काठमाडौं । नेपाल राष्ट्र बैंकले एक सय रुपैयाँको नयाँ नोट आजबाट प्रचलनमा ल्याएको छ ।
निःवर्तमान गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेको नयाँ नोट राष्ट्र बैंकले ल्याएको हो । उक्त नोट सङ्केत नं. २० क ०००००१ देखि ४० घ ९९९९९९ सम्म रहेको राष्ट्र बैंकले जनाएको छ ।
‘नेपाल सरकारको जमानतप्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १०० रुपैयाँ एक सय तुरुन्त पाइने छ’ भन्ने लेखिएको छ । नोटको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, मध्य भागमा नेपालको लिम्पियाधुरा र लिपुलेक समेटिएको नक्शा, मध्य भागमा अशोक स्तम्भको चित्र, दृष्टिविहीनहरूलाई नोट पहिचानको लागि छामेर थाहा पाउने एउटा कालो थोप्ला रहेको राष्ट्र बैंकले जनाएको छ ।
नोट २ मि.मि. चौडा भएको रङ परिवर्तन हुने (नोटलाई सिधा हेर्दा रातो रङ र ढल्काएर हेर्दा हरियो रङ देखिने) सुरक्षण धागो रहेको केन्द्रीय बैंकले जनाएको छ । नेपालीमा ‘वि.सं. २०८१’ लेखिएको छ । यसअघि राष्ट्र बैंकले २०७६ साल असोज ७ गतेदेखि रुपैयाँ १०० दरको बैंकनोट सङ्केत नं. ओ १८ ०००००१ देखि क ३७ ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने भनिएको थियो । तर १८ ओ ०००००१ देखि १९ क १९ ०३४५०० सम्म मात्र चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ ।


