–निमकान्त पाण्डे
जेनजी आन्दोलनयता देशको शासनव्यवस्थामा महत्व राख्ने तीन विषय चर्चामा छन् । पहिलो, धेरैजसो जेनजी अगुवा प्रत्यक्ष कार्यकारीको व्यवस्था हुनुपर्ने पक्षमा छन् । दोस्रो, सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार चुनाव गराउने तयारीमा छ । तेस्रो, एमाले र कांग्रेसका केही तत्कालीन सांसद संसद् पुनस्र्थापनाको पक्षमा छन् । राजनीतिक दलहरूबीच संसद् पुनस्र्थापनाको बहस तातेको छ । कांग्रेसका सांसदहरूले हस्ताक्षर अभियान चलाएर यो पक्षमा दबाब दिइरहेका छन् । अब प्रश्न उठ्छ, संसद् पुनस्र्थापना वा तत्काल चुनाव दुवैले समस्या समाधान गर्छन् त ? होइन, समस्या समाधान भनेको राजनीतिक स्थायित्व र सुशासन हो । त्यसैले सहमतिबाट प्रत्यक्ष कार्यकारीको निर्वाचनमा जानु नै तत्कालको विकल्प हो ।
नेपालको वर्तमान संसदीय प्रणालीले राजनीतिक अस्थिरता र भ्रष्टाचारको जरालाई संस्थागत बनाएको छ । २०४७ सालदेखि अपनाइएको यो प्रणालीमा प्रधानमन्त्रीको चयन पार्टीभित्रको गुटबन्दी र सांसदको मोलतोलबाट हुँदै हुन्छ, जसले सरकारको औसत आयु एक वर्षभन्दा कम बनाएको छ । २०७४ यता मात्र पाँच प्रधानमन्त्री फेरिए, जसले नीति निरन्तरता र विकासलाई अवरुद्ध पारेको छ । यो प्रणालीले भ्रष्टाचारलाई पनि संस्थागत गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलको २०२४ रिपोर्टअनुसार नेपालको भ्रष्टाचार सूचकांक ३५÷१०० छ, जुन दक्षिण एसियामै कमजोरमध्ये पर्छ । ठूला आयोजनामा अर्बौं अनियमितता, मन्त्रीहरूको सम्पत्ति वृद्धि र अख्तियारको कमजोर कारबाहीले बेथिति मौलाएको प्रमाणित गर्छ । सांसदहरूको ध्यान विकास होइन, मन्त्रालय कब्जामा हुन्छ, यसले सुशासनको आधार नै कमजोर बनाएको छ । जेनजी आन्दोलनले यो प्रणालीलाई ‘अस्थिरताको कारखाना’ भनेर अस्वीकार गरेको छ । युवाहरूले प्रत्यक्ष कार्यकारी निर्वाचनको माग गरेका छन्, जसले जनतासँग प्रत्यक्ष जवाफदेहिता कायम गर्छ । जबसम्म यो प्रणाली कायम छ, अस्थिरता र भ्रष्टाचारको चक्र तोडिँदैन । संविधान संशोधन नै एकमात्र विकल्प हो ।
भ्रष्टाचारको यही जालोविरुद्ध नै गत भदौमा जेनजीले आन्दोलन गरेका थिए, जसमा दर्जनौं युवाले बलिदानी दिएका छन् । त्यही बलिदानीकै बलमा देशमा अहिले सत्ता परिवर्तन भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकार ढलेर अहिले सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । कार्की प्रधानमन्त्री बन्ने बेलामा नै ६ महिनाभित्र चुनाव गर्ने भनेर तोकिएको थियो । साथै संसद् विघटन पनि गरिएको थियो । तर, के त्यत्रा जेनजीको बलिदानी देशमा मध्यावधि चुनाव गराउनु मात्र हो र ? त्यो त तत्कालीन ओली नेतृत्वको सरकारले पनि गर्न सक्थ्यो नि ? त्यही कारण कार्की नेतृत्वको सरकारलाई चुनाव गराउने जिम्मा जेनजी युवाले दिएका होइनन् । बरु प्रत्यक्ष कार्यकारीको व्यवस्था गरेर जनताले प्रत्यक्ष चुनेर आफ्नो नेतृत्व छान्ने व्यवस्था गर्न कार्कीलाई जिम्मेवारी दिइएको हो । यदि सरकारले चुनावलाई मात्र ध्यान दिने हो भने पुनः पुरानै दल र तिनै नेता चुनावमा आउने र निर्वाचित भएर फेरि संसद्मा जाने अवस्था आउन सक्छ । यदि त्यस्तो अवस्था आयो भने गत भदौमा भएको जेनजी आन्दोलनको मर्म र उद्देश्य नै मर्न जान्छ । सहादत प्राप्त गरेका जेनजी युवाको बलिदानी पनि खेर जान्छ । यसलाई कार्की नेतृत्वको सरकारले मनन गर्न जरुरी छ ।
अर्कोतर्फ, नेपालमा प्रत्यक्ष कार्यकारी निर्वाचित प्रणालीको आवश्यकता अब अपरिहार्य बनेको छ । वर्तमान संसदीय प्रणालीले बारम्बार सरकार परिवर्तन, दलहरूबीचको दाउपेच र अस्थिरता निम्त्याएको छ । जेनजी आन्दोलनले यो कमजोरीलाई उजागर गर्दै भ्रष्टाचार, बेरोजगारी र असमानताविरुद्ध प्रत्यक्ष जनमतको माग गरेको छ । युवाले राजनीतिक प्रतिनिधित्वको अभाव महसुस गरेको छ, जसलाई प्रत्यक्ष निर्वाचनले मात्र सम्बोधन गर्न सक्छ ।
यो प्रणालीले पाँच वर्षको स्थिर सरकार, जनतासँग प्रत्यक्ष जवाफदेहिता र सुशासन सुनिश्चित गर्छ । जेनजीको मागमा राजनीतिक दलहरूले सहमति जनाउनु अनिवार्य छ किनकि आन्दोलनले पुरानो संरचनालाई अस्वीकार गरिसकेको छ । नेपाली कांग्रेस, एमाले, नवगठित नेकपा, रास्वपा लगायत दलहरूले राष्ट्रिय सहमति गठन गरी संविधान संशोधन अघि बढाउनुपर्छ । युवा नेताहरूलाई संवादमा समेटेर प्रत्यक्ष निर्वाचनको मोडल तयार गर्न सकिन्छ । सहमतिबाटै यो परिवर्तनले नेपाललाई स्थायित्व र समावेशी लोकतन्त्रको नयाँ अध्यायमा पु¥याउनेछ । अब प्रत्यक्ष कार्यकारीको व्यवस्था गरेर जनताबाट प्रत्यक्ष नेतृत्व छान्ने र त्यसअनुसार मन्त्रिपरिषद् गठन गर्ने व्यवस्था गर्नुपर्छ । सांसदलाई भने कानुन निर्माणको जिम्मा दिने, मन्त्रीको प्रतिस्पर्धा गर्न नपाउने व्यवस्था गर्नुपर्छ । मन्त्रीका लागि तत्तत् क्षेत्रका विज्ञलाई जिम्मेवारी दिनु आवश्यक छ । जसरी अहिले स्थानीय तहमा जनताले आफ्नो नेतृत्व छानेका छन्, त्यही व्यवस्था केन्द्रमा पनि हुनु आवश्यक छ । जनधारणा साप्ताहिक


