काठमाडौं / एमालेको ११ औं महाधिवेशनमा दुई पक्षबीच प्रतिस्पर्धा हुँदै छ । मंसिर २७ देखि २९ गतेसम्म हुने राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धा गर्ने तयारीमा छन् । तेस्रो पटक अध्यक्ष बन्ने प्रयासमा रहेका ओलीले यो महाधिवेशनमा नीति, कार्ययोजनाबारे छलफल नहुने स्पष्ट पार्दै नेतृत्व चयन मुख्य एजेन्डा जनाएका छन् । पोखरेल पक्ष पनि नेतृत्व परिवर्तनका लागि भन्दै महाधिवेशनमा होमिएको छ ।
एमालेको महाधिवेशन हरेक चार वर्षमा हुने गर्छ, जसले पार्टीको नेतृत्व चयन, नीति निर्माण र संगठनात्मक संरचनालाई नयाँ दिशा दिने अपेक्षा गरिन्छ । तर, जेनजी आन्दोलनका कारण यसपटकको महाधिवेशन एक वर्षअघि नै हुन थालेको हो । यो महाधिवेशनमा भने पार्टी एकतामा नै खलल पुग्ने अवस्था सतहमा देखिएको छ । यो महाधिवेशन नेता परिवर्तन मात्र नभई व्यवहार र विचार परिमार्जनको लागि पनि आवश्यक छ । तर, महाधिवेशनमा फरक मतले प्रवेश सम्भावना भने देखिएको छैन ।
वरिष्ठ उपाध्यक्ष पोखरेल पक्षले बुझाएको अवधारणापत्रमा पार्टीमा आन्तरिक लोकतन्त्र कमजोर भएको औंल्याइएको छ । आन्तरिक लोकतन्त्रको ह्रासलाई पोखरेलले माक्र्सवादी पार्टीका लागि आत्मघाती प्रवृत्ति भनेका छन् । पार्टीभित्र नियमित बहस कमजोर हुँदै गएको र फरक मतलाई दबाउने प्रवृत्ति हावी भएको उनको भनाइ छ । एमालेभित्र नियमित राजनीतिक बहस हराउनु, फरक मत राख्ने संस्कृतिमाथि असहिष्णुता बढ्नु र निर्णय थोरै व्यक्तिको घेरÞामा सीमित हुँदै जानु गम्भीर समस्या बनेको पोखरेलले औंल्याएका छन् ।
पार्टी, सरकार र संगठनको सबै शक्ति एउटै केन्द्रमा थुप्रिँदै जानुलाई पोखरेलले गम्भीर संरचनागत विकृति मानेका छन् । यो केन्द्रीकरणले संस्थागत निर्णयभन्दा व्यक्तिगत प्रभावलाई बढावा दिएको उनको निष्कर्ष छ । यस्तै, युवा पुस्तालाई वास्तविक निर्णय तहमा ल्याउन नसकिएको र व्यवहारमा ‘पुरानो पुस्ताकै नियन्त्रण’ रहने अभ्यासलाई मूल समस्याको रूपमा उनले औंल्याएका छन् । पार्टी नीति बनाउने ठाउँबाट हट्दै जानु र सरकार केन्द्रित संरचना हाबी हुनुलाई पोखरेलले पार्टी जीवन लोकतन्त्रको लिकबाट टाढा पुग्नुको कारकका रूपमा प्रस्तुत गरेका छन् ।
पोखरेलले चुनावबाहेक पार्टी जनताबीच नदेखिने, संघर्ष र अभियान कमजोर हुने र वैचारिक तयारी न्यून रहेको भन्दै एमाले ‘चुनावी पार्टी’ मा सीमित भएकोमा चिन्ता व्यक्त गरेका छन् । अवधारणापत्रमा भनिएको छ–छलफल, बहस, आलोचना, आत्मालोचनाको अभ्यासले प्राथमिकता पाउन छोड्यो । भिन्न मत सके प्रकट हुन नदिने, भइहाले भने असहिष्णुताको व्यवहार गर्ने, कतिपय अवस्थामा प्रतिशोध साँध्नेसम्मका व्यवहार पार्टी जीवनमा देखिए ।
