काठमाडाैं । ट्राफिक प्रहरीका लागि क्षमता अभिवृद्धि तालिमको उद्घाटन तथा सार्वजनिक सवारी साधनमा CC camera र Dashboard Camara जडान कार्यको बुधबार शुभारम्भ भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको आयोजना र Nepal Automobile Importers and Manufacturers Association (NAIMA) को सहकार्यमा आजबाट हुन लागेको ट्राफिक प्रहरीका लागि क्षमता अभिवृद्धि तालिमको कार्यक्रमका प्रमुख अतिथि काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले उद्घाटन गर्नु भएको हो ।
सोही समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनमा CC Camera र Dashboard Camara जडान कार्यको पनि शुभारम्भ गर्नु भयो ।
कार्यक्रममा सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ सफल बनाउन सहयोगी भूमिका खेल्ने संस्था र व्यक्तिहरूलाई कदर-पत्रद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले सार्वजनिक यातायातमा सबैभन्दा बढी नागरिकको पहुँच हुने भएकाले यसलाई प्रविधियुक्त बनाउँदा थप सुरक्षित हुने बताउनु भयो । कार्यक्रममा NAIMA, NADA का प्रतिनिधि, यातायात व्यवसायी, ट्राफिक प्रहरी कर्मचारी र पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
यसैबिच काठमाडौं उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५० ओटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज (बुधबार) सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले संयुक्त रुपमा २३ ओटा मोटरसाइकल र २७ ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गर्नुभएको हो ।
सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक लगायत सुरक्षा साइरनहरू जडान गर्न साथै मानिसहरूको आवत-जावत नहुने एकान्त स्थानमा सवारी साधन पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नरेश राज सुवेदीले अनुरोध गर्नुभएको छ ।


