काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र नेपालका लागि स्विट्जरल्यान्डका राजदूत डेनिएल मेउलीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा मन्त्री घिसिङलाई राजदूत मेउलीले स्विट्जरल्यान्डका तर्फबाट बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरिन् ।
स्विस सरकारबाट नेपालको विकासमा उपलब्ध सहायताका लागि धन्यवाद दिँदै मन्त्री घिसिङले जेनजी आन्दोलनपछि गठित सरकारको प्रमुख प्राथमिकता चुनाव, आन्दोलनका कारण क्षति पुगेका सार्वजनिक तथा सरकारी संरचना पुनर्निर्माण र सुशासन कायम गर्दै युवामा आशा जगाउनु रहेको उल्लेख गरे ।
हाल स्विस सरकारको सहयोगमा साना सिँचाइ कार्यक्रम, पुल, सिद्धबाबा सुरुङमा प्राविधिक सहयोग, रोजगारमूलक सिप विकास तालिम लगायत कार्यक्रम सञ्चालित छन् ।
राजदूत मेउलीले नेपालको ऊर्जा तथा पूर्वाधार निर्माण क्षेत्रमा सहयोग गर्न स्विस सरकार सधैं तयार रहेको जनाइन् ।


