काठमाडाैं । बागमतीमा दुर्लभ पाहुना चरा ‘ब्ल्याक हेडेड गल’को बथान देखिन थालिएकाे छ । निख्खर सेतो र कालो पखेटा, रातो चुच्चो र रातै खुट्टा (पञ्जा) भएको यो चरा बागमतीको सतहमा खेलिरहेको देखिन्थे । पानी माथि(माथि उड्दै आहार खोजिरहेका यो बथान आफैंमा परेड खेलिरहेझैं लाग्थ्यो ।
यिनीहरू आहारको खोजीमा लामो यात्रा गरेर यहाँसम्म आइपुगेका हुन् । यी चरा खासगरी मंगोलिया, ताजकिस्तान, चीन र तिब्बतमा पाइने गर्छ । विशेषज्ञहरूका अनुसार यी चराहरू उत्तरी ध्रुवमा चिसो बढेसँगै जाडो छल्न बसाइ सर्ने गर्छन् । यही क्रममा यी बथान काठमाडौं आइपुगेका हुन् ।
यी चराले साना माछा, कीरा फट्याङ्ग्रा र फोहोरको खानेकुरा खाने गर्छन् ।
प्रजननको समयमा यी चरा विभिन्न भागमा बसाइँ सर्ने गर्छ । प्रजनन समयमा वयस्क चराको टाउको गाढा कालो वा खैरो हुन्छ । यस्तै हिँउदमा कालो हराएर यिनीहरूको टाउको सेतो हुन्छ । टाउकोमा कालो धब्बा मात्र देखिन्छ ।
ब्ल्याक हेडेड गलहरू अत्यन्तै सामूहिक स्वभावका चराचुरुङ्गी हुन्। ती खाना खोज्दा र बेलुकी विश्राम गर्ने समयमा ठूलो समूहमा देखिन्छन् ।
ब्ल्याक हेडेड गलहरू दिनको समयमा सक्रिय रहन्छन् । प्रायः पानीको सतहमै पौडिँदै सिकार टिप्छन् वा टाउको पानीभित्र डुबाएर खाना खोज्छन् ।





