काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले जेनजी पुस्तालाई नयाँ नेपालको नेतृत्वमा अघि बढ्न आह्वान गरेकी छन्।
उनले सामाजिक सञ्जालमार्फत लेख्दै वर्तमान विनाश र क्षतिको दोष नयाँ पुस्तालाई नलगाउन आग्रह गरेकी छन्।
कार्कीले भनिन्, “कृपया यो विनाश, यो क्षतिको दोष नयाँ जेनजी पुस्तालाई नलानुहोला। उनीहरूको अदम्य साहसबाट नै आज देश भ्रष्टहरूको चङ्गुलबाट मुक्त भएको छ। इतिहासले सधैं सम्झने यो क्रान्तिमा शहीद हुनुभएका सबैप्रति मेरो उच्च सम्मान र समर्पण छ।”
उनले नयाँ पुस्तालाई संयमित, सुरक्षित र जिम्मेवार भएर नेतृत्व लिन आग्रह गर्दै थपिन्, “अब नयाँ नेपालको नेतृत्वको जिम्मा, अन्तरिम सरकार गठन गर्ने जिम्मा र भावी सुनौलो नेपाल निर्माण गर्ने जिम्मा, अवसर र श्रेय सम्पूर्ण रूपमा Gen Z पुस्ताको हो। देशको लागि सकेको योगदान सबैले गरौँ, चाहे जुनसुकै पार्टी होस् – कांग्रेस, एमाले, माओवादी, राप्रपा वा रास्वपा। कृपया कसैले पनि घुसपैठ र राजनीतिकरण नगरुन्। देशलाई विदेशी तत्वबाट पनि जोगाउनुपर्छ।”
कार्कीले विश्वास व्यक्त गरिन्, “जसरी २ दिनमा भ्रष्टहरूको पन्जाबाट देशलाई आजाद बनाउनुभयो, २ वर्षमा तपाईहरूको लगनशीलता, सिर्जनशीलता, श्रम, नवप्रवर्तन र देश प्रतिको शुद्ध प्रेमले यो देश उठ्छ जुरुक्क।”


