विराटनगर । आइतबार राति विराटनगरका दुई क्यासिनोमा छापा मारेको प्रहरीले २० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्यासिनो सञ्चालक, क्यासिनोमा काम गर्ने कामदार र क्यासिनो खेल्न पुगेका नेपालीहरू छन् ।
आइतबार राति बिग होटलभित्र सञ्चालनमा रहेको च्याम्पियन जोन क्यासिनो र रत्ना होटलभित्र सञ्चालनमा रहेको गोल्डेन क्यासिनोमा प्रहरीले छापा मार्ने क्रममा रत्नाबाट १४ र बिगबाट ६ जना नेपालीलाई पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार पक्राउ परेकाहरू पूर्वी जिल्ला झापादेखि पश्चिम नेपालको बैतडी जिल्लासम्मका छन् । जेनजी अगुवा र इन्जिनियरिङ क्याम्पसका शिक्षक पनि छन् ।
मोरङ प्रहरी प्रमुख कबित कटवालका अनुसार पक्राउ परेकाहरूमध्ये केहीको साथमा नक्कली भारतीय आधार कार्ड पनि भेटिएको छ । ‘नक्कली कार्ड देखाएर छिर्ने गरेको पनि देखियो,’ उनले भने,’ थप अनुसन्धानन हुँदैछ ।
प्रहरी स्रोतका अनुसार रत्ना होटलको क्यासिनोबाट महाप्रवन्धक सोलुखुम्बुको लिखुपिके गाउँपालिका– ६ का ४३ वर्षीय लोकेन्द्रबहादुर बस्नेत, मेची नगरनगरपालिका– ७ का रोशन गिरी, विराटनगर १ शान्ति चोकका कृष्णकुमार कुर्मी, विराटनगर १ कै विवेककुमार मण्डल, काठमाडौं १५ का राज लामा, सुनसरीको इटहरी उपमहानगरपालिका– ५ का रुपेश दाहाल, सुन्दरहरैचा नगरपालिका– ४ का आदेश बिक, बुढीगंगा गाउँपालिका– २ का महमद जाकिर हुसेन, विराटनगर १ का तेजराज गिरी, झापाको दमक नगरपालिका– ४ का घनश्याम शर्मा, कटहरी गाउँपालिका– ४ का सुरज राय, उदयपुरको चौदण्डीगढी गाउँपालिका– ५ का सन्तोष बस्नेत, इटहरी उपमहानगरपालिका– ८ का प्रमोद घिमिरे, विराटनगर महानगरपालिका–७ का पवन गोस्वामी पक्राउ परेका थिए ।
बिग होटलमा रहेको क्यासिनोबाट क्यासिनोका निर्देशक काभ्रेको बनेपा– ११ का रामकृष्ण बस्नेत, अर्का निर्देशक बैतडीको दशरथ चन्द्र नगरपालिका–८ का हर भट्ट, सोही पालिकाका सुरेन्द्रबहादुर चन्द, विराटनगर महानगरपालिका– ६ का खेम श्रेष्ठ, झापाको विर्तामोड नगरपालिका– २ का मेदनी शिवाकोटी र विराटनगर महानगरपालिका– ८ का साजन साह पक्राउ परेका थिए । पक्राउ परेका केही क्यासिनोमा काम गर्ने तर परिचय पत्र साथमा नभएका कामदारहरू हुन् ।
प्रहरीका अनुसार रत्नाबाट पक्राउ परेका तेजराज गिरी पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ कलेजका शिक्षक हुन् । उनले साथीले गर्दा बानि परेर गएको बयान दिएका छन् ।
अर्का पक्राउ परेका व्यक्ती रुपेश दाहाल जेनजी आन्दोलनका अगुवा हुन् । प्रहरीसँगको बयानमा उनले रत्ना होटलकोे क्यासिनोमा डान्सरको काम गर्ने बताएका छन् । तर, कुनै परिचय पत्र नभेटिएको मोरङ प्रहरी प्रमुख कटवालले जानकारी दिए । जेनजी आन्दोलनका क्रममा दाहालको सक्रियता देखिएको उनले पुष्टि गरे । उनका अनुसार कानुन विपरीत क्यासिनोमा नेपालीलाई प्रवेश गराउने सञ्चालक र प्रवेश गर्नेहरूमाथि जुवा ऐन अन्तरगत कारवाही हुनेछ ।


