विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी बैठकमा महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले राखेको प्रस्तावबारे अहिले नै केही धारणा सार्वजनिक गर्न नसकिने जनाएका छन् ।
देश नै विषम परिस्थितिमा रहेको बेलामा अहिले पार्टीको प्रारम्भिक धारणामाथि मात्रै छलफल भएकाले पूर्ण रुपमा धारणा सार्वजनिक गर्ने बेला नआइसकेको उनको भनाइ थियो । पार्टी केन्द्रीय समिति बैठकमा पर्याप्त छलफल गरेर मात्रै महामन्त्रीद्वय थापा र शर्माको प्रस्तावमाथि थप धारणा राख्ने कोइरालाले जनाए ।
शुक्रबार बसेको पार्टीको बैठकमा महामन्त्रीद्वय थापा र शर्माले पार्टी पुनर्गठनका लागि नियमित वा विशेष महाधिवेशन गर्न सकिने विचार राखेका थिए ।
‘म पनि त्यो केन्द्रीय कार्यसमिति बैठकमा छु । कसले के बोल्नुभयो, कसो बोल्नुभयो सबै थाहा छ,’ कोइरालाले भने, ‘केन्द्रीय समितिले निर्णय नगरी अहिले केही बोल्नसक्ने अवस्था छैन । कसले के भन्यो भन्ने कुरा होइन, नेपाली कांग्रेसले के बोल्छ भन्ने मुख्य कुरा हो ।’
‘संविधानलाई ट्र्याकमा ल्याउने चुनावबाटै हो’
नेता कोइरालाले देशको संविधान क्षतविक्षत हुनबाट राष्ट्रपति रामचन्द्र पौडेलले जोगाएको पनि उल्लेख गरे ।
‘संविधानलाई धेरै नचलाइ न्युनतम क्षति गरेर चुनावको घोषणा गरिएको छ । त्यो चुनाव हुन्छ भन्ने अपेक्षा लिएका छौं,’ उनले भने ।
साथै, संविधानको धारा ६१ को उपधारा ४ लाई टेकेर राष्ट्रपतिले निर्वाचन घोषणा गरेको र त्यसले संविधान डिरेल हुनबाट जोगिएको पनि जनाए ।
‘सरकारले यो संविधानमा भएको प्रावधानलाई टेकेर ६ महिनाभित्र चुनाव गर्ने भनेको छ,’ कोइरालाले भने, ‘अहिले संविधान डिरेल भएको छ, तर यसलाई ट्«ाकमा ल्याउने भनेको निर्वाचनबाटै हो ।’
जेनजीको मागहरू सम्बोधन गर्ने कुरामा आफूहरूको ध्यान नपुगेको उनले स्वीकार गरे । हरि अधिकारी अनलाइन खबर


