एजेन्सी । यदि तपाईं आकाशतर्फ हेर्दा चन्द्रमामा हराइरहनुहुन्छ, अन्तरिक्षका रहस्य कल्पेर रोमाञ्चित बन्नुहुन्छ र खगोल विज्ञानप्रति जिज्ञासु हुनुहुन्छ भने तपाईंका लागि विशेष खुसीको खबर छ ।
अमेरिकी अन्तरिक्ष संस्था नासाले एउटा यस्तो अवसर दिएको छ, जहाँ तपाईं भौतिक रूपमा अन्तरिक्षको यात्रा नगरी आफ्नो नाम भने चन्द्रमाको कक्षसम्म पुर्याउन सक्नुहुनेछ ।
यसरी पुग्छ चन्द्रमासम्म नाम ?
सबैभन्दा रोचक पक्ष के छ भने यस कार्यक्रममा सहभागी हुन कुनै शुल्क लाग्दैन । दर्ता प्रक्रिया पूरा गरेपछि नासाले सहभागीलाई डिजिटल ‘बोर्डिङ पास’ समेत प्रदान गर्नेछ, जसलाई सम्झनाका रूपमा डाउनलोड गरी सुरक्षित राख्न सकिन्छ ।
यसरी सहभागी जनाउन सकिने ?
यदि तपाईं पनि आफ्नो नाम चन्द्रमासम्म पठाउन चाहनुहुन्छ भने अमेरिकी अन्तरिक्ष संस्था नासाको आधिकारिक वेबसाइटमा गएर नाम दर्ता गर्न सक्नुहुन्छ । यो प्रक्रिया सरल छ र केही मिनेटमै पूरा हुन्छ ।
विज्ञान प्रेमीका लागि ऐतिहासिक अवसर
यो कार्यक्रम केवल नाम पठाउने औपचारिक प्रक्रिया मात्र होइन कि नासाको सबैभन्दा महत्वाकांक्षी चन्द्रमा परियोजनामा जनताको सहभागिताको प्रतीक हो । विज्ञानलाई केवल प्रयोगशालाको सीमामा नराखी आम मानिससम्म जोड्ने नासाको प्रयास यसबाट प्रष्ट देखिन्छ ।
पछिल्ला वर्षहरूमा अन्तरिक्ष अनुसन्धान पुन: विश्वकै ठूलो प्रतिस्पर्धाको केन्द्र बनेको छ । अमेरिका, चीन, रुस, भारत जस्ता मुलुक चन्द्रमा र मंगल अभियानमा तीव्र गतिमा अघि बढिरहेका छन् । यस्तो सन्दर्भमा नासाको आर्टेमिस कार्यक्रम मानव जातिलाई पुन: चन्द्रमामा पुगाउने मात्र होइन दीर्घकालीन रूपमा मंगल ग्रहसम्म पुग्ने आधार तयार गर्ने अभियानको रूपमा रहेको विश्लेषण गरिएको छ ।
आर्टेमिस–२ के हो ?
आर्टेमिस–२ नासाको चन्द्रमा अभियानको दोस्रो मानवयुक्त चरण हो । यस मिसन अन्तर्गत ओरायन अन्तरिक्षयानलाई आगामी ५ फेब्रुअरी २०२६ मा प्रक्षेपण गर्ने लक्ष्य राखिएको छ । यस यात्रामा चारजना अन्तरिक्षयात्री सहभागी हुनेछन् । जसमा क्रिस्टिना कोच, रिड वाइजम्यान, विक्टर ग्लोभर र जेरेमी ह्यान्सेन रहनेछन् ।
यी अन्तरिक्षयात्रीहरूले करिब १० दिन चन्द्रमाको कक्षमा परिक्रमा गर्नेछन् । यस अवधिमा अन्तरिक्षयानका सबै प्रणालीहरूको गम्भीर परीक्षण हुनेछ, जसले भविष्यको मानव अवतरणका लागि प्रविधिक तयारी सुनिश्चित गर्नेछ ।
मंगल ग्रहसम्मको सपना
आर्टेमिस अभियान केवल चन्द्रमासम्म सीमित छैन । नासाको दीर्घकालीन लक्ष्य मानवलाई मंगल ग्रहसम्म पुर्याउनु हो। चन्द्रमा त्यस यात्राको अभ्यास मैदान जस्तै मानिन्छ जहाँ प्राविधिक चुनौती, अन्तरिक्षमा लामो समय बस्ने अनुभव र स्रोतको उपयोग कसरी गर्ने भन्ने कुरा परीक्षण गरिन्छ ।


