-सबि भट्टराई,
झण्डै ३५ वर्ष स्वास्थ्य क्षेत्रमा बिताएकी डा। सुधा शर्मा १४ वर्षपछि सिंहदरबारको घुम्ने मेचमा स्वास्थ्य मन्त्रीको रूपमा फर्किएकी छन् । २०६८ सालमा सचिव पदमा साढे दुई वर्ष बाँकी छँदै उनले राजनीतिक हस्तक्षेपका कारण राजीनामा दिएकी थिइन् । तत्कालीन मन्त्री राजेन्द्र महतो र उमाकान्त चौधरीको अनावश्यक दबाब सहन नसकेपछि उनले पद त्यागेकी थिइन् । त्यसपछि उनले आफ्ना अनुभव समेटेर ‘सिंहदरबारको घुम्ने मेच’ पुस्तक लेखिन्, जसमा स्वास्थ्य क्षेत्रका समस्या र राजनीतिक हस्तक्षेपको विस्तृत वर्णन छ ।
जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा उनले स्वास्थ्य मन्त्रीको जिम्मेवारी पाएकी छन् । निर्वाचन म्यान्डेट बोकेको यो सरकारमा ठूलो परिवर्तनभन्दा देशलाई सम्हालेर अघि बढाउने चुनौती उनलाई छ । स्वास्थ्य मन्त्रालय देशव्यापी सञ्जाल, नागरिकको स्वास्थ्यसँग जोडिएको र ठूलो बजेट भएको ‘आकर्षक’ मन्त्रालय मानिन्छ । डा। शर्माले कुनै राजनीतिक लाभ नलिएको दाबी गर्छिन् ।
उनको शैक्षिक यात्रा काठमाडौंको कन्या मन्दिर स्कूलबाट सुरु भई २०३० मा अमृत साइन्स कलेजबाट आईएस्सी, त्यसपछि भारतको राँची विश्वविद्यालय हुँदै विशेषज्ञता हासिल गरेकी हुन् । २०३९ मा जिल्ला अस्पतालबाट सेवा सुरु गरी सचिवसम्म पुगिन् । नेपाल चिकित्सक संघकी एकमात्र महिला अध्यक्ष उनी बागी उम्मेदवारका रूपमा विजयी भएकी थिइन् । २०६२÷६३ को जनआन्दोलनमा ‘पापड’ संस्थाको अध्यक्षका रूपमा घाइतेको उपचार समन्वय र नेतृत्व गरिन् ।
जनस्वास्थ्य विज्ञ डा। शर्मा युकेको रोयल कलेज अफ ओब्स्टेट्रिसियन एण्ड गायनाकोलोजिस्ट्सकी फेलो हुन् । उनले नेपाल प्रसूति तथा स्त्री रोग विशेषज्ञ समाज ९नेसोग०, दक्षिण एशियाली महासंघ र एशिया ओसियाना महासंघको शिक्षा समितिको अध्यक्षको जिम्मेवारी सम्हालेकी छन् । एफआईजीओ वमेन अफ द इअर अवार्डसहित थुप्रै राष्ट्रिय–अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेकी छन् । उनले युनिसेफ तान्जानियामा स्वास्थ्य तथा पोषण विभाग प्रमुख, डब्लुएचओ, संयुक्त राष्ट्रसंघमा सल्लाहकार, प्रसूति गृहकी निर्देशक, प्राध्यापकको भूमिका निर्वाह गरेकी छन् । हाल सीआइडब्लुआईसी अस्पतालकी सह–निर्देशक छिन् । उनका पति डा। विजय शर्मा पनि चिकित्सा विज्ञ हुन् ।
सचिवकालमा उनले नेपाल स्वास्थ्य क्षेत्र कार्यक्रम ९एनएचएसपी०, सुरक्षित मातृत्व कार्यक्रम, नवजात शिशु स्वास्थ्य रोडम्याप २०३० को नीति निर्माणमा योगदान पु¥याइन् । युनिसेफ तान्जानियामा हेल्थ सेक्टर स्ट्राटेजिक प्लान, राष्ट्रिय पोषण रणनीति, बिग रिजल्ट नाउ इनिसिएटिभमा काम गरिन् । हालै डीएफआईडी÷स्वास्थ्य मन्त्रालयका लागि सेफ मदरहुड तथा न्युबर्न हेल्थ रोडम्याप २०३० को नेतृत्व गरिन् ।