पार्टीले बहुदलीय जनवाद भन्ने तर व्यवहार केन्द्रीकृत, सत्तामुखी हुने तथा समाजवादको लक्ष्य पछ्याउने भन्दाभन्दै नीतिमा कमजोर र कार्यान्वयनमा शून्य रहेको पनि उनले जनाएका छन् । ओलीको नेतृत्वमा जबजले निर्देशित गरेका असल अभ्यासहरू कमजोर भएर गएका र पार्टी नेताहरूमा तडकभडकपूर्ण जीवनशैली देखिनु र आर्थिक अनुशासनमा ध्यान नदिनुले वैचारिक प्रतिबद्धता र व्यवहारमा विरोधाभास देखिएको अवधारणापत्रमा जिकिर गरिएको छ ।
हार, असफलता वा जनआक्रोशपछि पनि गहिरो आत्म–समीक्षा नहुने, दोष अरूलाई मात्रै दिने र नेतृत्व सुरक्षित राख्ने संस्कृतिलाई पोखरेलले पार्टी पतनको मौलिक रोगको रूपमा प्रस्तुत गरेका छन् । आलोचना, आत्मआलोचनाको अभ्यासले प्राथमिकता पाउन छोड्नु र भिन्न मत राख्नेप्रति असहिष्णुता र प्रतिशोध साँध्ने सम्मका व्यवहार देखिनुले पार्टीभित्र स्वस्थ छलफलको वातावरण निर्माण हुन नसकेको यो समूहको निष्कर्ष छ । पोखरेलले पार्टीमा दर्शन, सिद्धान्त, कार्यक्रम र विधानले गरेका व्यवस्थामा खासै ठूलो समस्या नभए पनि आफैँले स्थापित गरेका सिद्धान्त, नीति, विधि र विधानको पालना र कार्यान्वयन पक्षमा समस्या देखिएको निष्कर्ष निकालेका छन् ।
के संस्थापन इतर पक्षले उठाएका यी विषयमा महाधिवेशनमा छलफल होला त ? त्यसको सम्भावना न्यून देखिएको छ । अध्यक्ष केपी शर्मा ओलीले यो महाधिवेशनमा आफूले सम्बोधन गरेपछि सकिने र नेतृत्व चयनका लागि मतदान हुने जनाएका छन् । अध्यक्ष ओलीले यसपालिको महाधिवेशन कुनै छलफल नगरी आफ्नो निर्देशनात्मक मन्तव्यपछि सकिने बताएका हुन् । महाधिवेशन घनिभूत छलफल हुने ठाउँ भए पनि ओलीले कुनै छलफल नहुने र अहिले आवश्यक पनि नभएको जनाए । नेतृत्व चयन र पार्टी पुनर्गठनको कुरा उठाउँदै केही नेताहरूले उपद्रव मच्चाएकाले मात्र महाधिवेशन एक वर्षअगाडि सारेको उनको भनाइ छ ।
जब कि ओलीले भनेभन्दा ठीक विपरीत जेनजी आन्दोलन राजनीतिक दलमा व्यापक सुधारीकरणको माग गरेको छ । यसमा नेतृत्वदेखि विचार, कार्यशैली, कार्ययोजनाका विषय छन् । तर ती सबैलाई यो महाधिवेशनले अस्वीकार गर्दै केवल नेतृत्व चयनमा केन्द्रित हुने स्पष्ट देखिएको छ । यसले जेनजी आन्दोलनको मर्मलाई कतै एमालेले उपेक्षा गरेको ठहर हुनसक्ने देखाएको छ भने महाधिवेशन नेतृत्वलाई चोख्याउने माध्यम मात्र बन्ने जोखिम बढेको छ ।


