म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा दुई महिनाका अवधिमा १२ हजारभन्दा बढी आन्तरिक पर्यटकहरुले भ्रमण गरेका छन् । गत असोजदेखि कात्तिक तेस्रो सातासम्म यस क्षेत्रमा अत्यधिक रुपमा आन्तरिक पर्यटकहरुको चाप भएको थियो ।
उक्त अवधिमा दैनिक दुई सयदेखि पाँच सयसम्म पर्यटकहरु यहाँ आएको अन्नपूर्ण प्रथम आधार शिविर पुग्ने ‘मौरिस हर्जोग’पदमार्ग अन्तर्गत हुमखोलामा होटल व्यवसाय गर्दै आएका पर्यटन व्यवसायि तेज गुरुङले जानकारी दिए। उनका अनुसार, दसैँ–तिहार र छठ पर्व बिदाका अवसरमा अन्नपूर्ण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक आएका हुन् ।
गतबर्षदेखि यस पदमार्ग अन्तर्गत हुमखोला, फुतफुते झरना, साँधिखर्क, गुफाफाँट, भुसकेटमेला र पञ्चकुण्ड ताल परिसरमा पर्यटकहरुको सुविधाकालागि होटलहरु सञ्चालनमा आएका छन् ।
नारच्याङदेखि हुमखोलासम्म सडक सञ्जालको पहुँचपुगेको र त्यहाँबाट आधार शिविरसम्म केही पदमार्ग निर्माण भएकाले दुई दिनमै पदयात्रा पुरा गर्न सकिने भएपछि यस पदमार्ग अहिले आन्तरिक पर्यटकहरुका रोजाइमा छ ।
अन्नपूर्ण प्रथम आधार शिविर क्षेत्रको प्राकृतिक सौन्दर्यताको प्रचार प्रसार,पूर्वाधार निर्माण र आधारभूतखाना बस्नको सुविधाले पर्यटकहरुको आगमन बढाएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी गराए । उनले जनाए अनुसार, अन्नपूर्ण हिमालआरोहण भएको ७५ बर्ष पूरा भएको अवसरमा गत वर्ष गाउँपालिकाको अगुवाईमा नारच्याङदेखि आधार शिविरमामनाईएको ‘अन्नपूर्ण हीरक जयन्तीमहोत्सव’ले यस क्षेत्रको प्रचार प्रसारमाव्यापकता गराएको हो ।
उनले भने, ‘अहिले आधार शिविर क्षेत्रमा रहेका होटलहरुको क्षमताभन्दा बढी पर्यटकहरुको आगमनभयो, हामीले यसलाई थप व्यवस्थित गर्नेतर्फ योजना बनाएका छौँ, भुसकेट मेलादेखि पञ्चकुण्ड तालको बीचमा पनि थप एक होटल सञ्चालनमा ल्याउनका लागि एक्यापसंग समन्वयगर्न लागेका छौं, पर्यटकहरुको बसाईलाई सहजबनाउनु हाम्रो पहिलो दायित्व हो।’
अन्नपूर्ण गाउँपालिकाले यस पदमार्गको आधार शिविर क्षेत्रमा सञ्चार र विद्युतको पहुँच पुर्याउन समेत आवश्यक पहल थालेको छ । पर्यटकहरुको आगमन बढेसंगै पदमार्ग र आधार शिविर क्षेत्रमाफोहोर बढेको कारण गाउँपालिकाले सरसफाई अभियन्ताहरुको टोलीलाई आधार शिविरमा खटाउने तयारी समेत गरेको गाउँपालिका अध्यक्ष पुनले जानकारी गराए ।
अन्नपूर्ण आरोहण दिवसलाई निरन्तर रुपमा मनाउने प्रवन्ध मिलाएको गाउँपालिकाले आधार शिविर पुग्ने पदमार्गलगायतका पूर्वाधार स्तरोन्नतीका लागि चालु आर्थिक बर्षमा विनियोजन गरेको रु २० लाख बजेट परिचालनगर्ने जनाएको छ।