यसअघि डा। संगीता कौशल मिश्रालाई मन्त्री बनाउने चर्चा थियो, तर भ्रष्टाचार अभियोगमा अख्तियार छानबिनले रोकिएपछि डा। शर्माको नाम अघि आयो । उनको ३५ वर्षभन्दा बढी अनुभवले स्वास्थ्यकर्मीको मनोबल, बन्द दरबन्दी खोल्ने, संस्था स्तरोन्नति, स्थानीय तहका समस्या समाधानमा सहयोग पुग्ने अपेक्षा छ ।
अहिले जेनजी आन्दोलनले नेपालको राजनीतिक परिदृश्यलाई नयाँ मोड दिएको छ । यो आन्दोलनले उठाएका मुद्दाहरू—भ्रष्टाचारविरुद्धको लडाइँ, सुशासन, युवा सहभागिता र संस्थागत सुधार अब सरकारको प्राथमिकतामा पर्नुपर्ने दबाब सिर्जना गरेको छ । यही सन्दर्भमा नवनियुक्त स्वास्थ्य मन्त्री डा। सुधाबाट जेनजी समूहलाई अभिभावकत्व दिन सक्ने ठोस योगदानको अपेक्षा गरिएको छ । उनको स्वास्थ्य क्षेत्रको अनुभव, राजनीतिक हस्तक्षेपविरुद्धको अडान र प्रोफेसनल नेतृत्वले यो आशालाई बलियो बनाएको छ । उनले जेनजीका मुद्दाहरूलाई स्वास्थ्य क्षेत्रमा संस्थागत रूप दिन सक्छिन्, जस्तै, स्वास्थ्य सेवामा पारदर्शिता, बजेट दुरुपयोग रोक्ने र स्वास्थ्यकर्मीको मनोबल बढाउने ।
जेनजी समूहले स्वास्थ्य क्षेत्रमा उठाएका मुख्य मुद्दाहरू अस्पतालहरूमा भ्रष्टाचार, औषधि खरिदमा कमिसन, चिकित्सक तथा स्वास्थ्यकर्मीको राजनीतिकरण, बन्द दरबन्दी, उपकरण अभाव र ग्रामीण स्वास्थ्य सेवाको कमजोरी डा। शर्मालाई राम्ररी थाहा छ । उनले यी समस्याहरूको जरा बुझेकी छन्। अब मन्त्रीको रूपमा ती समस्याहरूको समाधानका लागि नीतिगत हस्तक्षेप गर्न सक्नेछिन् ।
उनको अर्को बलियो पक्ष हो, प्रोफेसनल संस्थाहरूसँगको गहिरो सम्बन्ध । नेपाल चिकित्सक संघकी पहिलो महिला अध्यक्ष, नेसोग, दक्षिण एशियाली महासंघ र एशिया ओसियाना महासंघको नेतृत्व गरेकी उनले चिकित्सक समुदायमा विश्वास आर्जन गरेकी छन् । जेनजी समूहलाई स्वास्थ्य क्षेत्रको सुधारमा साथी बनाउन उनी यो नेटवर्कको उपयोग गर्न सक्छिन् । चिकित्सकहरूलाई राजनीतिक दबाबबाट मुक्त राख्ने, मेरिटमा आधारित पदोन्नति र दरबन्दी खोल्ने काममा उनी अभिभावकको भूमिका निर्वाह गर्न सक्छिन् ।
जेनजी आन्दोलनले युवा चिकित्सक र स्वास्थ्यकर्मीहरूको ठूलो साथ पाएको छ । डा। शर्माले २०६२/६३ को जनआन्दोलनमा घाइतेको उपचार समन्वय गरेकी थिइन्। त्यसैले उनमा आन्दोलनप्रति सहानुभूति र जिम्मेवारीबोध छ । उनी जेनजीका युवा स्वास्थ्यकर्मीहरूलाई प्रोत्साहन दिन, उनीहरूको सुझावलाई नीतिमा समेट्न र स्वास्थ्य मन्त्रालयमा ‘जेनजी सेल’ जस्तो संयन्त्र बनाउन सक्छिन् । यसले आन्दोलनलाई संस्थागत सहयोग दिन्छ । यो छोटो कार्यकालमा ठूलो परिवर्तन नहोला, तर उनले सुरु गरेको अभिभावकत्वले दीर्घकालीन प्रभाव पार्नेछ । जेनजीका भावना बुझेर काम गरियो भने देशले काँचुली फुर्ने आशा गर्न सकिन्छ ।


