काठमाडौं । भारतमा समेत ख्याति कमाएकी नेपाली डान्सर तेरिया मगरले डेब्यू चलचित्र ‘मितज्यू’को सुटिङ सुरु गरेकी छन् । सरस्वती पूजाको अवसर पारेर यो चलचित्रको सुटिङ सुरु गरिएको हो । निर्माण पक्षले दाङको अम्बिकेश्वरी मन्दिरमा पूजा गरेर सुटिङलाई गति दिएको छ ।
‘डान्स इन्डिया डान्स लिटिल मास्टर-३’ र ‘झलक दिखला जा-९’को विजेता बन्दा तेरियालाई धेरै फिल्मको प्रस्ताव गएका थिए । उमेर सानै भएकाले उनले नायिकाको यात्रा तय गरिनन् ।
‘डान्स इन्डिया डान्स लिटिल मास्टर-३’ जित्दा उनी ११ वर्षकी थिइन् । त्यसको ३ वर्षपछि उनले ‘झलक दिखला जा-९’ जितेकी हुन् । युवा अवस्थामा प्रवेश गरेपछि उनले नायिका बन्ने इच्छा देखाइन् । लामो समय कुरेपछि उनले फिल्म ‘मितज्यू’ पाएकी हुन् । यस चलचित्रको नायक दयाहाङ हुन् ।
नायक सौगात मल्ल पनि शीर्ष भूमिकामा रहेको बनाइएको छ । तेरियालाई डेब्यू गराउने निर्देशक अनिल बूढामगर हुन् । उनले यसअघि हिट चलचित्र ‘घरज्वाइँ’ ल्याएका थिए । जुन उनको डेब्यू फिल्म हो । यो फिल्म आगामी वर्षको जेठ १५ गते प्रदर्शनमा ल्याउने योजनाका साथ अनिल छायाङ्कमा निस्किएका हुन् ।


