द्रित हुँदै आएका छन् । उनले यो घटना रास्वपा तथा बालेन्द्र शाहले जेनजीलाई उचालेर गरेको हो भन्ने भाष्य निर्माण गर्न खोज्दै छन् । आफूले मन नपराएको हुनाले सुशीला कार्की नेतृत्वको सरकारलाई पनि उनले बदनाम गर्न खोज्दै आएका छन् । त्यहीको शृंखलामा उनले विमानस्थलको घटनालाई बढाइँचढाइँ रुपमा प्रस्तुत गरेका छन् । जनधारणा साप्ताहिक


