काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जेनजी पुस्ताको आन्दोलनलाई दुरुपयोग गर्न पर्दा पछाडि प्रयासहरू भइरहेको भन्दै संविधान र संसदबाटै समस्याको समाधान निकाल्न सचेत गराएका छन्।
उनले सबैको अधिकार, आत्मसम्मान, आकांक्षा र आवाजलाई सम्बोधन गर्ने गरी अबको बाटो तय गर्नुपर्ने उल्लेख गरेका छन्।
‘जनताले वर्षौं लगाएर बनाएको संविधान खारेज गर्न तम्सिनु तथा निर्वाचित जनप्रतिनिधिमूलक थलो संसद भंग गरेर रिक्तता र अवैधता निम्त्याउनु देशका लागि दुर्भाग्य हुने’ सामाजिक सञ्जालमार्फत राउतले बताएका छन्। उनले आफूले सांसदबाट राजीनामा दिइसके पनि संसद जोगाउनुपर्ने आवश्यकता औँल्याएका हुन्।
जेनजीको आन्दोलन दुरुपयोग गर्न पर्दा पछाडिका प्रयास सफल भए देश अर्को १० वर्ष अनिर्णय र अस्थिरताको बन्दी बन्ने र देश नै नरहरने अवस्था आउनसक्ने चिन्ता पनि राउतले व्यक्त गरेका छन्।
‘राज्यका महत्वपूर्ण सबै अंगहरू जलेर खरानी हुनु र अब देशकै सम्पूर्ण जनताले ८ वर्ष लगाएर बनाएको संविधान खारेज गर्न तम्सिनु तथा जनताले एक–एक मत हालेर निर्वाचित गरेको जनप्रतिनिधिको थलो संसद् पनि भंग गरेर रिक्तता र अवैधता निम्त्याउनु देश नै नरहने वा देशमा कठपुतलीलाई उम्भाएर देश अरुकै हातमा जाने कुराको पृष्ठभूमि निर्माणको रूपमा लिएका छौं,’ उनले लेखेका छन्।
आन्दोलनपछिको अवस्थामा हरेक निर्णय मेचीदेखि महाकाली, हिमाल पहाडदेखि तराई–मधेशसम्म, कर्णाली र सुदूरपश्चिमदेखि मधेश र लुम्बिनीसम्म, खसआर्यदेखि मधेशी, थारू, आदिवासी जनजाति, मुस्लिम, दलित, महिला, पिछडावर्ग सहित सीमान्तकृत वर्गसम्म सबैले अपनत्व लिने गरी हुनुपर्ने उनले बताएका छन्।


