काठमाडाैं । बिषम परिस्थितिको निकासका सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टीको प्रेस बक्तब्य देशमा चरम भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्ध बिरोधी जेन जी यूवाहरुको भाद्र २३ गतेको शान्तिपूर्ण आन्दोलनलाई क्रुर दमन र हत्या गरेर जस्तो बिध्बंशकारी र अपूर्ब मोड दिइयो त्यसले देशमा भयंकर ठूलो बिनाश, अन्योल, अराजकता र लुटपाट निम्त्यायो ।
राष्ट्रका अत्यन्तै सम्वेनशील सम्पदा स्थलहरु अकल्पनीय किसिमले नराम्रोसँग त्यसको शिकार भएर खरानी बने । त्यसको मूल्य पछिसम्म देशले चुकाइरहनु पर्ने छ । यस्तो अत्यन्तै नाजुक, असुरक्षित र अनिश्चितताको भुवरीमा देश फँसेकोे बेला अपूर्ब किसिमले एक वा अर्कोरुपमा थप बाह्य हस्तक्षेप निम्तिने भयंकर ठूलो खतराका सँघारमा हामी पुगेका छौ । त्यसैले यस प्रकारको अत्यन्तै बिषम परिस्थितिमा आज सम्पूर्ण नेपाली जनता एकजुट भएर देशको सार्बभौमिक अखण्डता,स्वाधीनता र स्वतन्त्रतालाई जोगाउन पहिले कहिल्यैभन्दा बढी संबेदनशील र सतर्क भएर अघि बढ्नु र खबरदारी गर्नु सर्बोपरी राष्ट्रिय आवश्यकता र कर्तब्य हुन आएको छ ।
जन अधिकार र नागरिक स्वतन्त्रता सहीतको जनबादी बिकल्प दिएर जनतालाई राजनीतिक, आर्थिक, सामाजिक साँसकृतिक अधिकारले सुसज्जित तुल्याउने अग्रगामी आमूल परिबर्तनको सार्थक दिशामा अग्रसर नभइ सधैं जनतालाई दीनहीन र कमजोर राखेर राष्ट्रियता, जनतन्त्र र जनजीबिका समस्या पनि हल गर्न सकिदैन भन्ने यथार्थ अहिलेसम्मको लामो अनुभव र पछिल्लो बिद्रोहले समेत प्रष्ट पारेको छ । यसका लागि निरन्तर जन निगरानी सहीतको भ्रष्टाचारशून्य स्वच्छ शासन प्रशासन अनिवार्य शर्त हो । यस प्रकारको स्थिति सिर्जना गर्न जनता र राष्ट्रप्रति समर्पित तथा मूल्य मान्यता, निष्ठा र आदर्शमा निरन्तर अडिग रहँदै आएका क्रियाशील अग्रगामी राजनीतिक शक्तिहरु मात्र भरपर्दा, बिश्वसनीय र सही बिकल्प हुनसक्छन् भन्ने कुराको बोध हुनु पर्दछ ।
अन्यथा फेरि पनि प्रतिगमन र यथास्थितिकै दुष्चक्रमा देशको राजनीति रुमल्लिने र सँधै ‘तावाबाट उम्केको बिद्रोह भुँग्रोमा पर्ने’ र सही निकास नसिक्ने कुरा प्रष्ट छ । त्यसैले देशका जिम्मेवार अग्रगामी कम्युनिष्ट, बामपन्थी, क्रान्तिकारी लोकतान्त्रिक तथा देशभक्त यूबा शक्तिहरू आन्दोलित रहनु आवश्यक छ । संकटको सही र टिकाऊ निकास यही मात्र हुनसक्छ । अन्य चोचोमोचो मिलाउने संकीर्ण राजनीतिक जोड घटाउको कुनै अर्थ छैन ।
अन्त्यमा नेपाल कम्युनिष्ट पार्टी शान्तिपूर्ण संघर्षमा शहादत प्राप्त गर्नु हुने सम्पूर्ण शहीदहरूप्रति उच्च सम्मानकासाथ हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछ । साथै दमनचक्रमा परेर घाइते हुनु भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामनाकासाथ उच्च स्तरीय अधिकारसम्पन्न न्यायिक छानबिन आयोग गठन गरी क्रूर र घोर अमानबीय दमन र अत्यन्तै ध्वंशात्मक गतिबिधि गर्ने अपराधीहरूलाई बिना मोलाहिजा न्यायको कठघरामा उभ्याउन जोडदार माग गर्दछ ।


